पार्किङ शुल्कविरुद्ध नागरिक समाज
समाधान संवाददाता, पोखरा
नागरिक समाज कास्कीले पोखरा महानगरपालिकाद्वारा लगाइएको पार्किङ शुल्कठेक्काविरुद्ध ध्यानकर्षण गराएको छ । सार्वजनिक सडक, पेटी किनारामा रहेको खाली ठाउँलाई पार्किङ स्थलको रुपमा शुल्क उठाउँदा आमनागरिकलाई गम्भीर असर परेको समाजले जनाएको छ ।
समाजका तर्फबाट संयोजक ईन्द्रकमल मानन्धरसहितको टोली शुक्रबार महानगर पुगी प्रमुख मानबहादुर जिसीलाई ध्यानकर्षणपत्र बुझाएको छ । सुन्दर नगरी पोखरालाई व्यवस्थित पार्किङ र उचित स्थानमा शुल्क पार्किङ एरिया राख्न माग गरिएको छ ।
जथाभावी रुपमा शुल्क उठाउँदा नागरिक अधिकार माथिनै प्रश्न उठेको र महानगरको सेवामा असर परेकोले सोमा सचेत हुन आग्रह गरिएको छ ।
सो पत्र बुझ्दै महानगरका प्रमुख मानबहादुर जिसीले पोखरालाई व्यवस्थित गर्न निजी सवारी साधन प्रयोगकर्ताले साधनको व्यवस्थापनमा ध्यान दिन नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या परेकोले नागरिक समाजले सहयोग गर्नुपर्ने बताए ।
सोही अवसरमा नागरिक समाजका पूर्व संयोजक विष्णुहरि अधिकारी, प्रवक्ता गोकुल कार्की, सल्लाहकार शशि तुलाचन लगायतले पार्किङ र शुल्क व्यवस्थित रुपमा गरिनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया