बादलको साथ छोड्नेहरु भन्छन्ः रामराम मात्र भन्न सकिन्छ

समाधान संवाददाता २०७७ पुष १० गते १२:३५

अमृत सुवेदी, पोखरा

नेकपा २ टुक्रा भएर बेग्ला–बेग्लै कार्यक्रम भइरहँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने तटस्थ थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीले राजीनामा दिए पनि थापाले दिएका थिएनन् ।

थापाले बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिए । त्योभन्दा अगाडि गृहमन्त्री थापासँग उनका समूहले पटकपटक छलफल गरेका थिए । ६ गते यता थापा समूहको पटकपटक छलफल भएको थियो ।

Advertisement

‘प्रधानमन्त्री केपी शर्मा ओली साज्राज्यवादको पिछलगु बनेको, जनताले बनाएको संविधान कुल्चिएर संसद नै भंग गर्ने प्रतिगामी कदम चालेकाले विरोध गर्न थापासँग छलफल भएको थियो,’ नेता तथा नेकपा गण्डकी प्रदेशकी सहइन्चार्ज यशोदा सुवेदीले भनिन्, ‘तर, हाम्रो प्रयास केही लागेन । उहाँमा वैचारिक स्खलन आयो ।’

३ दिनसम्म लगातार बादलसँग छलफल भएको र ओली समूहमै जाने भएपछि साथ दिन नसकिने बताएको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । जनयुद्धको विरासतलाई बिर्सिएर बादलको पछि लाग्न नसकिने चुमानको भनाइ थियो ।

Advertisement

नेकपा प्रमुख सचेतक देव गुरुङ, सुवेदी, कानुनमन्त्री चुमान, अमृता थापामगर, श्रीराम ढकाल (प्रशान्त), लेखनाथ न्यौपाने, सुरेश आलेमगर, परसुराम रम्तेल लगायत गण्डकी प्रदेशका नेता थापा समूहमा थिए । थापाले ओलीलाई साथ दिए पनि थापालाई आफूहरुले साथ दिन नसक्ने उनीहरुले पहिले नै सामूहिक विचार मन्थन गरेको सुवेदीले जानकारी दिइन् ।

‘बादल कमरेड र प्रचण्डबीच विचार मिलेकै कारण एकता भएको थियो । पूर्व माओवादी र एमालेबीच पनि वैचारिक एकता भएको थियो,’ सुवेदीले भनिन्, ‘बहस गर्ने ठाउँहरु नै समाप्त पार्ने ओलीलाई बादलले साथ दिए । हामीले उहाँलाई साथ दिन सकेनौं ।’

समाजवादको दिशामा जान इन्कार गर्ने प्रधानमन्त्री ओलीलाई साथ दिएर बादलले ठूलो गल्ती गरेको उनको भनाइ थियो । ‘ओलीले पहिले पनि दलाल पुँजीपति वर्गलाई पोस्ने गतिविधि गरे । समाजवाद र साम्राज्यवाद फरक हुन् । ओली साम्राज्यवादको पिछलगु बने,’ सुवेदीले भनिन्, ‘दलाल पुँजीपतिलाई पोस्ने ओलीसँग बादलले साथ दिनु बिडम्बना पूर्ण भयो ।’

मन्त्री भएपछि बादलमा वैचारिक स्खलन भएको सुवेदीको आरोप छ ।

गण्डकी प्रदेशका पूर्व माओवादीतर्फका कुनै पनि केन्द्रीय सदस्यले बादललाई साथ दिन नसक्ने कानुनमन्त्री चुमानले बताए । ३ दिनसम्म विचार नमिलेको र चित्त नबुझेको के कुरामा हो छलफल गरेर जानलाई आग्रह गरिएको चुमानको भनाइ थियो ।

‘म उता (ओली समूह) गए पनि एकताकै पहल गर्छु, उहाँले भन्नुभयो । हामीले जानु नै गल्ती हुने बतायौं,’ चुमानले भने, ‘जनयुद्धका दोस्रो कमान्डर, विचार, राजनीतिमा पूरापूर खटेका मान्छे उहाँप्रति आस्था र विश्वास थियो तर टुट्यो ।’

संविधानमाथि नै हस्तक्षेप गर्ने र कुल्चने काम भएकाले प्रतिगमनको यात्रामा न जान पटकपटक आग्रह गरिएको उनको भनाइ थियो । जिल्ला तथा गाउँ कमिटीहरुमा बादल पक्षका केही ओली समूहमै रहे पनि आफूहरु प्रचण्ड–नेपाल समूहमै रहने चुमानले बताए ।

२ पार्टीकै रुपमा सरकारमा

गण्डकी प्रदेश संसदमा बादल समूहका ३ जना छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानसहित बागलुङका सांसद चन्द्र बुढा र दीपा रोकामगर बादल समूहका हुन् । सांसद रोकाले बादलले प्रतिगमनको बाटो रोजेको बताइन् ।

बादल ओली समूहमा रहँदा सांसदसमेत लाग्ने अनुमान धेरैको थियो । तर, उनीहरुले पूर्व माओवादीकै रुपमा प्रचण्ड–नेपाल समूहमा बसेका छन् ।

गण्डकी प्रदेश सभामा पूर्व माओवादीका १२ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १ जना गरी १३ जना छन् । ६० जनामध्ये ४० जना नेकपाको दुई तिहाई बहुमतको सरकार रहेको गण्डकी प्रदेशमा अब २ पार्टीकै रुपमा रहने कानुनमन्त्री चुमानले बताए ।

दल विभाजन भए पनि आधारिक नभइसकेकाले २ पार्टीकै हैसियतमा सरकार कायम रहने चुमानले बताए । ‘हिजो सरकार बन्दा पनि एकता भइसकेको थिएन । २ पार्टीकै हैसियतमा मन्त्री भएका हौं,’ चुमानले भने, ‘अब पनि २ पार्टीकै हैसियतमा सरकारमा रहन्छौं ।’

दुबै पक्षमा प्रदेश सरकार र मन्त्री पद के हुने भन्ने विषय आइनसकेको चुमानको भनाइ थियो । ‘राजीनामा दिनेबारे कुनै पनि छलफल भएको छैन । दुबैतिरबाट यो विषय आएका छैन । दिइहाल्नुपर्छ भन्ने हुँदैन,’ चुमानले भने, ‘मन्त्रीबाट उनीहरुले राजीनामा माग्ने कुरा नि भएन, हामीले दिने कुरा भएन ।’

तपाईको प्रतिक्रिया