मुख्यमन्त्री गुरुङको आग्रहः मिलेर सरकार चलाऔं

समाधान संवाददाता २०७७ पुष ११ गते १०:३३

ओली पक्ष नै वैधानिक र संस्थापक रहेको दाबी, सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी

अनीष भट्टराई/श्याम कुँवर, पोखरा

बागमती प्रदेशमा शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार पक्षधरले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली समूहका पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसको चर्चा गण्डकी प्रदेशमा पनि थियो ।

ओली समूहका राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले शुक्रबारै प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदेशस्तरीय युवा भेला गरेको थियो ।

Advertisement

त्यसका मुख्य वक्ता थिए, प्रदेश इन्चार्जसमेत रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

युवालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले आफूहरु नै संस्थापन र आधिकारिक भएको दाबीमात्र गरेनन्, प्रचण्ड–माधव समूहलाई पनि मिलेरै सरकारमा जान प्रस्तावसमेत गरेका छन् ।

मुख्यमन्त्री गुरुङले एउटै संसदीय दलबाट सरकारमा रहन आग्रह गरे । ‘साविक एमालेबाट २८ जना, साविक माओवादीबाट १२ जना, कांग्रेसको १५ जना, समाजवादीको २ र राष्ट्रिय जनमोर्चाको ३ जना हुनुहुन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘संघमा जेसुकै गरुन्, प्रदेशमा यही संसदीय दलमा रहेर जान म आग्रह गर्दछु ।’

अहिले बहकिने बेला नभएको भन्दै उनले प्रदेशले आफ्नो विकास रोकिने गरी संघको सिको गर्न नहुने बताए ।

गुरुङले संस्थापन को पक्ष भन्ने वैधानिक लडाईंमा आफ्नो समूहको पल्लाभारी हुने दाबी गरे।

‘कानुनी रुपमा हामी संस्थापन पक्ष हौं । दोस्रो अध्यक्षले नेतृत्व गरेको पार्टी मुलपार्टी बन्न सक्दैन,’मुख्यमन्त्री गुरुङले भने, ‘कुन पार्टी मुलधारको भन्ने वैधानिक लडाइँमा हाम्रो पल्लाभारी हुन्छ । हामीले सूर्य चिह्न पाउनेबित्तिकै उताको भकारी रित्तिन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतका लागि निर्वाचनमा जानु सबैभन्दा लोकतान्त्रिक र संवैधानिक भएको बताए ।

सरकारले पाएको जनादेश अनुसार काम गर्न नपाएपछि जनतामा जानु लोकतान्त्रिक भएको जिकिर गरे ।

‘काम गर्न नपाएपछि संसद विघटन गरेर जनतामा जाने काम संसारको सबैभन्दा लोकतान्त्रिक र संवैधानिक हो,’ उनले भने । विश्वको संसदीय शासन प्रणाली अनुसार काम गर्न नपाएपछि जनतामा जानुको विकल्प नभएको मुख्यमन्त्रीको भनाइ थियो ।

‘संसद विघटन प्रधानमन्त्रीले राजालाई बुझाएको हो ? होइन, सैनिक शासन लागु गर्न लागेको हो ? होइन,’ उनले भने, ‘सरकार बनाउने जिम्मा सार्वभौम जनतालाई दिइएको हो ।’

प्रचण्ड समूहले जनादेश अनुसार प्रधानमन्त्रीलाई काम गर्न नदिएर जनादेशको अपमान गरेको उनको जिकिर छ ।

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीले संविधानको धारा मिचेर संसद भंग गरेकाले असंवैधानिक भन्दै प्रचारमात्र गरिएको बताए ।

बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताको म्यान्डेट हुँदाहुँदै काम गर्न नदिएपछि संसद भंग गरेर जनतामा जानु संसदीय मूल्य मान्यताभित्रैको कुरा भएको उनको भनाइ थियो ।

‘धेरैलाई भ्रम छ, फेरि संसद पुनस्र्थापना हुन्छ कि माधवकुमार नेपालहरुको पक्षमा जान्छ कि भन्ने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसदीय छलफलै नगरिकन अविश्वास प्रस्ताव ल्याउने कुरा मर्यादाभित्र पर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘जनताको जनमतको अपमान गर्ने भएपछि अब यसको फैसला प्रधानमन्त्रीले होइन, जनताले नै गर्ने हो ।’

पार्टीको विधानमा बहुमत, अल्पमत नभई सहमतिको आधारमा काम गर्ने व्यवस्था राखिएपनि प्रचण्ड समूहले विधान मिचेर बहुमत, अल्पमतको कुरा ल्याएको गुरुङको भनाइ थियो ।

हामी विधान अनुसार नै चलेका छौं, विधान मिचेको उहाँहरुले हो । हामीले सूर्य चिह्न पाउनेबित्तिकै उहाँहरुको झोली रित्तिन्छ,’ मुख्यमन्त्री गुरुङले भने ।

नेपाली कम्युनिस्ट इतिहासको एक्लो नेता ओली भएको गुरुङको भनाइ छ । चीनको कम्युनिस्ट आन्दोलनलाई माओत्सेतुङले नेतृत्व गरेको र त्यसलाई देङ साओ पिङले अगाडि बढाएको सन्दर्भ जोड्दै गुरुङले ओलीले नेपाली कम्युनिस्ट आन्दोलनको अगुवाइ गरेको बताए ।

‘नेपाली देङ साओ पिङ ओली हुन्, माओ र पिङले गरेको काम ओलीले गरेका छन्,’ गुरुङको भनाइ थियो ।ओलीले नेतृत्व गरेको सिंगो कम्युनिस्ट आन्दोलनमा जनताको समर्थन रहेको उल्लेख गरे ।

निवर्तमान प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले प्रदेशमा अस्थिरता निम्त्याइए प्रदेशमा नयाँ ‘फेस’ ल्याइने चेतावनी दिए । बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सन्दर्भ जोड्दै उनले प्रदेश सभाहरु विघटन हुनसक्ने संकेत गरे ।

उनले भने, ‘उनीहरु (प्रचण्ड–माधव पक्ष) ले के बुझ्नुपर्छ भने प्रदेशमा पनि अस्थिरता निम्त्याउन खोजियो भने हामी प्रदेशमा पनि नयाँ फेस ल्याउन सक्छौं । एकैपटक संघर प्रदेशको निर्वाचनमा जान सक्छौं ।’
प्रचण्ड–माधव समूहले सूर्यको फन्को मारे पनि सरकार बनाउन नसक्ने उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीइतर समूहले माक्र्सवादको सिद्धान्तलाई भुलेको उनको आरोप थियो । माक्र्सवादीका रुपमा प्रचण्ड–माधव समूहले पद, पैसा र परिवारका लागि आफ्ना सिद्धान्त त्यागेको उनले जिकिर गरे ।

‘माक्र्सवादले फुटको विरोध गर्छ, राष्ट्रिय एकताको पक्षपोषण गर्छ, तर उहाँहरु भने आफ्नो सिद्धान्त छाड्नुभो,’ उनले थपे, ‘आफ्नो पद, पैसा र परिवारका लागि सिद्धान्त त्याग्ने कहिल्यै माक्र्सवादी बन्न सक्दैन ।’

अहिले पार्टीमा आफूहरुको पक्षमा केही व्यक्ति कम भएपनि विचारको कमी नभएको उनको भनाइ थियो । अब कम्युनिस्टहरु गलत चिन्तन र प्रवृत्तिसँग जुधेर नयाँ विचार बनाउने मार्गमा रहेको उनको जोड थियो ।

अधिकारीले विपक्षी समूहलाई बेलैमा चुनावी गतिविधिमा लाग्न सुझाए । ‘हारेपछि चिटिङ भो भन्नुभन्दा बेलैमा चुनावको तयारीमा लाग्नुहोस् । बरु चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्,’ उनले थपे, ‘डमी दलको नेता बन्नुभन्दा चुनाव जितेर नेता बन्नुहोस् ।’

प्रधामन्त्री केपी ओली नेतृत्वको सरकारले गुमेका नेपाली भूभागलाई नक्सामा अंकित गरेर विदेशीलाई राष्ट्रियता देखाएको उनको तर्क थियो । यदि ओलीको सट्टा अरु नेता भएको भए नाकाबन्दीमै घुँडा टेक्ने बताए । शुक्रबार माइतीघर मण्डलामा प्रचण्ड–माधव समूहका नेताले विरोध गरेकोमा कटाक्ष व्गरे ।

‘अरु भएको भए पहिल्यै घुँडा टेकिसक्थे, विदेशीको भरमा चल्नेले किसानसँग अंकमाल गर्नेलाई टक्कर नदिए हुन्छ,’ उनले भने, ‘माइतीघर मण्डलामा पलेटी कस्नेले बुझ्नुस्, केपी ओली राजनेता हो ।’

प्रधानमन्त्री ओलीले आफ्नो सम्पत्ति राष्ट्रियकरण गरेको भन्दै माधव नेपाललाई आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न चुनौती दिए । ‘कोटेश्वरको घरको मोह छाडेर के तपाइँले आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न सक्नुहुन्छ ?,’ उनले प्रश्न गरे ।

नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले अख्तियारका नवनियुक्त प्रमुख प्रेम राईलाई भ्रष्टाचारमा मुछिएका सबैलाई जेल हाल्न ‘खुट्टा नकमाउन’ सुझाएका छन् ।

अख्तियार, सेनामा आफ्नो मान्छे राख्नुपर्ने लबिङ गर्नेमाथि विशेष नजर राखेर कारागारमा पु¥याउन अब आँट गर्नुपर्ने उनको भनाइ थियो । ‘अख्तियारमा, सेनामा आफ्नो मान्छे कसले खोज्छ ? जसले गलत गरेको होस् । त्यस्तालाई खुट्टा नकमाइ जेल कोच्नुस्, युवाको साथ रहनेछ,’ उनले भने ।
ओम्नी प्रकरणमा प्रधानमन्त्रीलाई जोडिनु असान्दर्भिक भन्दै उनले भ्रष्टाचारीलाई ओलीले नै कारवाही गरेको जिकिर गरे । विदेशीको शक्ति लगाएर प्रचण्ड, गच्छदारले चुनाव जित्ने सामथ्र्य राखे पनि उनीहरुमाथि कारवाही हुनुपर्ने बस्नेतको भनाइ थियो ।

बस्नेतले प्रचण्ड–माधव पक्ष विदेशीको इशारामा चलेको आरोप लगाए । प्रचण्डकै कारण नेपालको विकास २ दशक पछाडि सरेको र अहिले उनले पार्टीमा गुटबन्दी गरेर विदेशीको इशारामा चल्न खोजेको उनको आरोप थियो ।

उनले नेकपा एमालेको तत्कालीन पार्टी कार्यालय बल्खु र चुनाव चिह्न सूर्यमा नजर नलगाउन धम्की दिए । ‘कार्की ब्याङ्केवट नै तपाइँहरुको ठाउँ हो, बल्खु, सूर्य चिह्न माथि नजर नलगाउनू,’ उनले भने । प्रधानमन्त्री ओलीले प्रचण्डलाई कारवाही गरेको एक दिनमै उनीहरु सडक झरेको भन्दै व्यङ्ग्य गरे ।

माइतीघर मण्डलामा प्रचण्ड, माधवनेपाल लगायतका नेता बसेको भन्दै उनले भने, ‘१ दिनमै सडकमा झर्नुभएछ, अब सडकछाप अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति बन्नुहोस् ।’

ओलीलाई अलोकप्रिय भन्नेहरुले चुनावमार्फत आफ्नो लोकप्रियता देखाउन सक्नुपर्ने उनको तर्क थियो । ‘हसिँया, हथौडा लिएर लोकप्रियता देखाउनुहोस्, चुनौती छ,’ उनले भने ।

भेलामा युवा संघका पूर्व नेताहरुले अब प्रचण्ड लगायतका नेता जेल चलान हुने बेला आएको बताए । युवा संघका पूर्व केन्द्रीय सचिव बच्चन सिंहले प्रचण्ड अब जेल जानुपर्ने बेला आएको बताए । ‘जनता, देशलाई घात गर्ने उहाँलाई अब जेलमा कोच्नुपर्छ,’ उनले भने ।

युवा संघका पूर्व उपाध्यक्ष माधव बास्तोलाले प्रचण्ड, माधव लगायतका नेताले आफूलाई चिनाउनुपर्ने बेला आएको भन्दै कटाक्ष गरे । प्रदेश सांसद तथा युवा संघका पूर्व अध्यक्ष राजीव पहारीले फेरि एक पटक युवाले देशलाई योगदान गर्ने बेला भएकाले जुनसुकै अवस्थाको सामना गर्न तयार रहन आग्रह गरे ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले कास्कीका सबै संघीय सांसद, पूर्व एमालेले जितेको महानगरका सबै वडा आफूहरुको पक्षमा रहेको दाबी गरे ।

पोखरामा गण्डकीस्तरीय भेलापछि ओली समूह छिट्टै गाउँ तहसम्म भेला र कार्यक्रम लिएर पुग्ने युवा संघ सहसंयोजक रमेश पौडेलले बताए ।

तपाईको प्रतिक्रिया