मुस्ताङका ४ स्थानीय तहका स्कुल बन्द

समाधान संवाददाता २०७७ पुष २ गते ११:२५

एसके थकाली, जोमसोम

अत्यधिक चिसोका कारण मुस्ताङका ४ स्थानीय तहका शैक्षिक संस्था बन्द भएका छन् । यहाँका विद्यालयले सरकारको निर्देशन पालना गर्दै चालु शैक्षिक सत्रको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम कक्षा सञ्चालन गरे पनि चिसोका कारण विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ ।

जिल्लाको लोमान्थाङ गाउँपालिकाका ९ सामुदायिक, ४ गुम्बा र २ निजी विद्यालयमध्ये दिव्यदीप मावि छोसेरले कक्षा ९ र १० का २७ विद्यार्थीलाई घुम्ती कक्षाका लागि बेसी झारिसकेको छ । बाँकी कक्षाका विद्यार्थीलाई हिउँदे बिदा दिइएको छ । लोमान्थाङका अन्य वडामा रहेका ८ सामुदायिक विद्यालय पनि बन्द भएका छन् ।

Advertisement

लोमान्थाङका केही गुम्बा र निजी विद्यालय पनि घुम्तीका रुपमा बेँसी झरेका छन् ।

लोमान्थाङका विद्यालय आफैँले निर्णय गरेर विद्यालय बन्द गरे पनि लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउपालिकाले भने कार्यपालिकाको बैठक बसी पठनपाठन रोकेका हुन् ।

Advertisement

थासाङ गाउँ कार्यपालिकाले पनि पुस १५ गते पालिकाभित्रका १३ वटा बिद्यालयको शैक्षिक पठन÷पाठन बन्द गर्ने जनाएको शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङ प्रमुख टंकराज बरालले जानकारी दिए ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फागुनको पहिलो साता विद्यालय खोल्ने गरी मंसिर ३० गते ८ सामुदायिक बिद्यालय बन्द गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले फागुन २ गतेबाट पठनपाठन चलाउने गरी मंसिर २३ गतेबाट १५ वटा सामुदायिक विद्यालय एकैसाथ बन्द गरेको छ । वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ र जननर्मल आवि बर्सेनि घुम्तीका लागि बेसी झर्ने गरे पनि कोराना कहरका कारण बिद्यालय नै बन्द थिए ।

थासाङले भने फागुनको पहिलो हप्ता विद्यालय खोल्ने जनाएको छ । घरपझोङ गाउँपालिकाले समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेको बन्दै कात्तिक १३ गते नै विद्यालय बन्द गरेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाईले मुस्ताङको हकमा फागुनमा चालु शैक्षिक सत्र सुरु गरी मंसिरमा शैक्षिक सत्र अन्त्य गर्दै आएकोमा यो वर्ष कोरोना कहरका कारण मंसिरमा शैक्षिक सत्र सकिएन ।

यसपालि अन्य जिल्लाको शैक्षिक सत्रसँगै यहाँको शैक्षिक सत्र अन्त्य गर्ने तयारी छ । मुस्ताङका विद्यालयले यस पटक अर्धवार्षिक परीक्षा लिइसकेका छन् भने वार्षिक परीक्षा चैतमा गर्ने भएका छन् ।

कोरोना कहरका कारण उपल्लो मुस्ताङबासी यस वर्षको हिउँद याममा बेसी नझर्ने बताइए पनि उपल्लो मुस्ताङका आधाजसो बासिन्दा बेसी झरिसकेका छन् ।

कृषि र पशुपालन उपल्लो मुस्ताङीको मुख्य जीविकोपार्जनको माध्यम हो । बर्खायाममा खेती किसानी र हिउँद याममा घुम्ती व्यापार गर्ने उपल्लो मुस्ताङीहरु बेसीका बजारमा पुगेको वारागुङ मुक्तिक्षेत्र ३ छुसाङका स्थानीय शंकर गुरुङ बताउँछन् ।

उपल्लो मुस्ताङमा चिसो बढेकाले स्थानीयको दैनिकीमा प्रतिकूल असर परेको छ । त्यहाँ रहेका सर्वसाधारण घर बाहिरसमेत निस्कन सक्ने अवस्था छैन । उपल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्री सेल्सियसमा छ भने तल्लो मुस्ताङमा माइनस १० डिग्री छ ।

तपाईको प्रतिक्रिया