मुस्ताङमा ओली पक्षको वर्चश्व

समाधान संवाददाता २०७७ पुष १३ गते ८:२०

एसके थकाली, जोमसोम

१ संघीय, २ प्रदेश निर्वाचन क्षेत्र र ५ स्थानीय तह रहेको मुस्ताङमा नेपाल कम्युनिस्ठ पार्टी ओली पक्षको वर्चश्व देखिएको छ । केही स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष भने अब कुन पक्षमा लाग्ने भन्नेमै अलमलमा छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मुस्ताङका प्रतिनिधि सभाका पूर्व सांसद प्रेमप्रसाद तुलाचन ओली समूहमा खुलेका छन् । उनी ओलीको महाधिवेशन आयोजक समिति सदस्यसमेत बनेका छन् ।

Advertisement

मुस्ताङको प्रदेश कबाट सांसद बनेका ईन्द्रधार बिष्ट र प्रदेश समानुपातिक सांसद तथा नेकपा जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन ओली नेकपामै लागेका छन् । प्रदेश सांसद महेन्द्रबहादुर थकाली भने कुन पक्षमा जाने भन्ने अलमलमा छन् । उनले उपयुक्त समयमा ठोस निर्णय लिने बताए ।

मुस्ताङ जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ पनि ओलीकै समर्थनमा देखिएकी छिन् ।

Advertisement

उपल्लो मुस्ताङको लोमान्थाङ पालिकाका अध्यक्ष, उपाध्यक्षसहित ५ वटै वडाध्यक्ष नेपाली कांगेसका हुन् । लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र उपाध्यक्ष ढोका गुरुङ ओली पक्षमा लागेका छन् । लोघेकरका ५ वडामध्ये ४ मा कांग्रेसका वडाध्यक्ष छन् । लोघेकर वडा १ मा नेकपाबाट वडाध्यक्ष बनेका टसीढिन्डुक ठकुरीले आफु ओली पक्षमा रहेको जानकारी दिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा नेकपाले उपाध्यक्ष र २ वडा जितेको थियो । त्यहाँको वडा —५ का वडाध्यक्ष राप्के गुरुङले आफू ओली कित्तामा भएको बताए । तर, वडा १ का वीरबहादुर गुरुङ र उपाध्यक्ष ढिकी गुरुङ भने कुन पक्षमा जाने भन्नैमा अलमलमा छन् ।

उनीहरुले अहिले नै यसबारे निर्णय लिन नसक्ने उल्लेख गरे । थासाङ गाउपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ३ वडामा काँग्रेसले जितेको थियो भने थासाङ २ र ४ मा नेकपाले जितेको थियो ।

थासाङ २ का वडाध्यक्ष नरप्रसाद हिराचन ओली पक्षमा लागेका छन् भने थासाङ ४ का वडाध्यक्ष विशाल शेरचनले आफू तटस्थ रहेको जानकारी दिए । उनले सूर्य चिह्न कुन पक्षले पाउछ, त्यही नेकपामा लाग्ने स्पष्ट पारे ।

घरपझोङ गाउपालिकाकी उपाध्यक्ष शर्र्मिला गुरुङ ओली पक्षको महाधिवेशन आयोजक समिति सदस्य बनेकी भएकी छिन् भने अध्यक्ष आशबहादुर थकालीसँग सम्पर्क हुन सकेन ।

घरपझोङ १ र ३ का नेकपाका वडाध्यक्ष आइतलाल थकाली र महेन्द्र थकालीले कुन पक्षमा लाग्ने भन्ने बारेमा आफूहरु अलमलमा रहेको जनाएका छन् । उनीहरुले उपयुक्त समयमा यसबारे निर्णय लिने जनाएका छन् ।

नेकपा मुस्ताङ इन्चार्ज श्रीमाया थकाली प्रचण्ड माधव पक्षमा छिन् । उनी यसअघि नै माधव पक्षमा थिइन् ।

उनले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको कदम असंवैधानिक भएको टिप्पणी गरेकी थिइन् । मुस्ताङमा नेकपा एकीकरण अघिका कतिपय एमाले र माओवादी कार्यकर्ता नेकपाको कुन पक्षमा छन् भन्ने अझै प्रष्ट भएको छैन ।

तपाईको प्रतिक्रिया