वेंसी झर्न नपाएका मुस्ताङीलाई घरमै राहत

समाधान संवाददाता २०७७ पुष १३ गते ८:१६

एसके थकाली, जोमसोम

कोभिड—१९ को जोखिमका कारण यस वर्ष बेसी झर्न नपाई हिउँदे व्यापार, व्यवसाय गुमाउन बाध्य भएका उपल्लो मुस्ताङीलाई डेढ करोडको खाद्यान्न लगायतका सामग्री वितरण गरिएको छ ।

अमेरिका हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा जिग्मे ग्याल्पो फाउन्डेसनको समन्वयमा उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ती वितरण गरिएको हो ।

Advertisement

फाउन्डेसनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिकाका ५ सय ६० घरधुरी र लोघेकर दामोदरकुण्ड गाउपालिकाका ५ सय ५० घरधुरी गरी १ हजार १ सय १० घरधुरीलाई राहत वितरण गरेको जिग्मे ग्याल्पो फाउन्डेसनका कोषाध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

उपल्लो मुस्ताङंमा जिल्ला बाहिरबाट आई ज्याला, मजदुरी गर्नेहरुलाई समेत खाद्यान्न प्रदान गरिएको छ ।

Advertisement

फाउन्डेसनका कोषाध्यक्ष विष्टका अनुसार उपल्लो मुस्ताङका २ स्थानीय तहका प्रत्येक वडाका स्थानीयलाई २५ केजीको चामल ३ बोरा, चिनी १५ केजी, दाल १५ केजी, नून १५ केजी र खानेतेल ५ केजी प्रदान गरिएको छ । उनले फाउन्डेसनले उपल्लो मुस्ताङको ऐतिहासिक, सामाजिक, धार्मिक र सांस्कृतिक उत्थानमा सहकार्य गर्ने बताए ।

फाउन्डेसनले ती सामग्री स्थानीयको घरदैलोमै पुगेर वितरण गरेको हो । राहत वितरणमा फाउन्डेसनका संस्थापक सचिव छेवाङ विष्ट, कोषाध्यक्ष लोप्साङ छोम्फेल विष्ट र सहकोषाध्यक्ष घ्याचो गुरुङ सहभागी भएका थिए । राहत वितरणमा उपल्लो मुस्ताङका सांस्कृतिक राजा जिग्मेसिङमे पलवर बिष्ट भने बिरामी परेकाले सहभागी हुन पाएनन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङका २ स्थानीय तहमा अमेरिका हिमालयन फाउन्डेसनले शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण र उपल्लो मुस्ताङका युथ क्लबको उत्थान र विकासमा सहकार्य गर्दै आएको छ । उपल्लो मुस्ताङका गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षाका लागि फाउन्डेसनले ठूलो लगानी गरेको छ ।

बर्खे एक वालीले ४ महिना पनि नथेग्ने उपल्लो मुस्ताङीको जीविकोपार्जनको अर्को विकल्प हिउँदे व्यापार हो । सदियौंदेखि जाडो समयमा बेंसी झरेर घुम्ती व्यापार गर्ने उनीहरु यसपटक कोरोना कहरका कारण गाउमै बस्न बाध्य छन् । गाउँमै आएर राहत वितरण गरी फाउन्डेसनले ठूलो गुन लगाएको लोमान्थाङ ४ छोसेरका कर्मा नाम्ग्याल गुरुङले बताए ।

तपाईको प्रतिक्रिया