एकल महिला समूह गण्डकीमा प्रमिला

समाधान संवाददाता २०७७ पुष ९ गते १२:१२

समाधान संवाददाता, पोखरा

मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी अध्यक्षमा प्रमिला तझ्या निर्वाचित भएकी छन् । बुधबार भएको अधिवेशनबाट उपाध्यक्षमा अमृता सिग्देल (नवलपरासी), सचिव मीना अधिकारी (गोरखा), कोषाध्यक्ष चिनुमाया गुरुङ (तनहुँ) चुनिए । सदस्यमा अजिता शर्मा, खडककुमारी, हीरामति शाही र छन् ।

अधिवेशनअघि संस्थाले कुर्भे परियोजनाको सहयोगमा द्वन्द्व प्रभावित महिला र एकल महिलाहरुका लागि संक्रमणकालीन न्यायका लागि पहुँचबारे अन्तक्र्रिया भएको थियो । कार्यक्रममा द्वन्द्व पीडितहरु जसोदा शर्मा, अमृता सिग्देल, मनरुपा शर्मा लगायले आफ्ना पीडा सुनाएका थिए ।

Advertisement

कार्यक्रममा प्रदेशसभा सदस्य विन्दुकुमार थापाले राज्यका कार्यकारी पदमा पुगेकाहरु जिम्मेवार भए धेरै समस्या समाधान हुने बताए । विपक्षी दलको सदस्य भए पनि एकल र द्वन्द्वपीडित महिलाका समस्या सरकार समक्ष राख्ने र उनीहरुले गर्ने कामलाई सहयोग गर्ने थापाले प्रतिवद्धता गरे ।

कार्यक्रममा इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले कार्यपत्र प्रस्तुत गरिन् । उनले राज्य र विद्रोही दुवै पक्षसँग द्वन्द्वपीडितको एकीन तथ्यांक नभएको उल्लेख गरिन् ।

Advertisement

उनले राज्यले यो समस्या समाधानका लागि पहल नगरेको दाबी गरिन् । शर्माले भनिन्, ‘गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम र पञ्चवर्षीय योजनामा पनि यो विषय समावेश छैन ।’कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका एकल र द्वन्द्व पीडित महिला सहभागी थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पोखराका अधिकृत टंक खनाल, पोखरा ३० की वडा सदस्य रमा नेपाली, संकल्पका निवर्तमान क्षेत्रीय संयोजक दुर्गा न्यौपाने, शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बराल, मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जूना केसी, पुतलीबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बराल लगायतले बोलेका थिए ।

संस्थाका नवनिर्वाचित तझ्याले सबै पक्षसँग सहयकार्य, समन्वय गरी संस्थालाई अझ सशक्त बनाएर लैजाने प्रतिवद्धता गरिन् । उनले यस खालका छलफल, अन्तक्र्रिया अझै सान्दर्भिक भएको बताइन् ।

तपाईको प्रतिक्रिया