विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी

समाधान संवाददाता २०७७ पुष ५ गते ७:००

समाधान संवाददाता, पोखरा

खौलालाँकुरी–पोखरा सम्पर्क समाज पोखराले पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीका सबै सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । समाजले गाउँमै पुगेर शुक्रबार ६ विद्यालयका ३ सय ६९ विद्यार्थीलाई उक्त सहयोग दिएको हो ।

समाज गठन भएर पहिलो अधिवेशन भएको १ वर्ष पुगेको अवसरमा सहयोग गरेको हो । कार्यसमितिका सदस्य र केही साधारण सदस्यसमेतबाट आर्थिक सहयोग जुटाएर १ लाख ५९ हजार रुपैयाँ बराबरको न्यानो कपडा (स्वीटर) र स्टेशनरी सामाग्री सबै विद्यार्थीको हातमा पु¥याइएको न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक पिताम्बर पौडेलले बताए ।

Advertisement

उनका अनुसार खौलालाँकुरी माविका २ सय ४१, महेन्द्र आधारभूत विद्यालयका ५७, शिशुकल्याण आधारभूतका २६, नवजागृति र भगवती आधारभूतका १९÷१९ जना र जनजागृति आधारभूत विद्यालयको बालकक्षामा अध्ययनरत ७ विद्यार्थीलाई सहयोग गरिएको हो ।

सहयोग कार्यक्रमको उद्घाटन गर्दै कुश्मा–१३ का वडाध्यक्ष जंगबहादुर केसीले पोखरामा समाज गठनले एउटा उत्साह थपिएको बताए ।

Advertisement

‘समाजले कुनै पनि राजनीति नगरी यस्ता प्रकारका सामाजिक गतिविधि गरिरहनु पर्छ,’ उनले भने, ‘वडा कार्यालय र व्यक्तिगतरुपमा समेत सहयोग गर्न तयार छु ।’

समाजका अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले जन्मभूमीमा केही गर्नुपर्छ भन्ने सन्देशसाथ कार्यक्रम गरिएको र रचनात्मक र सिर्जनात्मक काममा लागिरहने प्रतिवद्धता जनाए ।

‘यो सुरुवातमात्र हो,’ उनले भने, ‘पोखरामा भएका दाजुभाइ, दिदीबहिनी सबैलाई समेटेर समाजलाई थप सशक्त रुपमा अघि लैजानेछौं ।’

उनले न्यानो कपडा र शैक्षिक सामाग्रीको दुरुपयोग गर्न नहुने भन्दै शिक्षक र अभिभावक पनि चनाखो हुनुपर्नेमा जोड दिए । खौलालाँकुरी मावि व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले समाज गठन भएको एक वर्षमै यस्तो कार्य गरेकोमा खुसी व्यक्त गरे ।

सोही माविकी प्रधानाध्यापक मीनाकुमारी भण्डारीले उदार मन र हात लिएर आएको भन्दै समाजसंग सहकार्य गरी काम गर्न इच्छुक रहेको बताइन् ।

उनले समाजलाई २५ हजार रुपैयाँ सहयोगको घोषणासमेत गरिन । ‘तेरो र मेरो अनि त र म नभनी समाजले सामाजिक कार्यमा निरन्तर लागिरहनु पर्छ,’ उनले भनिन् ।

समाजका उपाध्यक्ष हीरालाल विश्वकर्माले स्वागत गर्दै संस्था गठन र हालसम्म भएका कामहरुको बारेमा प्रकाश पारेका थिए ।

‘समाजले विभिन्न आपतविपत्मा परेकालाई केही मात्रामा भए पनि सहयोग गर्ने उद्देश्यसाथ आकस्मिक सहयोग कोष गठन भएको छ,’ उनले भने । कार्यक्रममा समाजका सचिव लालप्रसाद शर्मा र सहसचिव प्रकाश सुवेदीले बोलेका थिए । मास्क र स्यानीटाइजर पनि वितरण गरिएको थियो ।

यसैबीच समाजको कार्यसमितिले छिमेकी फलेबास नगरपालिकाका मेयर पदमपाणी शर्मासंग शुक्रबारै भेटघाट गरी गाउँ र पर्यटनको बिकासका विषयमा छलफल ग¥यो ।

विशेष गरी खौलालाँकुरीतर्फको जुम्ली थान क्षेत्र र कार्कीनेटातर्फको डहरे देउरालीलाई कसरी पर्यटनमा स्थापित गर्ने भन्ने विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा समाजका पदाधिकारी तथा सदस्यहरुले फलेबास नगरपालिकाले डहरेलेकमा बनाउन लागेको पार्कको अवलोकनसमेत गरेको थियो । समाज खौलालाँकुरी स्थायी घर भई विभिन्न पेसा तथा व्यवसायमा पोखरामा अस्थायी वा स्थायी बसोबास गर्नेहरुको संस्था हो ।

तपाईको प्रतिक्रिया