पञ्चासे पिताको प्रतिमा

समाधान संवाददाता २०७७ मंसिर ३० गते १२:०६

समाधान संवाददाता, पोखरा

पञ्चासेको संरक्षण प्रवर्धनका अभियन्ता गोपाल गुरुङ अर्थात ‘पञ्चासे पिता’को पञ्चासेको टाकुरामा अर्धकदको प्रतिमा निर्माण गरिएको छ ।

डेढ वर्षअघि निधन भएका गुरुङको पञ्चासे सुनाखरी गोपाल स्मृति पार्कमा ढुंगाको प्रतिमा निर्माण गरिएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बाला चतुदर्शीको पावन अवसरमा गुरुङको प्रतिमाको अनावरण गरे ।

Advertisement

मन्त्री लम्सालले साविक आर्थरडाँडाखर्क गाविसका पूर्वअध्यक्ष गुरुङको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र पञ्चासेको संरक्षण गरी विश्वभर चिनाउन योगदान रहेको बताए ।

पञ्चासे संरक्षित वन कार्ययोजना अन्तर्गत प्रकृति र वातावरणलाई थप बिग्रन नदिएर विकास र संरक्षणका काम गर्ने जानकारी दिँदै मन्त्री लम्सालले समग्र पञ्चासेलाई समेटेर एकीकृत विकासका कार्यक्रम अघि बढाउने घोषणा गरे ।

Advertisement

‘पर्यटन प्रवद्र्धन, सुनाखरी तथा जडिबुटीको संरक्षण, पदमार्गको व्यवस्थापन र जैविक विविधताको संरक्षणका लागि योजनाबद्ध ढंगले काम गरिने छ,’ मन्त्री लम्सालले सबै कार्यक्रम तथा योजनाहरुमा स्थानीय समुदाय सहभागिता र जीविकोपार्जनमा ध्यान दिइने छ ।’

उनले समुदायको अग्रसरता भएका संरक्षणका कामहरु दिगो र प्रभावकारी हुने उल्लेख गरे ।

गण्डकी प्रदेश पर्यटन भ्रमण वर्ष २०१९/०२२ का संयोजक जुद्धबहादुर गुरुङले ४२ वर्षअघि गुरुङले १ रुपैयाँ १ हातको दरले पञ्चासे जाने सिँढी बनाउने अभियान थालेको जानकारी दिए ।

पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष तथा पञ्चासे सुनाखरी गोपाल स्मृति पार्क निर्माण समितिका सहसचिव दिलबहादुर भट्टराईले प्रकृतिप्रेमी र संरक्षणकर्मी गुरुङले पञ्चासेको एकीकृत विकास र गुरुयोजना निर्माणमा योगदान रहेको उल्लेख गरे ।

अध्यक्ष भट्टराईले करिब २५ लाखको योजना अन्तर्गत भञ्याङदेखि पार्कसम्म सुनाखरीको नामाकरण गर्ने,गोपाल गुरुङको बारेमा सूचनामूलक सामग्री राख्ने र हरियाली बनाएर पार्कको सौन्दर्यीकरणको काम बाँकी रहेको जानकारी दिए ।

पार्क निर्माण समितिका सचिव चिजकाजी गुरुङले गोपाल गुरुङले आर्थरको खाली क्षेत्रमा ५० हजार बिरुवा रोपेर वातावरण संरक्षणको काम थालेको बताए । उनले ग्रामिण पर्यटनको गुरुयोजना बनाएर पर्यटनलाई जनताको जीविकोपार्जनसँग जोडेको जानकारी दिए ।

कार्यक्रममाा पार्क निर्माण समितिका अध्यक्ष हितमान गुरुङ,पञ्चकोशी आर्थर डाडा खर्क तमु समाजका अध्यक्ष कमल गुरुङ, नेपाल पञ्चधाम पञ्चासेका अध्यक्ष नीरविक्रम पौडेल, पञ्चासे बुद्ध विहारका संस्थापक मिनगुरु, कुस्मा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष भीमप्रसाद गुरुङ,परिवारको तर्फबाट शरण गुरुङ, पञ्चासे क्षेत्र विकास समितिका उपाध्यक्षहरु अर्जुनकुमार पौडेल र तारा गुरुङ, लायन्स क्लब अफ पञ्चासे चौतारीका अध्यक्ष सन्तोष पौडेल लगायतले गोपाल गुरुङको योगदानको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया