पत्रकार महासंघ मुस्ताङसँग सहकार्य गर्छौैं- अध्यक्ष थकाली

समाधान संवाददाता २०७७ पुष ४ गते १७:४४

समाधान संवाददाता, मुस्ताङ

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँग मुस्ताङका स्थानीय तहले समन्वय र सहकार्य गर्नुपर्ने घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताएका छन् ।

महासंघ मुस्ताङ शाखाको शनिबार भएको नवौं वार्षिक साधारणसभामा थकालीले जिल्लाको समग्र विकास, सुशासन र समृद्धिका लागि पत्रकारको योगदान महत्वपूर्ण हुने विचार राखे ।

Advertisement

अध्यक्ष थकालीले पत्रकारिता देशैभर चुनौतिपूर्ण भएको उल्लेख गर्दै मुस्ताङको पत्रकारिता अझ बढी चुनौतिपूर्ण भएको जनाए । उनले पत्रकारको संख्या वृद्धिगर्ने तर्फ शाखाले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

पत्रकारले गरेको प्रत्येक सूचना सम्प्रेषणले कार्यान्वयन गर्ने निकाय थप जिम्मेवार हुने भएकाले समाजका वेथिति, विकृति, विसंगति र विकास निर्माणमा भएका राम्रा र नराम्रा पक्ष उजागर गरी समृद्ध नेपाल, सुखी नेपालीको दिशातर्फ उन्मुख हुनपर्ने अध्यक्ष थकालीको भनाइ छ ।

Advertisement

महासंघ मुस्ताङ अध्यक्ष सुन्दरकुमार थकालीले शाखाको सांगठनिक तथा चालु कार्यकालको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरे । प्रतिवेदनमा शाखाले मुस्ताङंको समग्र विकास र सुशासन कायम गर्न तथा जिल्लाका पत्रकारलाई परेका समस्यामा सहकार्य गर्दै आएको उल्लेख छ ।

अध्यक्ष थकालीले सुगमको जस्तो हिमाली जिल्लामा पत्रकारिता सहज नभएको उल्लेख गर्दै यो क्षेत्रमा आउन नयाँ पिढीको रुचि कम पाएको सुनाए ।

महासंघको वार्षिक सदस्यता शुल्क बढी भएको जिकिर गर्दै हिमाली जिल्लालाई ५० प्रतिशत सहुलियत दिनुपर्ने माग गरे ।

महासंघ मुस्ताङ सदस्य राजु सेन्चुरीले चालु कार्यकालमा पत्रकार महासंघले पत्रकार हकहित, सहयोग र विभिन्न कार्यक्रम आयोजना गरी शाखाको कार्यसम्पादन चुस्त बनाएको उल्लेख गरे । कार्यक्रममा पत्रकार शुशीलबाबु थकालीले पनि बोलेका थिए ।

साधारणसभाले कोषाध्यक्ष निरज थकालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सभाका सहभागीले कोभिड १९ को जोखिमका बेला पत्रकारले स्वास्थ्य सामग्री उपलब्ध गराउन महासंघ केन्द्रले ध्यान नदिएको र पत्रकारको रोगजारी गुमेको र कतिपयले पारिश्रमिक नपाएकोमा उपयुक्त भूमिका खेल्न नसकेको गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया