१०३ संक्रमित थपिए, ४ को मृत्यु

समाधान संवाददाता २०७७ मंसिर २५ गते १८:३३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक ४ जना मध्ये कास्कीका ३ र तनहुँका १ जना छन् ।

मृत्यु हुनेमा कास्की पोखरा १० का ८१ वर्षीय संक्रमित पुरुष छन् । मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनको बिहिबार बिहान ३ बजे मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनमा निमोनिया र मृगौलाको समस्या थियो ।

Advertisement

पोखरा १३ का ५१ वर्षीय संक्रमितको बुधबार बिहान साढे ५ बजे फिस्टेल अस्पतालमा मृत्यु भएको छ । मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएका उनमा कोभिड निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

पोखरा ७ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बेलुका ७ बजे चरक मेमोरियल अस्पतालमा निधन भएको छ । मधुमेहको समस्या रहेका उनमा मंसिर २४ गते कोरोना पुष्टि भएको थियो ।

Advertisement

तनहुँ शुक्लागण्डकी ८ का ७४ वर्षीइ कोरोना संक्रमित पुरुषको बिहिबार बिहान ३ बजे चरक मेमोरियल अस्पतालमा निधन भएको छ । २२ गते कोरोना संक्रमण पुष्टि भएका उनमा कोरोनासँगै क्षयरोगको समस्या थियो ।

गण्डकी प्रदेशमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ ।

प्रदेशमा १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । २ सय ९३ जनाको कोरोना परिक्षण गर्दा १ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

बिहिबार थपिनेमध्ये ६१ जना कास्कीका छन् । लमजुङमा १८, बागलुङमा ७, गोरखामा ६ संक्रमित थपिँदा तनहुँमा ४, पर्वतमा ३, स्याङ्जामा २ र नवलपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ । तीमध्ये ७ हजार ५ सय ६१ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया