दसीका सामान लैजान अदालतको सूचना
समाधान संवाददाता, पोखरा
विभिन्न मुद्दामा दसीका रुपमा पेस भएका सवारी साधन लिलाम हुन नसक्दा कास्की जिल्ला अदालतमा अलपत्र छन् ।
विभिन्न घटनामा प्रमाण, अभियोगपत्रका साथ पेस भएका सामान दसीका सामान भनिन्छन् ।
दसीका सामानका रुपमा पेस भएका ५० मोटरसाइकल र ५ कार अहिले जिल्ला अदालतमा रहेको सूचना अधिकारी नील पनेरुले बताए ।
ती गाडीको लिलामबिक्री हुन नसक्दा अदालत परिसरमा सवारी पार्किङको समस्या छ ।
अब भने ती गाडी तथा अन्य दसीका सामान लिलाम हुने भएका छन् । लिलाम प्रक्रियामा जानुपूर्व अदालतले दसीका सामान फिर्ता लिन योग्यलाई फिर्ता लिन आउन ७ दिने सूचना निकालेको छ ।
विभिन्न मुद्दामा अभियोगपत्रका साथ दसीका रुपमा पेस भएका सामान फिर्ता लैजान अदालतको तहसिल शाखाले सूचना निकालेको हो ।
फैसला सुनाइएका मुद्दामा अदालतको आदेश बमोजिम दसी फिर्ता दिनुपर्ने सामानका लागि सूचना निकालिएको तहसिलदार हरिशचन्द्र गौतमले जानकारी दिए ।
सूचना अनुसार ७ दिनभित्र प्रमाणसहित अदालतमा पेस नभए सामानलाई लिलामीका लागि राखिने उनले बताए ।
जिल्ला अदालत नियमावली, २०७५ को नियम ९२(२) ले दसीका सामानलाई लिलामीका लागि राख्न सकिने व्यवस्था गरेको छ ।
नियमावलीको नियम ९२ को उपनियम (१) मा भनिएको छ, ‘सूचना दिँदा फिर्ता लिन नआएमा त्यस्ता मालसामान वा मालधनी पत्ता नलागेका मालसामान वा अदालतको अन्तिम फैसलाले जफत हुने ठहरेका मालसामान जिल्ला न्यायाधीशको अनुमति लिई तहसिलदारले लिलाम बिक्री गर्नुपर्नेछ ।’
तपाईको प्रतिक्रिया