…र पनि बाँच्नु त छँदैछ

समाधान संवाददाता २०७७ पुष ४ गते १७:४९

फोहोरको थुप्रोमा भएको भेटले उनीहरुलाई सुकिलो प्रेमको बाटोमा लग्यो । उनीहरु बोल्न सक्थेनन् तर मनको आवाज सुने र जीवनसाथी बने ।

अनीश भट्टराई, तनहुँ

चिसो सिरेटोले शरीर घोचिरहन्छ । त्योभन्दा गहिरो चिसो गडेको छ, मनमा । आङमा थोत्रो कपडा, खुट्टामा फिता चुँडिएका चप्पल ।

चौतारोमा बसिरहेकी पूर्णमाया मगरतिर धेरैको नजर जान्छ तर कसैले वास्ता गर्दैन ।

पूर्णमायाले केही दिनअघि सुकिला कपडा लगाएर गइरहेका जन्तीतिर नजर डुलाइन् र आफैंलाई नियालिन् ।

आङमा कपडा नफेरिएको कतिवर्ष भो, उनलाई थाहा छैन । पूर्णमायाको भावभंगीले अपूर्ण सपना बोल्छ, ‘मैले पनि त लाउँदी हुँ यस्तै नयाँ कपडा ।’ तर, भुइँमान्छेलाई हेर्ने र उनका कथा सुन्ने कसलाई पो फुर्सद छ र ?

पूर्णमायाबोल्न सक्दिनन् तर सुन्छिन् ।बोल्नेले उनलाई सजिलै भनिदिन्छन्, ‘लाटी, बहुलाही, पागल्नी ।’ उनी चुपचाप सहिदिन्छिन्, नजर अर्कोतिर घुमाउँछिन् । नसहेर पनि के गर्नु ?उनी विवश बन्छिन् ।

बोरामा प्लास्टिक, बोत्तल लिएर पूर्णमायाको छेउ कोही आइपुग्यो । शीरमा उनीको टोपी, काँधमा बोरा, उस्तै मैलो लुगा, चाउरिएका गाला, खाली खुट्टा, फुटेका कुर्कुच्चा ।

ती पुरुषको हुलिया थियो । बोरा बिसाएर उनी पनि चौतारमा टुसुक्क बसे । खुइयय…सुस्केरा मारे र पूर्णमायाको अनुहारतिर हेरे । अनि दुबै मुस्कुराए ।

उनी पूर्णमायाकै श्रीमान् तीलक नेपाली रहेछन् ।तीलककी अर्की श्रीमती पनि नजिकै रहिछन् । पूर्णमाया कान्छी, कुमारी नेपालीदोस्री । कुमारीको मानसिक अवस्था कमजोर छ । घरि टोलाइरहन्छिन् र सुक्सुकाउँछिन् घरि खित्ता छाडेर हाँस्छिन् ।

तीलकले बिहान प्लास्टिक, बोत्तल उठाउन गएनन् भने कसैको मुखमा माड लाग्दैन ।

तीलकले १ दिन काम नगर्दा ३ जनाको पेट सारंगी बन्छ ।

तीलक पनि बोल्न सक्दैनन्, लेख्न भने सक्छन् । कापीका पान्नामा लेखेरै उनी कसैसँग बात मार्छन्, मनको भाव पोख्छन् ।

सडकमाचिल्ला गाडी गुड्छन् । नयाँ, थोत्रा, ठूला, साना गाडी गुड्छन् ।सहरका अलिशान महल र धनी मान्छेहरु त्यही बाटो भएर हिँड्छन् ।

तर कसैको नजर ती ३ माथि पर्दैन । ती ३ को नजर परेपनिबोलेर सहयोग माग्न सक्दैनन् । ३ जनाकै मनको आवाज सुनेर बस्ने फुर्सद पनि कसैले देखाएका छैनन् ।

तीलकका परिवारको दुर्दशा धेरै पहिलेदेखिकै हो । ५३ वर्षीय तीलकको जन्मघर सिन्धुली दमारचौकी हो । सानोमा विद्यालय जान नपाएका भए पनि अक्षर पढ्न र लेख्न उनी पोख्तै छन् ।

उनलाई बुबाले पढ्न लेख्न सिकाएका रहेछन् । धेरै सिक्न भने पाएनन् ।सानै हुँदा उनको बुबा–आमाको मृत्यु भयो । उनले आफ्ना बुबाआमासँगै घरबास पनि गुमाए । टुहुरो बनेपछि गाउँ छाडे ।

जन्मँदै बोल्न नसक्ने उनले कोहीकसैलाई आफ्नो बह सुनाउन सकेनन् । ‘घर सिन्धुली हो, घर छाडेको कति भो थाहा छैन, तर आमाबुबा गएपछि म हिँडें,’ तीलकले कापीमा आफ्ना शब्द उतारे ।

उनी सिन्धुली छाडेर हिँडे । कहाँ कहिले पुगे उनलाई थाहा थिएन, किन कि उनी गन्तव्यविहीन जस्तै बनेका थिए । हिँड्दा हिँड्दै उनी तनहुँ आइपुगे ।

तनहुँ शुक्लागण्डकीमै बस्न लागेको १ दशकभन्दा बढी भएको स्थानीय बताउँछन् । ‘यी ३ जनालाई यता देखेको त १०–१२ वर्ष नै भयो, कहिले कता कहिले कता बसेका छन्,’ शुक्लागण्डकी ७ का समीर ढकालले भने ।

१ दिन मन र भावना मिल्ने अवश्य भेटिन्छन् भने झैं गरी तीलकले कुमारी र पूर्णमायालाई भेटे ।

ती ३ को भेट कहिले भयो ? कसरी भयो ? तीलक हातले सेतीतिर देखाउँदै फोहोर उठाउने ठाउँमा भएको बताउँछन् । फोहोर उठाउने ठाउँमा भएको उनीहरुको भेट मायामा परिणत बन्यो । ३ जनाले नै फोहोर उठाउँछन् । फोहोरको थुप्रोमा भएको भेटले उनीहरुबीच सुकिलो प्रेम बसाल्यो ।

ती ३ जना विवाह नगरेपनि एकअर्कालाई आफ्ना जीवनसाथी बताउँछन् । उनीहरुको सम्बन्ध सिन्दूरले होइन, माया र भावनाले जोडिएको हो, अडिएको छ ।

मनको जग त अडाए, तर उनीहरुलाई एउटा छानो चाहिएको थियो । जहाँ ती ३ ढुक्कसँग निदाउन सक्थे, बात गर्न सक्थे । उनीहरुको स्थायी घर बनाउन सक्ने तागत थिएन, छैन । तनहुँमा कहिले शुक्लागण्डकी, कहिले म्याग्दे त कहिले दमौली उनीहरु यत्रतत्र हिँड्थे । सडकपेटी ती ३ को आवास थियो ।

शुक्लागण्डकीमा धेरै वर्ष कटाइसकेका ती दम्पत्ती स्थानीयबाट लखेटिन्थे । फोहोर धेरै उठाउने र बस्तीमा फोहोर गरेको भन्दै तीलकका परिवार पटकपटक खेदिए ।

सुरुमा दुलेगौंडाको अपांगगृहमा बसेका उनीहरुलाई त्यहाँका स्थानीयले लखेटेको स्थानीय पसल सञ्चालक पूजा विश्वकर्मा बताउँछिन् ।

‘यिनीहरुलाई धेरै भयो यहाँ देखेको पहिला दुलेगौंडाबाट लखेटेका हुन्, अनि मिलडाँडामा बस्दा पनि लखेटे, अहिले झरौटामा बस्छन्,’ विश्वकर्माले भनिन् ।

दुलेगौंडा, मिलडाँडाबाट लखेटिएका तीलकको परिवारका लागि स्थानीयले सानो घर बनाइदिएका छन् । अरुले त्यस घरलाई झुप्रो, कवाडी ठाउँ, टहरा जे भनेपनि तीलकका लागि त्यो घर महल जस्तै लाग्छ ।

ओत नपाउँदा कति बर्खा भिजेको उनको शरीरले ओत पाउँदा उनमा लाग्ने हर्ष कति होला अनुमान लगाउन गाह्रो छैन । तर त्यही घर पनि बतासले बिगारिदिन्छ ।

बतासले उडाएको घरलाई जोड्न र सम्हाल्नमा उनको बर्खा बित्छ । अहिले ठिहीमा केही बतासको समस्या नभएपनि त्यस घरमा चिसोको समस्या उनको परिवारले खेपेको छ ।

तपतप चुहिने शीतले भिज्ने उनको बुढ्यौली आँतलाई कति चर्र्र्कायो यो उनीहरु भन्न सक्दैनन्, देखाउन सक्दैनन् ।

दाँतविहीन गिँजामा देखिने कुमारी नेपालीकोमुस्कान पछाडि लुकेको पीडा ठूलो छ । मातृपीडालाई उनका हाँसोले छेकेका छन्, जसलाई केवल उनका पति र पूर्र्णमायाले मात्र बुझेका छन् ।

कुमारी नेपाली आफ्नो हातको पारा लगाउँदै कोखमा बच्चा राखेको देखाउँछिन् । बच्चालाई कसैले खोसेर लगेको र उनी रोएको इशारा गर्छिन् । पूर्णमाया भने दिदीलाई शान्त हुन संंकेत गर्छिन् । तीलकले आफ्नो चेहरामा गम्भीरता ल्याउँदै त्यस घटनालाई कापीमा उतार्छन् ।

तीलकले आफ्नी जेठी श्रीमतीको तर्फबाट १ छोरी जन्माएका रहेछन् । उनलाई कुन अस्पतालमा बच्चा जन्मिएको र त्यो अस्पतालको सम्पर्क नम्बर कति हो त्यो समेत याद रहेछ ।

‘नवीना छोरी थिई, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जन्मेकी,’ उनले कापीमा लेखे, ‘एउटा मोटो डाक्टर र आमाले लगेको छन्, ५०० रुपैयाँ छाडेर ।’३ वर्षकी शिशु नवीनालाई खोसेर लगेको दिन कुमारी मूच्र्छित परिछन् ।

आफ्नो हातले टाउको पछिल्लो भागमा कसैले हिर्काएको संकेत गर्छिन्, आँखाबाट आँसु चुहाएको संकेत गर्छिन् । उनलाई कसैले ठगेको रहेछ, मातृत्वसमेत अनुभव गर्न नपाउने गरी ।

पूर्णमाया कोही पुरुष देख्नेबित्तिकै लखेट्न खोज्छिन् । झस्किरहन्छिन् । तीलककी जेठी श्रीमतीले खेपे जत्तिकै पीडा पूर्णमायाले खेपेकी छन् । शारीरिक रुपले कमजोर जो बोल्न सक्दिनन्, उनको शोषण भएको तीलक बताउँछन् ।

‘धेरैपटक चोर आए, यसलाई समाउँछन्, अनेक गर्छन् । ३ दिनसम्म आची गर्न पनि नसक्ने भएकी थिई,’ तीलक बताउँछन् । उनले यसबारे इलाका प्रहरी कार्यालय, बेलचौतारामा खबर गरेको बताउँछन् । प्रहरीलाई खबर गर्नुभएन ? भन्ने प्रश्नमा उनले लेखे, ‘इलाका प्रहरी कार्यालय बेलचौतारा फोन………..।’

उनलाई प्रहरीको नम्बर कण्ठ छ । खररै कपीमा लेखिहाल्छन् । तर फोन गरे पनि बोल्न नसक्ने हुँदा उनको सन्देश पुग्न सक्दैन ।

घरमा अहिले मुसा लागेर हैरान बनाएको तीलक बताउँछन् । ‘घरमा मुसा लागेका छन्, प्वाल बनाएका छन्, कपडा खाएका छन्,’ तीलकले लेखे । आफूले ढुंगा माटोको दरिलो घर बनाउन चाहेकोे उनले बताए ।

अहिले उनीहरु बसेको घरसमेत खतरामा छ । केही समयपछि उनीहरुले त्यस स्थान छाड्नुपर्ने निश्चित छ ।

मुग्लिन–पोखरा सडक निर्माणका क्रममा उनीहरु बसेको घरको जग्गा पनि बाटोमै जानेछ ।

उनीहरु पुनः छतविहीन हुने अवस्था नजिकिँदो छ । घर भत्किनुअघि नै उनीहरुका मुटुका भित्ताभित्ता चर्किएका छन्, भत्किएका छन् ।

तपाईको प्रतिक्रिया