३ पुरातात्विक सम्पदा पुनर्निर्माणमा पौने २ करोड बजेट

समाधान संवाददाता २०७७ पुष ७ गते १०:३७

एसके थकाली, जोमसोम

मुस्ताङका ३ स्थानीय तहका पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्न १ करोड ८० लाख बजेट आएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले उक्त बजेट छुट्याएको हो ।

Advertisement

लोमान्थाङ गापा ५ को ७ सय वर्ष पुराना ३ वटा छोर्तेन पुनर्निर्माण गरिँदैछ । त्यसका लागि ४० लाख रुपैयाँ बजेट छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ को मुक्तिनाथको ज्वालामाई घर पुनर्निर्माणका लागि १ करोड र थासाङ गाउँपालिका २ को कोबाङस्थित १ गुम्बा पुननिर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको पुरातत्व विभागले जनाएको छ ।

Advertisement

मुक्तिनाथको ज्वालामाई घरमा २०७२ सालको विनासकारी महाभूकम्पले आशिंक क्षति पुगेको थियो ।

यसको पुरानै शैलीमा पुनर्निर्माण गर्ने उद्देश्यले पुरातत्व विभागले गत वर्ष आवश्यक बजेट विनियोजन गरे पनि काम अघि बढ्न सकेको थिएन ।

लोमान्थाङको ऐतिहासिक तथा धार्मिक महत्वको छोर्तेन पुनर्निर्माणको काम पनि अघि बढ्न नसकेकोमा गत वर्षको बजेटलाई चालु वर्ष पुननिर्माण सम्पन्न गर्ने गरी विभागले निरन्तरता दिएको विभागका अधिकृत देवेन्द्र भट्टराईले जानकारी दिए ।

यहाँको मौलिकता, कला, संस्कृति र ऐतिहासिक धरोहरलाई साविक बमोजिम पुनर्निर्माण गर्ने उद्देश्यले त्यसको सर्वेक्षणमा प्राविधिक टोली मुस्ताङ आएको भट्टराईले बताए ।

उनले पुरातत्वले यहाँ चलिआएको संरचना संरक्षण र सम्वद्धन गर्ने तरिकाले यहाँको वस्तुगत ड्रोइङ गरी लैजाने र पुनर्निर्माण गर्दा विगतको समयलाई प्रतिनिधित्व हुने गरी काम अघि बढाइने अधिकृत भट्टराईले जानकारी दिए ।

प्रसिद्ध धार्मिक स्थल मुक्तिक्षेत्रको ज्वालामाई घर भूकम्पको धक्काले क्षति पुगेकाले छिटोभन्दा छिटो पुन निर्माण अघि बढाइनुपर्ने स्थानीयको माग छ ।

यसअघि पुरातत्व विभागले ज्वालामाई घरको तल्लो भागमा कम्पाउन्ड वाल निर्माण गरेको थियो । अहिले ज्वालामाई घरमा त्यहाँका आनी झुमाहरुले जोखिम मोलेर नियमित नित्यकर्म गर्दैै आइरहेका छन् ।

ज्वालामाई घरको छतमाथिको गजुर भूकम्पले कोल्टो परेको छ भने घर संरचना समेत चिरा परेको स्थानीयको भनाइ छ । मुक्तिक्षेत्रको ज्वालामाई घरमा आनीझुमाले नियमित पूजापाठ गर्ने गर्छन् ।

ज्वालामाई घरभित्र दैवीशक्ति स्वरुप उत्पन्न ३ वटा ज्वाला छ । कतिपयले त्यहाँ ग्यास खानी रहेको अड्कल छ । ज्वालामाईको आगो निरन्तर रुपमा आफ्नै लयमा बलिरहेको हुन्छ । ज्वालामाईमाथि बुद्धका प्रतिमूर्ति राखिएको छ ।

मुस्ताङमा पर्यटक आकर्षण बढाउने ऐतिहासिक तथा धार्मिक सम्पदाहरु सदियौ वर्ष पुरानो रहेकाले यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिएको छ ।

मुस्ताङको तिब्बती कला, संस्कृति झल्कने गुम्बा, मठमन्दिर, छोर्तेन, माने र गुम्बाहरुले पर्यटकलाई आकर्षित गर्ने भएकाले यसको संरक्षण तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखिनुपर्ने स्थानीयको सुझाव छ ।

तपाईको प्रतिक्रिया