गोरखा आरुघाटमा एउटा मोटरेबल र २ झोलुंगेपुल बन्दै

समाधान संवाददाता, पोखरा
गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने आर्खेत खोलामा बन्न लागेको मोटरेबल पुलको शिलान्यास भएको छ । गण्डकी सरकारले निर्माण गर्न लागेको पुलको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरे ।
मन्त्री बस्नेतले आर्खेत आसपास र उत्तरी गोरखाका जनतालाई पुल निर्माणपछि सहज हुनेमात्र नभई उत्तरी गोरखा जोड्नसमेत पुलले महत्वपूर्ण हुने बताए ।
उत्तरी गोर्खाको मनास्लु क्षेत्र जोड्ने सडक समेत भएकाले पुलले पदमार्गमा जोडिने उत्तरी गोर्खाका सर्वसाधारण, पदमार्गमा जाने पदमार्गी र उत्तरी गोर्खामा ढुवानी सेवा पुर्याउन सहज हुने उनको भनाइ थियो । ‘तिब्बतसँग जोडिएको भेग भएकाले तिब्बतसँग जोडिने मार्गसमेत पुलले सहज बनाउनेछ,’ उनले भने ।
आर्खेत खोलामा पुल नहुँदा पैदलयात्री काठेपुलबाट आवतजावत गर्छनन् । सवारी साधनहरु भने खोलाबाटै आवजजावत गर्छन् । वर्षाको समयमा खोलामा पुल नभएको कारण सडक अवरुद्ध हुँदै आइरहेको थियो ।
उत्तरी गोरखामा खाद्यान्न लगायत सामग्रीहरु ढुवानी गर्न समेत अप्ठेरो छ । आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले पुल शिलान्यासले आरुघाटबासीमा खुसीयाली छाएको वताए ।
आरुघाटका स्थानीय रेशमबहादुर गुरुङले आर्खेत खोलामा पुल निर्माण नहँुदा दर्जनौ मानिसले वर्षायाममा ज्यान गुमाएको सुनाए । नेपाल कम्युनिस्ट पार्टी गोरखाका जिल्ला कार्यालय सदस्य कृष्णबहादुर नेपालीले गोर्खाली जनताले अहिलेसम्म सरकारको कामको अनुभूति गर्न नसकिरहँदा प्रदेश सरकारले आर्खेत खोलामा पुल निर्माण गरी सरकार विकासको काममा अगाडि रहेको देखाएको बताए ।
५ करोड ६५ लाख लागतमा निर्माण हुने पुल कोभिड १९ को प्रभावका कारण सम्झौता भएको केही महिनापछि निर्माण सुरु हुन लागेको हो । निर्माण कम्पनीसँग समय सीमाभित्रै पुल निर्माण सम्पन्न गर्नेसमेत सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले बताए ।
दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी बानिया सूर्यविनायक जेभीले ठेक्का सम्झौता गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आरुघाट गाउँपालिका वडा नम्बर ३ को स्याम्राङ र देउराली जोड्ने झोलुंगे पुल र थुमी निबोट जोड्ने झोलुंगे पुलको समेत शिलान्यास गरेका छन् ।
स्याम्राङ र देउराली निबोट र थुमी जोड्ने पुलले एक गाउँदेखि अर्को गाउँ जान घन्टाैँ लाग्ने भएकाले जनताको दुखलाई मध्यनजर गरी झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेको मन्त्री बस्नेतले बताए ।
स्याम्राङ र देउराली जोड्ने झोलुंगे पुल ३ सय ४६ मिटर लामो हुनेछ । २ करोड १० लाख लागत लाग्ने पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए ।
थुमी निबोट झोलुंगेपुल ३ सय ७८ मिटर लामो हुनेछ । लागत २ करोड ६० लाख रहेको अधिकारीले सुनाए । उक्त पुलहरु १८ महिनाभित्र सकाउने गरी एसए शैलेन्द्र जेभीले निर्माणको जिम्मा लिएको छ ।
तपाईको प्रतिक्रिया