लोमान्थाङमा बिजुलीको समस्या

समाधान संवाददाता २०७७ पुष ८ गते ११:१३

केन्द्रीय प्रशारण लाइनको पहँुच नभएको लोमान्थाङमा वितरित सोलार ऊर्जाको ब्याट्री पुरानो हुँदा समस्या आएको छ ।

एसके थकाली, जोमसोम

सन् २०१५ मा चीन सरकारबाट उपल्लो मुस्ताङको लोमान्थाङ गाउँलाई अनुदान स्वरुप प्राप्त ७० किलोवाटको सोलारको ब्याट्री खपत कम हुँदा लोमान्थाङमा बिजुलीमा समस्या देखिएको छ ।

Advertisement

यसअघि लोमान्थाङमा बनेको मिनी हाइड्रो पावर बन्द भएको थियो । केन्द्रीय प्रशारण लाइनको पहँुच नभएको लोमान्थाङमा ब्याट्री पुरानो हुँदा लोमान्थाङमा ऊर्जा संकट आएको हो ।

विस २०५७ मा लोमान्थाङमा अमेरिक हिमालयन फाउन्डेसन, एक्याप र स्थानीयको संयुक्त लगानीमा २९ किलोवार्ट मिनी हाइड्रो सञ्चालनमा आएको थियो ।

Advertisement

सन् २०१५ मा चीनले ७० किलोवाट सौर्य ऊर्जा उपलब्ध भएपछि मिनी हाइड्रो बन्द भएको स्थानीय बताउँछन् । सौर्य ऊर्जा जडानपछि गाउँलेले नै मिनी हाइड्रो स्थानीयलाई उद्योग खोल्न लिजमा दिए ।

लिजमा लिएका व्यक्तिले केही महिना उद्योग चलाए पनि त्यसपछि त्यो सदाका लागि बन्द भयो । उनको उद्योग बन्द भयो । तर ती व्यक्तिले हाइड्रो पावर गाउँलेलाई अझै हस्तान्तरण गरेका छैनन् । अहिले मिनी हाइड्रोका उपकरण खिया लागेर जीर्ण भइसकेका छन् ।

लोमान्थाङको पुरानो हाइड्रो २०७० सालदेखि बन्द छ । चीनले अनुदान स्वरुप उपलब्ध गराएको सौर्य उपकरण जीर्ण हुँदा लोमान्थाङमा बिजुलीको समस्या परेको हो ।

चीनले लोमान्थाङलाई ७० किलोवाटको सोलार बत्तीको सुविधा उपलब्ध गराउन २ सय ८० वटा सोलार प्यानल, ३ सय ६० थान ब्याट्री र अन्य उपकरण दिएको थियो । सोलार उपकरण जडान भएको २÷३ वर्षसम्म लोमान्थाङमा नियमित २४ सै घन्टा बिजुली आएको थियो ।

पछिल्लो २÷३ वर्षयता ब्याट्रीको क्षमता कम हुँदा लोमान्थाङमा बिजुलीको समस्या देखिएको सौर्य ऊर्जा अपरेटर ढिन्डुक गुरुङले जानकारी दिए । बर्खायाममा पर्यटकीय सिजन र स्थानीय गाउँमै रहने हुनाले सोलारको बिजुलीले ६ घण्टा पनि थेग्न नसक्ने उनले बताए ।

सोलार बत्ती वितरण समितिका उपाध्यक्ष झ्याम्पा ग्याचो गुरुङले सन् २०१५ मा चीनको अनुदानमा सौर्य ऊर्जा सहयोग गरेको भए पनि अहिले उपकरण जीर्ण हुँदा समस्या परेको बताए ।

समितिले प्रतियुनिट १३ रुपैयाँका दरले महसुल उठाउने गरेको छ ।

तपाईको प्रतिक्रिया