प्रधानमन्त्री संविधान सिध्याउने खेलमा लाग्नुभयो: देव गुरुङ

समाधान संवाददाता २०७७ पुष १४ गते ७:१४

समाधान संवाददाता, पोखरा

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का स्थायी समिति सदस्य देव गुरुङले चिनियाँ कम्युनिस्ट पार्टीको शुभेच्छा र परामर्शबारे प्रश्न उठाउनुको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका छन् ।

नेपालको गणतन्त्रको रक्षा, सामाजिक र आर्थिक विकासका लागि चिनियाँ पार्टीसँग आदर्शको सम्बन्ध रहेको उनले बताए ।

Advertisement

‘दुई पक्षको आदर्श र नमुना सम्बन्ध छ । ऐतिहासिक प्रगाढ सम्बन्ध रहेको पृष्ठभूमिमा चिनियाँ कम्युनिस्ट पार्टीको परामर्श र सदशयताबारे कुनै प्रश्न उठाउनुको औचित्य छैन,’ सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली संविधान सिध्याउने खेलमा निरन्तर लागिपरेको उनले आरोप लगाए । ‘प्रधानमन्त्री संविधान सिध्याउन लगातार लाग्नुभएको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नामै परिवर्तन गर्नुभयो । नाम परिवर्तन त संविधान संशोधनको कुरा हो । यो सिस्टममाथिको आक्रमण हो ।’

Advertisement

उनले प्रधानमन्त्री संसद विघटन गरेर प्रतिगमनको बाटोमा लागेको बताए । अहिलेको घटना २०१७ र ज्ञानेन्द्र शाही सरकारले चालेको ‘कू’सँग सम्बन्धितरहेको उनको दाबी छ । प्रधानमन्त्री ओलीको कदम खारेजीको विकल्प नभएको उनले सुनाए ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा निर्णय नगर्ने विश्वास व्यक्त गरे । सर्वोच्चले प्रधानमन्त्रीलाई साथ दिए नेपालमा जंगी शासन सुरु हुने नेता गुरुङले बताए । उनले भने, ‘किनकि यो आदेश दिनुको तात्पर्य भनेको संसद प्रधानमन्त्रीको जेथा हो । प्रधानमन्त्रीले ६÷६ महिनामा, वर्ष दिनमा विघटन गर्ने सम्भावना बढ्छ ।’

संविधानले संसद विघटन परिकल्पना नगरेकाले सर्वोच्च प्रधानमन्त्रीको पक्षमा गए संविधानको भविष्य सकिने उनको भनाइ छ । प्रधानमन्त्रीले निरंकुश फाँसीवादको अध्यास गरिरहेको नेता गुरुङले आरोप लगाए । प्रधानमन्त्रीले प्रदेश संसद पनि विघटन गर्छु भन्नु प्रदेश सरकार र सांसदको अधिकारको दुरुपयोग भएको नेता गुरुङको जिकिर छ ।

आफूले प्रधानमन्त्रीको एउटा प्रस्तावमाथि प्रतिक्रिया जनाउँदा संसदीय दलको सचेतकबाट राजीनामा मागिएको उनले सुनाए । ‘फरक मत राखेको आधारमा राजीनामा दिनु तर्क संगत हुँदैन । पार्टी नेता, अध्यक्षको सहमतिमा निर्णय गरिएको हो,’ उनले भने, ‘त्यसैले पार्टी कमिटीबाट निर्णय गर्नुस् भनें । उहाँले सक्नुभएन ।’

ओलीले गत महिना प्रमुख सचेतकबाट गुरुङको राजीनामा मागेका थिए । पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बाध्यकारी अवस्था नहुँदै संसद विघटन गरेको दाबी गरे ।

‘बिहानै ८ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद विघटन र निर्वाचन घोषणा गरियो,’ उनले भने, ‘संविधानको मर्म र नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई आवेगमा आएर कदम चालियो ।’

गत शनिबार नेता गुरुङ र देबेन्द्र पौडलसहित प्रदेश कमिटीका पदाधिकारीको उपस्थितिमा विस्तारित बैठक बसेको थियो । २ सय १६ सदस्यमध्ये १ सय १० जना उपस्थित भएको र केहीले उपस्थित हुन नसकेको जानकारी दिएको नेकपा प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया