हरिनासका सडक कालोपत्रे हुँदै

समाधान संवाददाता २०७७ पुष ११ गते १०:४५

सुशील सुवेदी, वालिङ

हरिनास ४ का लीलबहादुर थापा ५८ वर्ष नाघे । गत वर्ष तनहुँको भिमादमा रासन किनमेल गर्न गएका थापाले बाटोमा जिप धकेल्नुपरेको थियो ।

सडक नराम्रो भएकै कारण वर्षात्मा सवारी साधन यात्रुले धकेल्नु यहाँ नौलो होइन ।

Advertisement

उनी भन्छन्, ‘सडक सञ्जालले हरिनास नजोडिएका कारण हामी धेरै दुर्गममा थियौँ । अहिले धेरै परिवर्तन भएको छ ।’

स्याङ्जाको हरिनास गाउँपालिकामा सडक निर्माणले तीव्रता पाएसँगै सर्वसाधारणले सहज महसुस गर्न थालेका छन् ।

Advertisement

पालिकामा पहिलोपटक १ हजार ३ सय मिटर सडक कालोपत्रे भएको छ भने विभिन्न सडक खण्ड अन्तर्गत ४५ किलोमिटर सडक कालोपत्रेको तयारी छ । तनहुँको भिमाददेखि राम्चेसम्म १८ किलोमिटर पुनर्निर्माणको बजेटबाट कालोपत्रे गर्न लागिएको हो ।

चित्रेदेखि राम्चेसम्मको काम अन्तिम चरणमा पुगेको छ । साँखेदेखि गाउँपालिका केन्द«सम्म १७ किलोमिटर र रातेपहरादेखि गिरकोटसम्मको १० किलोमिटर प्रदेश सरकारको कार्यक्रम अन्तर्गत कालोपत्रे गर्ने तयारी भएको छ ।

धमाधम सडक बन्न थालेपछि हरिनासबासीले वर्षात्मा सवारी साधन धकेल्नुपर्ने समस्या अन्त्य हुने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर बताउँछन् । उनी भन्छन्, ‘विकासको पहिलो पूर्वाधार नै सडक रहेछ । त्यसैले स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा पहिलोपटक पालिकामा कालोपत्रे सडक निर्माण गरेका छौं ।’

प्रत्येक शनिबार जनतासँग अध्यक्ष कार्यक्रम लिएर जनताको घर आँगनमा पुग्ने गरेका मानन्धरले पहिला जनताका समस्या बुझ्ने र समाधान गर्ने गरेका छन् । जनताको पहिलो माग सडक नै भएकाले यसलाई प्राथमिकतामा राखिएको वडा नं ४ का अध्यक्ष चिन्तामणि शर्माले बताए ।

यस क्षेत्रको किनमेल गर्ने प्रमुख बजार भिमाद र पोखरा भएका कारण सहज खाद्यान्न ओसारपसार गर्न र यहाँ उत्पादन भएको कृषि उपज निर्यात गर्नसमेत बाटोले सघाउनेछ ।

तपाईको प्रतिक्रिया