अन्तर सरकार सम्बन्धबारे अन्तर्राष्ट्रिय कार्यशाला

समाधान संवाददाता २०७७ मंसिर २५ गते १२:२९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा अन्तरसरकार सम्बन्ध विषयक अन्तर्राष्ट्रिय कार्यशाला भएको छ ।

गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका ८५ वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता थियो ।

Advertisement

फोरम अफ फेडेरेसनको प्राविधिक सहयोगमा भर्चुअल माध्यमबाट संचालन गरीएको कार्यक्रमको शुभारम्भ सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गर्दै कार्यक्रमको औचित्य र उद्देश्य माथि प्रकाश पारेका थिए ।

गोष्ठीमा संघीयता अवलम्बन गरेका स्पेन, अस्टे«लिया र दक्षिण अफ्रिकाकाका अभ्यासको आधारमा तीनै तहका सरकारहरूबीच संविधान प्रदत्त अधिकार, जिम्मेवारी र आपसी सहसम्बन्धको विषयबस्तुहरुमा अनुभव आदानप्रदान र छलफल गरिएको थियो ।

Advertisement

कुल एक सय जनाको सहभागीता रहेको उक्त कार्यक्रममा स्रोत व्यक्तिका रुपमा स्पेनका सान्ड्रा लियोन, अस्टे«लियाका ज्यासन टावारियस र दक्षिण अफ्रिकाकाका रुवेन बाटजीजले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापन सत्रमा संविधानविद् डा. सूर्य ढुंगेलले नेपालमा अन्तर सरकार सम्बन्ध विस्तारका पक्षहरुको बारेमा विश्लेषण गरे ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तर सरकार समन्वय सम्बन्धमा नेपालमा भएको कानूनी प्रावधान, अन्तर सरकार द्वन्द्वका विषयहरु, गण्डकी प्रदेश सरकारबाट गरिएका पहलहरु र आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यहरुबारे आफ्नो धारण राखे ।

त्यसैगरी प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले यस्ता किसिमका सवाल केन्द्रित संवाद निरन्तर रुपमा आयोजना गरि नीति निर्माणमा योगदान गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया