कांग्रसले भन्याेः संसद विघटन जनमतकाे अपमान

समाधान संवाददाता २०७७ पुष ५ गते १८:५२

समाधान संवाददाता, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले सरकारको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको पनि बताएको छ ।

Advertisement

संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ ।

गत आम निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि बताएको छ ।

Advertisement

‘पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरीत कार्यहरुको शृङ्खलाको निरन्तरता हो ।’

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरूसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि काम गर्ने पनि बैठकले निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया