बेनी अस्पतालमा अक्सिजन प्लान्ट

समाधान संवाददाता २०७७ पुष १४ गते १८:३७

राकेश शर्मा, म्याग्दी ।

म्याग्दीको बेनीमा रहेको बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलो पटक अक्सिजन उत्पादन केन्द्र चलाइएको हो ।

अक्सिजन प्लान्ट र अक्सिजन भर्ने बुस्टर मेसिन खरिद गरेर जडान गरेसँगै जिल्लामै अक्सिजन उत्पादन र अक्सिजन भर्ने सेवा शुरु गरिएको बेनी अस्पताल व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

Advertisement

उत्पादित अक्सिजनलाई तत्काललाई सिलिन्डरमार्फत भर्ने र प्रयोग गर्ने गरिए पनि केही महिनाभित्रमा अस्पतालको आवश्यक पर्ने कोठामा सोझै पाइपलाइनमार्फत पु¥याउने तयारी गरिएको अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले जानकारी दिए ।

पाइपलाइन विस्तारको लागि सामाजिक विकास मन्त्रालयबाट यस वर्ष १० लाख बजेट विनियोजन भएको छ । अक्सिजन उत्पादन केन्द्र र भर्ने सुविधा विस्तार भएसँगै नियमित रूपमा अक्सिजन प्रयोग गर्दै आएका स्वाशप्रश्वास, दमका बिरामीसँगै जटिल रोगका बिरामीको उपचार सहज हुनेछ ।

Advertisement

म्याग्दीमा अहिलेसम्म पोखराबाट अक्सिजन सिलिण्डर ल्याउने गरिएको थियो । अस्पतालमा जडान गरिएको सो प्लान्टमा अस्पताललाई आवश्यक भन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन् ।

दैनिक १० देखि १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सकिने जनाइएको छ । अस्पतालमा रहेको सघनउपचार कक्षसमेत ‘एसी’ र ‘भेन्टिलेटर’ का उपकरण थप गर्ने तयारी भएको छ ।

स्थानीय पूर्वाधार विकास कार्यक्रममा खर्च हुन बाँकी रहेको ३० लाख बजेट धौलागिरि गाउँपालिकाले अस्पतालमा उपकरण थप गर्न सहमति दिएकाले आवश्यक प्रक्रिया अगाडि बढाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया