लिट फेस्टमा आज यी ८ सेसन हुनेछन्

समाधान संवाददाता २०७७ पुष १४ गते ६:००

समाधान संवाददाता, पोखरा

छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ
मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ
बास्ना त तिमीले चपाएको चुइगम हो
तीतो हुँदै जान्छ एकछिन चपाइरहनुपर्छ ।

प्रस्तुत सेयर हुन, गजलकार प्रदीप रोदनका । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करणका अवसरमा सोमबार आयोजित शुभारम्भ साँझमा रोदनले गजल वाचन गरिरहँदा फेस्टिभलको माहोल तात्दै थियो । सराङकोटस्थित सराङकोट माउन्टेन रिसोर्टमा आयोजित शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल जम्यो ।

Advertisement

मंगलबार सुरु हुने फेस्टिभलको औपचारिक उद्घाटनअघि गजल मेहफिलको कार्यक्रम राखिएको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ । रोदनले सुवेदीसँग संवादसँगै १० भन्दा बढी गजल वाचन गरे ।

साहित्य साधना प्रतिष्ठान गोरखाका महासचिव प्रदीप रोदन दमदार गजल र प्रस्तुतिले चर्चित छन् । नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका उनले फेस्टिभलमा प्रेमदेखि राजनीतिक एवम् समसामयिक विषयका विविध गजल सुनाए ।

Advertisement

कार्यक्रममा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरालाई साहित्यका माध्यमबाट चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए ।

सांस्कृतिक एवं पर्यटकीय सहर पोखरालाई साहित्यका माध्यमबाट पनि चिनाउनुपर्छ भनेर आफूहरुले फेस्टिभल आयोजना गरेको बताए । ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’

फेस्टिभलको यो संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन् । भर्चुअल भएकाले यस पटक दर्शकको उपस्थिति छैन ।

फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण गरिने छ । साथै डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ ।

मंगलबार ‘साहित्यको अर्थ’ सेसनमा विश्व पौडेलले विद्वत प्रवचन दिनेछन् । उद्धघाटन सेसन बिहान ९ बजे हुनेछ । त्यसपछिको सेसनमा मदन पुरस्कार विजेता उपन्यास महारानीका लेखक चन्द्रप्रकाश बानियाँसँग पत्रकार राजकुमार बानियाँले ‘महारानीको राजनीति’ शीर्षकमा छलफल चलाउनेछन् ।

‘कर्मठ केटीहरु’ सेसनमा गैरसरकारी संस्था सोचाइकी प्रमुख कार्यकारी अधिकृत बोनिता शर्मा, खाली सिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक आयुषी केसी र अलोइ टेक्नोलोजिजी सहसंस्थापक सोनिका मानन्धरसँग खोज पत्रकारिता केन्द्रकी कार्यक्रम व्यवस्थापक आभाष्ना पाण्डेले भलाकुसारी गर्नेछिन् ।

‘के सम्पदा, के बसोबास’ सेसनमा साँस्कृतिक सम्पदा संरक्षक रवीन्द्र पुरी र वास्तु एवम् ग्रामीण विकासविज्ञ मिलन बगालेसँग वृत्तचित्र निर्माता आलोकसिद्धि तुलाधरले बहस गर्नेछन् । ‘कोरोनापछिको सिनेमा’ सेसनमा फिल्मकर्मी भास्कर ढुंगाना, मीन भाम र प्रियंका कार्कीसँग पत्रकार यज्ञशले छलफल गर्नेछन् ।

‘पढ्ने–पढाउने हुटहुटी’ सेसनमा कारागारमा पुस्तकालय निर्माण अभियन्ता हरि खनाल, लेखक बिकेश कविन र विद्यार्थी मनुश्री महतसँग पत्रकार स्वेच्छा राउतको कुराकानी हुनेछ ।

‘कोरोनाले गलाएको जनस्वास्थ्य’ सेसनमा सहभागी छन्, संक्रामक रोग विशेषज्ञ चिकित्सक डा.अनुप सुवेदी, डा.अनुप बास्तोला, डा.रोलिना धिताल र पत्रकार सोबिता गौतम । अन्तिम सेसन ‘अद्भुत व्यक्तित्व, आधारण लेखन’ मा मनुजबाबु मिश्रबारे रोशन मिश्र र मदनमणि दीक्षितबारे इल्या भट्टराईले बोल्नेछन् ।

महोत्सव बुधबार सकिनेछ ।

तपाईको प्रतिक्रिया