लेखनाथको कृषि उपज केन्द्रमा कोल्डस्टोर बनाइने

रामशरण नेपाली, लेखनाथ
लेखनाथ उद्योग वाणिज्य संघले पोखरा २७ को महोत्सवस्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद बिक्री केन्द्रलाई सहयोग पुग्ने गरी कोल्डस्टोर निर्माण हुने भएको छ । कृषि उपज उपभोक्तासम्म नपुगुन्जेल सुरक्षित भण्डारण गर्न कोल्डस्टोर निर्माण गर्न लागिएको हो ।
गण्डकी प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत कोल्डस्टोर निर्माण गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघले हरेक वर्ष जस्तै गर्दै आएको लेखनाथ महोत्सव यो वर्ष कोरोना भाइरसका महामारीका कारण स्थगित भएपछि महोत्सव सञ्चालनको मिति पुस १ गतेको सम्झना गर्दै कोल्डस्टोर स्थापनाको घोषणा गरिएको हो ।
कोल्डस्टोर स्थापनाका लागि पोखरा महानगरपालिका, संघीय सांसद विकास कोष र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त लगानी रहनेछ । कोल्डस्टोरका लागि करिब २७ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान छ ।
कृषि उपज खरिद बिक्री केन्द्रका २६ वटा सटरमा रहने कृषि उत्पादनको बिक्री वितरणमा सहज हुने गरी गण्डकी प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको सांसद दीपक कोइरालामार्फत विनियोजित २५ लाख र संघको २ लाख ५० हजारको लगानीमा कोल्डस्टोर निर्माण गरिने भएको हो ।
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास भनेको बाटोघाटोमात्र नभई आय आर्जनका लागि उत्पादनसँग जोडिएर आर्थिक गतिविधिलाई पनि अगाडि बढाउनुपर्ने सुझाव राखेका थिए ।
भारतबाट नआए चीनबाट आउँछ भन्दै उत्पादनलाई बढवा नदिँदापछि परेको प्रसंग उठाउँदै विकास समितिका सभापति कोइरालाले सकेसम्म आफूलाई आवश्यक पर्ने आवश्यक खाद्य सामग्री आयात नगरी आफैले उत्पादन गर्नुपर्ने बताए ।
सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले सरकार र निजी क्षेत्रको सहकार्यमा वाणिज्य क्षेत्रका उद्योग धन्दाभन्दा पनि कृषिमा आधारित उद्योगधन्दा सञ्चालनतर्फ सोच्नुपर्ने सुझाव राखे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुलाई बजारीकरण गर्नुपूर्व व्यवस्थित तरिकाले भण्डारण र किसानको लगानीलाई सुरक्षित गर्न संघ कृषिमैत्री कार्यक्रममार्फत अगाडि बढेको धारणा राखेका थिए ।
संघका महासचिव गोपिचन्द्र बास्तोलालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापनसहित कृषि उपज खरिद बिक्री केन्द्र र कोल्डस्टोरको महत्व र उपयोगिताबारे जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया