ठिहिरोमा सशस्त्र

समाधान संवाददाता २०७७ पुष ३ गते ७:००

सम्पादकीय

बागलुङमा सशस्त्र प्रहरी बलको एउटा टोली पालको ओतमुनि रात काट्छ । यो ठिहिरोमा त्यसरी उनीहरु बस्नुको कारण अस्थायी कुनै कामको प्रयोजनमा फिल्डमा हुनु होइन ।

सशस्त्र प्रहरी बलको जनशक्ति सबैलाई पुग्ने बासको प्रबन्ध नहुँदा २५ सुरक्षाकर्मीलाई पालको ओत लगाएर राखिएको छ, त्यो पनि भूसंरक्षणको कार्यालय खाली भए सशस्त्रले ठाउँ पाएको छ ।

Advertisement

१२५ जना सशस्त्र प्रहरीमध्ये सबैलाई पुग्ने ओत छैन, त्यसैले नपुगेका जति यो हिउँदा यामको ठिहिरोमा पनि पालमुति ओतिएका छन् ।

सरकारले बागलुङ जिल्लामा सशस्त्र प्रहरीलाई त्यहाँको बाढिपहिरोको विपदका बेला उद्धारमा खटाएको थियो । बरेङ र निसी गाउँपालिकामा भएका सशस्त्रका जवानहरु त्यहाँ फेरि एकत्रित हुँदा भने ठाउँ अपुग छ ।

Advertisement

गुल्मबाट फिल्डमा गएकाहरु फर्किनासाथै ठाउँ नपुग्ने र त्यो पनि २५ जना थप पनि नअट्ने पूर्वाधार सशस्त्र प्रहरीसँग हुनु दुखद हो । यसले नेपाल राज्यको निरीहता देखाएको छ ।

नागरिकको सुरक्षामा खटिनुपर्ने प्रहरी नै असुरक्षित तवरले बस्नुपर्ने अवस्था हुनु भनेको सुरक्षा व्यवस्था नै फितलो हुनुको परिचायक हो । त्यसरी ओत लागेर धानिनुपर्ने प्रहरीबाट कसरी विपद्मा उद्धार गर्ने मनोबल आउँला र आत्मबल कस्तो होला ?

नागरिकको हकहित हेर्नेहरुको पनि हित हुन जरुरी छ । सुरक्षाकर्मीकै सुरक्षा नभए उनीहरुबाट नागरिकले कस्तो सुरक्षा पाउलान् ?

यस्ता विषयमा स्थानीय वा प्रदेश सरकारले समेत चासो देखाएर संघमा पहल गरिदिनुपर्ने हो । तत्तस्थानमा कहाँ कसरी सशस्त्रका लागि जग्गा वा भवन प्रबन्ध गर्न सकिन्छ त्यो प्रबन्धका लागि पहल गर्नुपर्ने हो ।

हालै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सशस्त्रको त्यो बासस्थानको अवलोकन गरेको र उनीबाटी सशस्त्रको गुल्मलाई आश्वासन प्राप्त भएको समाचार पनि आएको छ । उनको आश्वासन फगत आश्वासनमा सीमित नहोस् । बेलामा आवश्यक प्रबन्ध मिलोस् ।

चाहे सशस्त्र हुन् वा जनपद प्रहरी थुप्रै ठाउँमा झुपडीको बास छ तिनीहरुको । सवारी साधन छैन । झन् सेवासुविधा त कठैकै हालतमा छ । देशको शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिने हो भने प्रहरीको मनोबल उँचो हुनुपर्छ ।

गोलीगठ्ठा लगायत हातहतियारले सुसज्जितमात्रै होइन अरु भौतिक पूर्वाधार र उनीहरुको जीवनको वृत्ति विकासको पनि भरपूर प्रबन्ध हुनुपर्छ । आफै सबल नभई प्रहरीले शान्ति सुरक्षा प्रदान गर्न सक्दैन । यस्ता विषयमा संवेदनशील हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया