सरुवा रोग अस्पतालको सिइओमा डा गौचन

समाधान संवाददाता २०७७ पुष ९ गते २०:२८

रामशरण नेपाली, लेखनाथ

गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका ३० महोरियामा स्थापना गरेको संक्रमण तथा सरुवा रोग अस्पतालमा डा. विकास गौचनले बिहीबार कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका छन् ।

गत साउनमा गण्डकी प्रदेश सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश स्तरीय सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

Advertisement

गौचनले खुला प्रतिस्पर्धाबाट नियुक्ति पाएका हुन् । यसअघि उनी अछामको बयलपाटा अस्पतालमा स्वास्थ्य सेवा निर्देशक थिए । गौचनलाई गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

गौचनसँग स्वास्थ्य क्षेत्रको १० वर्षे अनुभव छ । संक्रामक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारीले प्रशासनिक लगायत सम्पूर्ण जिम्मेवारी समाल्दै आएका थिए । अस्पतालले कार्यकारी अधिकृत पाएपछि अस्पतालका गतिविधिहरु तीव्रताका साथ अगाडि बढ्ने विश्वास लिइएको छ ।

Advertisement

डा. गौचनले पदभार ग्रहण गर्दै आफ्नो सीप, क्षमता र दक्षताले भ्याएसम्म जनताको स्वास्थ्य सुधारमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य क्षेत्र मानवीय सेवाको कार्य पनि भएकाले यहाँका सबै सामाजिक संघसंस्थाहरुको सहकार्यमा अगाडि बढ्ने घोषणा उनले गरे ।

गण्डकी प्रदेशको मुस्ताङमा जन्मिएका डा. गौचनले आफ्नै क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त भएको सुनाए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. त्रिभुवन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका ३० का वडाध्यक्ष श्रीराम पोखरेलले योजना लिएर आए सहयोग गर्न तयार रहेको बताए ।

अस्पताल सञ्चालक समितिका संस्थापक अध्यक्ष डा. कालु शर्माले अस्पताको विकासका लागि आर्थिकदेखि प्राविधिक सहयोग गर्न आफू तयार रहेको विचार राखे ।

कार्यक्रममा तत्कालीन लेखनाथ सामुदायिक लायन्स अस्पताल सञ्चालक समितिका अध्यक्ष रमानाथ पौडेल, निवर्तमान अध्यक्ष मेजर रामप्रसाद गुरुङ र अस्पतालका कार्यालय प्रमुख केदार लामिछानेले अस्पतालका गतिविधि र भौतिक अवस्थाबारे जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया