नेकपा कार्यालय बाँडफाँटको लफडा

समाधान संवाददाता २०७७ पुष ९ गते ११:५९

अनीश भट्टराई, पोखरा

मंसिर ५ मा गण्डकी प्रदेशसभा सदस्य मधु अधिकारी गुरुङ लमजुङको नेकपा जिल्ला कार्यालयमा थुनिइन् । आफू २ घन्टा थुनिएको उनले सुनाइन् ।

तत्कालीन नेकपा एमालेका कार्यकर्ताले आफूमाथि तथानाम गाली गरेको र लछारपछार पारेको उनको भनाइ थियो । ‘पार्टी कार्यालय गएकी थिएँ, मलाई २ घन्टा भित्रै थुने, गाली र लछारपछार पारे,’ गुरुङले भनिन्, ‘तेरो बस्ने अधिकार छैन, यो हाम्रो कार्यालय हो भन्दै निकाल्न खोज्दा मैले मानिनँ, भित्रै थुने ।’

Advertisement

लमजुङमा साविक नेकपा एमालेको पार्टी कार्यालयलाई नेकपा जिल्ला कार्यालय बनाइएको छ । साविक माओवादी केन्द्रको कार्यालयमा भने पार्टी अध्यक्ष अधिकारीको आवास छ ।

एकीकरण प्रक्रिया पूरा नुहँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि साविक एमाले र माओवादी केन्द्रका कार्यालय भवन स्वामित्वमा लफडा देखिन थालेको छ । त्यसको सुरुआत लमजुङबाट भएको छ ।

Advertisement

कार्यालयबारे अहिलेबाट नै झगडा थालेर ओलीपक्षले आफ्नो सभ्यता देखाएको लमजुङकी नेतृ अधिकारीले बताइन् । ‘नेताले जस्तो सिकायो, त्यस्तै सिके । अहिले नै केको झगडा गर्नुपर्‍यो ? पार्टी कहाँ फुटेको छ ?’ उनले प्रश्न गरिन् ।

गण्डकीको नेकपा प्रदेश पार्टी कार्यालय साविक नेकपा एमालेको कार्यालयमा छ ।

अहिले उक्त कार्यालयमा सशस्त्र प्रहरी बलको एक डफ्फा सम्भावित हुलदंगा रोक्न खटिएको छ । तर नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपाली जुन समूहले वैधानिकता पाउँछ, त्यो समूहले चलाउने र आफूहरु झगडामा नउत्रिने बताउँछन् ।

‘जुन समूहले वैधानिकता पाए पनि हामी स्वीकार गर्छौं,’ नेपालीले भने । पाण्डे अहिले बहुमत सदस्य प्रचण्ड–माधव पक्षमा रहेकाले आफूहरुले वैधानिकता पाउन सक्ने बताउँछन् । ‘तर, झगडा गर्न आए अर्कै कुरा,’ उनले भने ।

नेकपाको कास्की जिल्ला कार्यालय साविक नेकपा एमालेको कार्यालय शान्तिवनमा छ । साविक नेकपा माओवादीको पार्टी कार्यालय शिवालय चोकमा भने अहिले नगर पार्टी कार्यालय छ ।

नेकपा कास्की जिल्ला कमिटीमा ओली खेमा बलियो छ । अध्यक्ष कृष्ण थापा ओलीपक्षधर हुन् भने सचिव बखानसिंह गुरुङ प्रचण्ड पक्षका हुन् । जिल्ला पार्टी कार्यालय कास्कीको कार्यालय कुन पक्षले लिनेबारे सम्भावित लफडालाई ख्याल गर्दै सुरक्षाकर्मी खटाइएको छ । नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरी बलका १० जना सुरक्षार्थ त्यहाँ खटिएका छन् ।

तनहुँको नेकपा जिल्ला पार्टी कार्यालयलाई नेपाल प्रहरीले सुरक्षा दिएर राखेको छ । तर प्रचण्ड–माधव पक्षका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने आफूहरु पार्टी कार्यालयका लागि नलड्ने बताउँछन् । ‘जुन समूहले वैधानिकता पाउँछ, उसैले पार्टी कार्यालय पनि पाउँछ, हामी लड्दैनौं, बल लगाएर हुँदैन,’ न्यौपानेले भने ।

म्याग्दीमा भने लमजुङ घटना दोहोरिन सक्ने देखिन्छ । पार्टीका जिल्ला अध्यक्ष गोविन्द पौडेल प्रचण्ड–माधव पक्षका हुन् भने पार्टी सचिव हरिकृष्ण श्रेष्ठ ओलीपक्षधर ।

साविकको नेकपा एमालेको पार्टी कार्यालयमा अहिले जिल्ला पार्टी कार्यालय छ । साविक माओवादीले भने भाडामा कार्यालय चलाएको थियो । अध्यक्ष पौडेल कुनै हालतमा आफूहरु पार्टी कार्यालय नछाड्ने र झगडा भए रोक्न सक्ने तागत आफूसँग भएको बताउँछन् । सचिव श्रेष्ठसमेत आफूहरुको कार्यालय पहिलेबाट त्यही रहेकाले नछाड्ने ढिपी कस्छन् ।

पर्वतको पार्टी कार्यालयका लागि आफूहरु विवाद नगर्ने तर निर्वाचन आयोगको निर्णय अनुसार चल्ने पार्टी सचिव सुदीप कुँवर बताउँछन् ।

उनी प्रचण्ड–माधव पक्षधर हुन् । तर ओली पक्षधर लक्ष्मण गिरीले तत्कालीन माओवादीले अहिलेको पार्टी कार्यालयमा एउटा टेबलसमेत नल्याएको र नेकपाबाट माधव नेपाल पक्ष बाहिरिएकाले उनीहरुले पार्टी कार्यालयमा दाबी गर्न नसक्ने बताउँछन् । ‘हामीले नै उनीहरुको ऋण तिर्ने, एउटा टेबल नजोड्ने, पार्टीबाट जानेलाई हाम्रो सम्पत्ति किन दिने ?’ गिरी भन्छन्् ।

बागलुङमा प्रचण्ड–माधव पक्षको पल्ला भारी छ । जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा र सचिव यामनाथ गैरे (अनीश) दुबै प्रचण्ड–माधव पक्षका हुन् ।त्यहाँ ओली पक्ष कमजोर हुँदा कार्यालयमा प्रचण्ड—नेपाल पक्षले पकड जमाउन सक्ने देखिन्छ ।

स्याङ्जामा भने ओली पक्षले कार्यालय लिन सक्छ, त्यहाँका अध्यक्ष र सचिव दुवै ओली पक्षका छन् । जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेसाविक माओवादीका भए पनि ओलीपक्षमा लागिसकेका छन् । सचिव मीनप्रसाद गुरुङ पहिलेदेखि नै ओलीपक्षधर हुन् ।

मनाङ, मुस्ताङमा समेत अहिलेसम्म पार्टी कार्यकर्ता र नेतामा अहिलेसम्म वैमनश्य नदेखिएकाले पार्टी कार्यालयका लागि दाबी नगरिने देखिन्छ । नवलपुरमा भने ओली समूहले आफ्नो गुन्टा सारिसकेको छ ।

कावासोतीको १ घरमा भाडामा चलेको पार्टी कार्यालयबाट ओली समूहले आफ्नो सामान सारेर लगिसकेको छ । ओली समूहका एक कार्यकर्ताका अनुसार ती सामानमा अर्को पक्षले दाबी गर्न सक्ने भन्दै सामान सारिसकिएको हो ।

गोरखामा भने आफूहरु मिलेर कार्यालय बाँडफाँट गर्ने गोरखा जिल्ला सचिव प्रेम गुरुङ बताउँछन् । मदन–आश्रित स्मृति भवनमा सञ्चालित कार्यालयमा इतर समूहले हकदाबी नगर्ने र गरेपनि आफूहरु हार्दिकताका साथ बाँडफाँट गर्ने उनले सुनाए ।

‘पहिलो कुरा त मदन नामलेनै एलर्जी भएका साथीहरु त्यहाँ बस्नुहुन्न, खोज्नुभयो भने पनि हार्दिकताले हामी व्यवस्थापन गर्छौं,’ गुरुङले भने ।

तपाईको प्रतिक्रिया