स्याउ कटिङमा व्यस्त मुस्ताङी

समाधान संवाददाता २०७७ पुष १२ गते ७:३९

एसके थकाली, जोमसोम

मुस्ताङका किसान यति बेला स्याउ बगैंचा व्यवस्थापनमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको दोस्रो हप्तासम्म यहाँका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइ/नभ्याई हुन्छ ।

मुस्ताङको स्याउ बगैंचामा लटरम्म फलेका स्याउ बोटबाट टिपेर बजार पुर्‍याएपछि अहिले स्याउका बोट नांगा र उजाड भएका छन् ।

तिनै उजाड स्याउका बोट काँटछाँट र त्यसको व्यवस्थापनमा किसान जुटेका हुन् ।

स्याउको उपयुक्त बगैंचा व्यवस्थापनमा कृषकले ध्यान नदिँदा स्याउ बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले बगैंचा व्यवस्थापन अनिवार्य हो ।

किसानले स्याउ बगंैचा व्यवस्थापनका साथै खेर गएका र प्रयोगविहीन बाँझो जमिनमा समेत नयाँ स्याउका बिरुवा लगाउन सुरु गरेका छन् ।

स्याउका बिरुवामा अन्य जातका स्याउ बिरुवालाई जोडेर ग्राफ्टिङ गर्छन् । एउटै स्याउ बिरुवामा विभिन्न जातका स्याउका बेर्ना ग्राफ्टिङ गर्दा फरक फरक जातका स्याउको फल दिने भएकाले यसो गरिएको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिका ४ का कृष्णगण्डकी कृषक समूहका अध्यक्ष राजेन्द्र शेरचनले गुणस्तरीय स्याउ उत्पादनका लागि स्याउ कटिङ अनिवार्य भएको बताए ।

उनले स्याउ कटिङ नगरेमा र बिनातालिम गर्नाले उत्पादन क्षमतासँगै गुणस्तरमा समेत ह््रास आउने भएकाले दीर्घकालीन स्याउ उत्पादन वृद्धि गराउन उपयुक्त बगैंचा व्यवस्थापन आवश्यक भएको औंल्याए । स्याउ बगैंचामा रहेका बोटका पूरै पत्ता झरिसकेपछि स्याउ कटिङ गरी आवश्यक औषधी छर्किनुपर्ने अध्यक्ष शेरचनले जानकारी दिए ।

मुस्ताङमा स्थानीय यतिखेर स्याउ कटिङमा लागेका छन् । बर्सेनि स्याउका बोटमा फैलिने अनावश्यक हाँगाबिँगाको उपयुक्त व्यवस्थापन गर्न आवश्यक हुन्छ ।

स्याउको बोटमा फैलिने हाँगाबिँगाको उपयुक्त काँटछाँट गरेमात्र सूर्यको प्रकाश बोटको चारैतर्फ पुग्न सक्छ ।

कटिङ गरेपछि स्याउ बगैंचामा आवश्यक मलजल गर्ने र स्याउको बोटमा लाग्ने विभिन्न प्रकोप नियन्त्रण गर्न विभिन्न किटनाशक औषधी छर्किने र आवश्यक सिँचाइको व्यवस्था पु-याउन सकेमात्र स्याउ बोटले राम्रो फल दिन सक्छ । जिल्लाका ५ वटै स्थानीय तहमा अहिले स्याउ बगैंचा व्यवस्थापन तथा स्याउ कटिङ गर्न किसानले लागेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका ४ का कृष्णगण्डकी कृषक समूहका सचिव अजित थकालीले मुस्ताङको मुख्य खेती स्याउले जिल्लाको आर्थिक क्षमता उकास्न योगदान पु-याएको बताए । सचिव थकालीले मुस्ताङमा बर्सेनि पुसदेखि माघसम्म स्याउ बगैंचा व्यवस्थापनको चटारो हुने जनाए ।

स्याउ बोटको अनावश्यक हाँगा नियन्त्रण नगर्दा सूर्यको प्रकाशलाई अवरोध गर्ने र यसले फल लाग्न नदिने उनको भनाइ छ । स्याउ बोटमा कटिङ गरेर प्रकोप नियन्त्रण गर्न सर्भो र डर्मिन आयल छर्किने र बोटको फेदमा बोरो पेस्ट लगाउनुपर्ने उनले जानकारी दिए ।

कृषि र पर्यटन मुख्य आम्दानीको स्रोत बनेको मुस्ताङमा पछिल्लो समय यहाँका किसानमा स्याउ खेतीतर्फ निकै आर्कषण बढेको छ । यहाँका किसानले स्याउ बगैंचाभित्र उवा, फापर, सिमी, बोडी र अन्य तरकारीसमेत लगाएर दोहोरो फाइदा लिने गरेका छन् ।

घरपझोङ ४ का स्याउ किसान दिनेश थकालीले हिउँद यामको पुस र माघ स्याउ कटिङ गर्ने समय भएको बताए । स्याउको उत्पादन क्षमता वृद्धि तथा गुणस्तरीय स्याउ उत्पादनका लागि बगैंचा व्यवस्थापन अनिवार्य हुने उनले जनाए ।

उनले स्याउको बगैंचा व्यवस्थापनका लागि कृषि विज्ञहरुको तालिम अनिवार्य हुने र यसका लागि स्थानीय तह र सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने थकालीको सुझाव छ । स्याउ बगैंचा व्यवस्थापनका चाहिने उपकरण स्याउ जोनले ५० प्रतिशत अनुदानमा दिने गरेको छ भने विषादी स्थानीय तहले उपलब्ध गराएका छन् ।

मुस्ताङका ५ स्थानीय तहको १५ सय हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । जसमध्ये ५ हेक्टर जमिनमा लगाइएको स्याउले उत्पादन दिने गरेको छ ।

यस वर्ष कोरोना माहामारीमा समेत ७१ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । यस वर्ष मुस्ताङबाट ७१ करोडको स्याउ निर्यात भएको स्याउ जोन मुस्ताङले जनाएको छ ।

पछिल्लो समय मुस्ताङका किसानले सामुदायिक स्याउ खेती विस्तारमा समेत जोड दिएका छन् । यस वर्ष स्याउ जोन मुस्ताङ र गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहुलियतमा २० हजार थान उच्च घनत्वको इटालियन जातका स्याउका बेर्नासमेत लगाइएको छ ।

तपाईको प्रतिक्रिया