गुरुङ सरकारलाई जनमोर्चाको समर्थन

समाधान संवाददाता २०७७ पुष १२ गते २१:४५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ फ्याक भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो ।

गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समर्थक पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्को समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न गाह्रो पर्ने सबैको अनुमान थियो । तर जनमोर्चाले सरकारलाई समर्थन गर्ने भएपछि गुरुङ नेतृत्वको सरकार पनि यथावत रहन सक्ने सम्भावना नजिक देखिएको छ ।

Advertisement

प्रधानमन्त्री ओली समूहबाट गण्डकीमा २७ जना सांसद छन् । जनमोर्चाले साथ दिँदा ३० जना पुग्नेछन् । ६० सदस्यीय गण्डकी प्रदेशमा १ जना नेपाल पक्ष र १२ जना प्रचण्ड पक्षका सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन १ चौथाई सांसद चाहिन्छ । तर, जनमोर्चाले साथ दिँदा बलियो ओली समूह नै देखिएको छ ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले भने, ‘संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्माको कदमलाई विरोध गर्ने तर प्रदेश सरकारलाई समर्थन गर्ने हाम्रो निर्णय भएको छ ।’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समर्थन गर्न आग्रह गरेकाले समर्थन कायम राखिएको थापाले बताए । ‘तपाईंहरुले हामीलाई समर्थन कायम राखिदिनुपर्‍यो भनेर मुख्यमन्त्रीले भन्नुभयो,’ थापाले भने, ‘संघमा जे भए पनि प्रदेश सरकारलाई हाम्रो समर्थन रहन्छ ।’

Advertisement

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि तत्काललाई सरकारबाट नहट्ने बताइरहेको छ । कानुनमन्त्री हरिबहादुर चुमानले तत्काल सरकारबाट हट्ने विषयमा छलफल नभएको बताएका थिए ।

प्रदेश १ र बागमतीमा दाहाल–नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याए पनि गण्डकीमा त्यस्तो नहुने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । ‘गण्डकीमा सरकार यथावत रहन्छ । उहाँहरुको विरोध संघलाई हो, प्रदेशलाई होइन,’ गुरुङले भने, ‘यहाँ अहिलेकै सरकारलाई बहुमत पुग्ने निश्चित छ ।’

गण्डकी प्रदेश सरकारमा कानुनमन्त्री चुमान र कृषि मन्त्री लेखबहादुर थापा प्रचण्ड पक्षका हुन् । प्रदेश सभामा अर्थ तथा विकास समिति सभापति दीपक कोइराला प्रचण्ड पक्षकै छन् । १५ जना सांसदको प्रतिनिधित्व गरेको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वासको प्रस्तावबारे कुनै तयारी नरहेको बताएका छन् ।

जनमोर्चाको समर्थन पक्का भएपछि मुख्यमन्त्री गुरुङको प्रतिक्रिया छ—हाम्रो सरकार तलमाथि हुँदैन । तर सरकार ढाल्न प्रयत्न भइरहेको भने उनले स्वीकारे । ‘अब हाम्रो सरकार बन्छ, बहुमत पुग्छ भनेर यहाँको अरु पार्टीहरु नेपाली कांग्रेस, जनमोर्चा र जनता समाजवादीसँग कुराकानी गरिरहेको मैले बुझेकै छु,’ उनले भने, ‘तर उहाँहरुलाई गाह्रो छ । यहाँको सरकार तलमाथि हुँदैन ।’

सरकारमा सामेल दाहाल नेपाल पक्षधर मन्त्रीहरु तथा समूहलाई मुख्यमन्त्रीले सरकार नछाड्न र मिलेरै बस्न आग्रह गरेका छन् । उनले भने, ‘राजनीतिमा तपाईंहरु स्वतन्त्र छ । आफू आफू काँकाँ जाने भन्ने कुरा रोज्नोस् । तर सरकार किन परिवर्तन गर्नुप¥यो ?’ जनताले पनि पार्टी फुट र सरकार ढलेको हेर्न नचाहेको उनले बताए ।

तपाईको प्रतिक्रिया