सांसद मनाङेकी श्रीमती धरौटीमा रिहा

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)की श्रीमती दिक्छेन लामा धरौटीमा रिहा भएकी छन् ।
डाँकाचोरी मुद्दामा गत मंसिर १० गते पक्राउ परेकी लामा ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको कास्की जिल्ला अदालतका सूचना अधिकृत नील पनेरुले जानकारी दिए ।
दिक्छेनले बुझाएका प्रमाणका आधारमा उनी दोषी नदेखिएकाले फौजदारी कार्यविधि संहिता २०७४ अनुसार ५० हजार धरौटीमा रिहा गर्न न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले पछि ठहरे बमोजिम हुने गरी आदेश गरेको हो ।
दिक्छेनमाथि पोखरा १० रक्षामार्गको १ घरबाट बहुमूल्य धातु डाँकाचोरी गरेको आरोप थियो । उनीविरुद्ध मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको थियो ।
उनीमाथि कात्तिक ८ गते २० लाख रुपैयाँ जतिका बहुमूल्य धातु र मूर्ति डाँकाचोरी गरेको आरोप लागेको थियो ।
लामामाथि रोनित गुरुङको कोठाबाट प्रतिअम्खोरा २४ तोलाको चाँदीका ७ अम्खोरा, बुद्धको मूर्ति र ५ अरु मूर्ति चोरेको आरोपमा गुरुङले जाहेरी दिएका थिए ।
तर लामाले भने आफूले ती मूर्ति काठमाडौंमा खरिद गरी काठमाडौं, पोखरा र हेटौडामा लगेर पूजा गर्ने गरेको भन्दै फोटासमेत अदालतमा पेस गरेकी थिइन् । अदालतमा दिएको बयानमा लामाले आफूमाथि लगाइएको आरोप झुठो भएको दाबी गरेकी थिइन् ।
हेटौडा जाँदा आफू र छोराका सबै कपडासहित पूजा गर्ने गरेको मूर्ति सांसद मनाङेले गाडीमा राखेर पठाएको उनले बयान दिएकी छन् । ‘९ गते प्रहरी आएर ती मूर्ति झिकेपछि मविरुद्ध प्रहरीमा उजुरी परेको थाहा पाएँ,’ उनले अनुसन्धान अधिकारीसँग भनेकी छन्, ‘ती मूर्ति मैले काठमाडौं बस्दा नै किनेर पूजा गर्दै आएकी थिएँ । ममाथि किन झुठो आरोप लगाइयो, थाहा छैन ।’
आफू कात्तिक ७ गते साँझ पोखरा आएर छोराको दसैं गृहकार्यका कापी छाडेर ८ गते फर्किएको उनले बयान दिएकी छन् । त्यस बेला आफू पति मनाङेको कोठामा नगएको उनको दाबी छ ।
तर ८ कात्तिकमा साढे १२ बजे दिक्छेनसँगै ५ जना आफ्नो कोठामा प्रवेश गरी सामान चोरेर लगेको देखेको रोनित गुरुङले जिकिर गरेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया