एकेडेमीले खेलाडी सम्मान गर्ने

समाधान संवाददाता, पोखरा
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले पोखरामा रक्तदान कार्यक्रम तथा खेलाडी सम्मान गर्ने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले पुस २ गते एकेडेमीले रक्तदान कार्यक्रम तथा खेलाडी सम्मान गर्ने भएको जानकारी दिएका हुन् ।
पोखरा रंगशालामा आयोजना हुने कार्यक्रम बारे जानकारी दिँदै उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापा मगर, नेपाल आर्मीकी मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गर्ने बताए ।
१३ औं सागमा बक्सिङको वन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरेबमोजिम सागमा वक्सिङका तर्फबाट स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको मेडलले सम्मान गर्न लागिएको संयोजक गुरुङले बताए ।
उनले भने, ‘मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस भन्नका लागि घोषणा गरेको थिएँ सो बमोजिम सुनको पदकबाट सम्मान गर्न लागेका हौं ।’ उनले यस्तो सम्मानले खेलाडीलाई थप ऊर्जा मिल्ने समेत बताए । संयोजक गुरुङ वक्सिङका पूर्वखेलाडी तथा नेपाल बक्सिङ संघका पूर्वउपाध्यक्ष समेत रहिसकेका छन् ।
एकेडेमीले गत मंसिर ८ गते प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका प्याराग्लाइडिङका पाइलट, बडी विल्डिङ तथा क्योकिसन कराते खेलाडी राजु नेपालीको परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने समेत कार्यक्रम रहेको एकेडेमीका सचिव कृण्ण तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘हामी पुस २ गते पोखरा रंगशालामा बृहत् कार्यक्रम गर्ने योजना बनाएका छौं सबै खेलप्रेमी महानुभावलाई उपस्थित भएर रक्तदान सँगै खेलाडीहरुको हौसला बढाउन आग्रह गर्छौं ।’
एकेडेमीले आयोजना गर्ने लागेको उक्त कार्यक्रमका लागि मनकामना केवलकार प्रालिका अध्यक्ष राजुबावु श्रेष्ठ र किष्ट अस्पतालका सिइओ तथा सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक स्व. समीर थापाका छोरा आशीष थापाले सहयोग गर्ने संयोजक गुरुङले जानकारी दिए ।
तपाईको प्रतिक्रिया