घाम झर्ला, तर राजतन्त्र फर्किन्नः मुख्यमन्त्री

समाधान संवाददाता २०७७ मंसिर ३० गते २०:५५

नवीज शिशिर विक, बागलुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि हालतमा राजतन्त्र नफर्किने दाबी गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको १२ औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको मंगलबार उद्घाटनपछि बोल्दै मुख्मन्त्री गुरुङले बिजुलीको विकल्प अगुल्टो नभएजस्तै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने विचार राखे ।

Advertisement

कहिले काहीँ बिजुलीले दुःख दियो भन्दैमा अगुल्टो र सिठोको खोजीमा लाग्नु उपयुक्त नहुने उनको भनाइ छ ।

‘घाम झर्ला, तर राजतन्त्र फर्किन्न, हामी फेरि कसैको दास बन्न सक्दैनौं,’ उनले भने, ‘गणतन्त्रको विकल्प उन्नत गणतन्त्र र सुधारिएको गणतन्त्र हो ।’ निष्क्रिय प्रतिपक्ष र आन्तरिक द्वन्द्वमा फसेको सत्तारुढ दलको कारण गणतन्त्र विरोधीहरुले टाउको उठाउन खोजेको बताए ।

Advertisement

बदलिएको राजनीतिक व्यवस्था, नयाँ संरचनामा पुरानो मानसिकता र कार्यशैलीबाट जनता आजित भएको उल्लेख गर्दै उनले कर्मचारीतन्त्र र मन्त्रीको कार्यशैलीका व्यापक सुधार गर्नुपर्नेमा जोडदिए । ‘संरचना बदलियो, मानसिकता उस्तै,’ उनले भने, ‘उन्नत र सुधारिएको कार्यशैली नभए व्यवस्था माथिनै प्रश्न उठ्छ ।’

अहिले संघीयताको विकल्प खोज्ने समय भएको नभएको मुख्यमन्त्री गुरुङले बताए । ‘संघीयताको अभ्यासमा छौं, परिवर्तनप्रति वैरभाव राख्नेहरुले संघीयताको विरोध गरेका छन् ।

कोराना संकट व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकार नभएको भए धेरै संकटपूर्ण अवस्था हुन्थ्यो,’ उनले भने, ‘महामारी व्यवस्थापनमा संघीयताको गतिलो अभ्यास देखिन्छ । क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था भए के हुन्थ्यो ?’

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङले पार्टीमा मजबुद एकताको विकल्प खोज्न नसकिने बताए । ‘आन्तरिक झगडाको एकमात्र विकल्प हो, पार्टी एकता,’ उनले भने, ‘परिस्थिति अनुकुल बन्यो भन्दैमा संक्रमणकालमा अल्पमत र बहुमतको जोडघटाउ गर्नु उपयुक्त हुन्न ।’

लामो समय पार्टीको नेतृत्व गरी सकेका नेता बढी हुँदा नेतृत्व व्यवस्थापनको कारणले पार्टीमा अस्थिरता पैदा भएको उनले दाबी गरे । ‘अब पार्टीका नेतृत्वकोे समय अवधि तोक्नु पर्छ,’ उनले भने, ‘सरकार र पार्टीबीचको सम्बन्धलाई स्पष्ट परिभाषा गर्न सकिएन भने अस्थिरता सधै रहन्छ ।’

वर्तमान अवस्थामा पार्टी नेतृत्व र प्रधानमन्त्री दुवै परिर्वतन गर्न नसकिने उनले दाबी गरे । ‘पार्टी एकताको भावना अनुसार नै अधिवेशनसम्म पुग्नुपर्छ,’ उनले भने, ‘एकताका सबै प्रक्रिया पूरा गरेर मात्रा अधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सकिन्छ । एकतालाई कायम राख्दै अधिवेशनमा केन्द्रित हुनुपर्नेमा गुरुङले जोड दिए ।

तपाईको प्रतिक्रिया