प्रदेशस्तरीय क्रिकेटमा कास्की च्याम्पियन

समाधान संवाददाता २०७७ पुष ९ गते १२:०३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । कास्की लिग अन्तर्गतका ३ वटै खेलमा जित निकाल्दै ६ अंकका साथ च्याम्पियन बनेको हो ।

बुधबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ८६ रनको सानदार जित निकाल्यो । टस जितेको नवलपरासीले बलिङ रोजेपछि क्रिजमा उत्रिएको कास्कीले पूरै ५० ओभर खेल्दै ७ विकेट क्षतिमा २ सय १ रन बनाएको थियो ।

Advertisement

कास्कीको तर्फबाट अर्जुन कुमालले ७७ रन बनाए । १ सय २७ बलको सामना गरेका उनले १० चौका प्रहार गरे ।सुवास भण्डारीले ३४ रनको योगफल तयार पारे ।

नवलपुरको बलिङमा विशाल पौडेलले २ तथा विज्ञान गौतम, लक्की सापकोटा र कमल परियारले समान १ विकेट लिए ।

Advertisement

जितका लागि २ सय २ रनको लक्ष्य पछ्याएको नवलपुरले १ सय १५ रनमा सम्पूर्ण विकेट गुमायो । जसमा राहुल शर्माले ३२ तथा सन्देश बस्नेतले अभिजित २९ रन जोडे ।कास्कीको बलिङमा विपिन खत्री र दिपेश खत्रीले ३÷३ विकेट लिए । सुवास भण्डारीले २ तथा अमृत गुरुङ र देव शाहले १÷१ विकेट लिएका थिए ।

प्रतियोगिताका ३ खेलमा ८ विकेट तथा ५३ रन बनाएका कास्कीका सुवास भण्डारीले बेस्ट बलरका साथै म्यान अफ द सिरिजको उपाधि जिते ।कास्कीकै अर्जुन कुमाल उत्कृष्ट ब्याट्सम्यान भए । उनले ३ खेलमा कुल १ सय ४२ रन जोडेका थिए ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, क्षेत्रीय खेलकुद विकास समिति प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा बेस्ट ब्याट्स्म्यान घोषित अर्जुन कुमाललाई राखेप सदस्य गुरुङले नगद १० हजार सहयोग उपलब्ध गराएका थिए ।

गुरुङले खेलाडीले राष्ट्रका लागि धेरै योगदान दिएको उल्लेख गर्दै अब खेलाडीलाई पनि राष्ट्रले केही दिनुपर्नेमा जोड दिए । आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया