उच्च अदालत पोखराका २ न्यायाधीशको विदाई

समाधान संवाददाता २०७७ पुष ७ गते १८:५७

समाधान संवाददाता, पोखरा

उच्च अदालत पोखराका २ न्यायाधीशको विदाई भएको छ । कामु मुख्य न्यायाधीश किशोर सिलवाल र न्यायाधीश विनोदमोहन आचार्यको मंगलबार विदाई गरिएको हो ।

आचार्यले ६३ वर्षे उमेद हदका कारण अनिवार्य अवकास पाएका हुन् भने सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त सिफारिस भएका छन् ।

Advertisement

संवैधानिक आयोगमा सिफारिस भएपछि सिलवालले न्यायाधीशबाट राजीनामा गरेका हुन् । संवैधानिक परिषदको मंसिर ३० को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव प्रेमकुमार राई, आयुक्तमा जयबहादुर चन्द र न्यायाधीश सिलवाललाई सिफारिस गरेको हो ।

२०१४ साल पुस ७ गते कास्कीको सार्दिखोलामा जन्मिएका आचार्यले ३९ वर्ष न्यायसेवामा बिताएका छन् । २०३८ सालमा नायब सुब्बाबाट सेवा प्रवेश गरेका उनी अधिकृत, उपसचिव, जिल्ला न्यायाधीश हुँदै उच्च अदालतको न्यायाधीश भएका हुन् ।

Advertisement

सुब्बामा ५, सरकारी वकिलमा १५, जिल्ला न्यायाधीशमा १६ वर्षको अनुभव हाँसिल गरेका उनी ४ वर्ष उच्च अदालतको न्यायाधीश भए ।

आचार्य २०५८ सालमा जिल्ला न्यायाधीश र २०७४ मा उच्च अदालतको न्यायाधीश भएका थिए । सुरुमा उच्च अदालत पाटनमा सेवा गरेका उनी जनकपुर हुँदै २०७६ भदौमा पोखरा सरुवा भएका हुन् ।

३९ वर्षे सेवा अवधिमा स्पष्टीकरणको क पनि दिनुनपरेको र हाकिमको कठघरामा उभिनु नपरेको आफ्ना लागि गर्वको विषय भएको आचार्य बताउँछन् ।

उनले नेपालको न्याय व्यवस्थाको संक्षिप्त रुपरेखा र लेख रचनाको संगालो गरी २ पुस्तक पनि निकालेका छन् ।

मंगलबारै आचार्यको नेपाल बार एसोसिएसन कास्की अदालत र उच्च अदालतले पनि विदाई गरेका थिए । उच्च अदालतमा आचार्य र सिलवालको विदाईमा कामु मुख्य न्यायाधीश नारायण श्रेष्ठ, न्यायाधीशहरु प्रमोदकुमार वैद्य, रमेशराज भण्डारी, डालकुमार खड्का र रजिस्ट्रार श्रीलाल पौडेल लगायत सहभागी भए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त सिफारिस न्यायाधीश किशोर सिलवाल काठमाडौं स्कुल अफ लका संस्थापकसमेत हुन् ।

कुनै समय पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुनका प्राध्यापक रहेका उनी कानुनी क्षेत्रमा प्राज्ञिक व्यक्तित्व मानिन्छन् ।

६३ वर्षे उमेरहदका कारण उच्च अदालतमा अझै ३ वर्ष काम गर्ने अवसर उनलाई थियो । तर अख्तियारको आयुक्त भएपछि उनले अख्तियारमा करिब ५ वर्ष बिताउने छन् । जिल्ला अदालत कास्कीले समेत मंगलबार बिहान न्यायाधीश सिलवालको विदाई गरेको थियो । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईसहितका न्यायाधीश र कर्मचारीहरुले सिलवालको विदाई गरेका थिए ।

तपाईको प्रतिक्रिया