अब वडाको आफ्नै खाता

समाधान संवाददाता २०७७ पुष ११ गते ११:०२
sdr

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाका सबै वडाको बैंक खाता खुल्ने भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले खाताका लागि राष्ट्र बैंकले पठाएको पत्र शुक्रबार आफ्नो हातमा आएको जानकारी दिए ।

Advertisement

खाता खुलेपछि वडाले आफ्नो बजेट आफैं खर्च गर्न सक्ने छन् ।

महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा वडाध्यक्षहरुले आधा वर्ष सकिँदा पनि खाता नखोलिएको गुनासो गरेका थिए ।

Advertisement

कोरोना भाइरस संक्रमणका कारण विकासका काममा सोचेजस्तो प्रगति हुन नसकेको र वडाको विकास बजेट अपुग भएको, खाता सञ्चालन नहुँदा उधारोमा धेरै काम गर्नुपरेको उनीहरूको गुनासो छ ।

विशेषतः गाउँ विकास समितिबाट सिधै पोखरा महानगरमा गाभिएका वडाहरूले विकास बजेट थोरै हुनुलगायतका कारण जनअपेक्षानुसार काम हुन नसकेको सुनाएका थिए ।

मेयर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरुलाई निर्देशन दिएका छन् ।

उनले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताए ।

प्रमुख जिसीले सुशासनको प्रत्याभूत हुने गरी काम गर्न आग्रह गर्दै जिसीले वडाले भोग्दै आएको आर्थिक व्यवस्थापनको समस्या केही दिनभित्रै समाधान हुने उल्लेख गरे ।

महालेखा परीक्षकको कार्यालय र नेपाल राष्ट्र बैंकले महानगरका वडामा खाता सञ्चालनको अनुमति दिइसकेकाले विगतजस्तो समस्या नहुने उनको भनाइ छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाई मात्र दोष दिन नहुने विचार राखे । बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै उनले समस्या पहिचान गरी निकास दिने गरी काम गर्ने बताए ।

कर्मचारी र जनप्रतिनिधिको साझा लक्ष्य जनताको सेवा नै भएकाले एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष डा आरसी लामिछानेले विकास जहिले पनि चलायमान हुने भएकाले भोलिका सन्ततिले याद गर्ने किसिमको विकास आवश्यक भएको बताए ।

बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्ष र सचिवले ४ महिनाको अवधिमा गरेका भौतिक पूर्वाधारका काम बाटोघाटो, बिजुली, खानेपानी, पुलपुलेसा विकास निर्माण आदिबारे अवगत गराएका थिए ।

तपाईको प्रतिक्रिया