मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता

समाधान संवाददाता २०७७ पुष १२ गते ११:३३

विराटनगर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा गएको टोलीले केहिबेरअघि संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो । ३७ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको संसद् सचिवालयले जनाएको छ ।

Advertisement

दाहाल-नेपाल पक्षले अविश्वासको प्रस्तावसँगै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ ।

यसअघि संसदीय दलको निर्वाचनमा उनी राईसँग २ मतले पराजित भएका थिए। आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी छन्।

Advertisement

आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफै लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन्। पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन्। प्रदेशसभामा नेपाली कांग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन्।

मुख्यमन्त्री राईविरूद्व अविश्वास प्रस्ताव दर्ता गर्नुअघि सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास थारूले राजिनामा दिएका थिए।

शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधि सभा विघटन भएसँगै नेकपा विभाजित भएपछि प्रदेश सरकारहरु धरापमा परेका हुन् ।

तपाईको प्रतिक्रिया