ओलीले गद्दारी गरेः सुरेन्द्र पाण्डे

समाधान संवाददाता २०७७ पुष १५ गते ११:४५

समाधान संवाददाता, पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको विरोध गर्दै उनकै पार्टी नेकपाको अर्को पक्ष (प्रचण्ड–माधव) ले पोखरामा प्रदर्शन गरेको छ । सहभागीले कालोपट्टि र ¥यालीसहित चर्को नाराबाजी गर्दै प्रदर्शन गरे ।

चिप्लेढुंगाबाट सुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतसँग गद्दारी गरेको भन्दै आक्रोश पोखे ।

Advertisement

‘नेकपालाई मत हाल्ने जनताको रोइरहेको मनले प्रधानमन्त्री तपाईंलाई धिक्कारिरहेको छ । ५ वर्षसम्म सरकार चलाउन जुन समर्थन दियौं, तपाइँले बीचमै गद्दारी गर्नुभयो भनेर जनताले प्रश्न गरिरहेका छन्,’ उनले भने । प्रतिगामी कदमविरुद्ध एकजुट भएर लाग्नुपर्ने र आफूहरुले ल्याएको लोकतन्त्र विरोधी गतिविधि हुन नदिने संकल्पका साथ लाग्न नेता , कार्यकर्तालाई पाण्डेले आग्रह गरे ।

डाक्टरले धेरै नबाँच्ने भनेको भन्दै अध्यक्ष ओलीले । एकीकरणताका पार्टी जिम्मा लगाउन सही मान्छे भेटिएको भनेर खुसी साटेको नेता पाण्डेले बताए ।

Advertisement

‘पार्टी एकता गर्ने भने पनि भइरहेको थिएन । हुन्छ, हुँदैन भन्ने द्वविधापूर्ण स्थिति थियो । ओलीजी प्रचण्ड कमरेड कहाँ जानुभएछ,’ उनले भने, ‘डाक्टरले धेरै बाँचे २२ महिना बाँच्छस् भनेको छ । पार्टी कसलाई जिम्मा लगाउने भन्ने चिन्ता थियो । तपाइँ भएपछि ढुक्क भएँ भन्नुभएछ ।’

नेता पाण्डेले त्यसपछि मात्रै पार्टी एकता घोषणा भएको दाबी गरे । उनले यसो भनिरहँदा सहभागीहरु गलल्ल हाँसे । विभिन्न देशका प्रतिनिधि बालुवाटारमा आउँदा प्रधानमन्त्रीले चुचे नक्सा हटाएर भेटघाट गरेको उनले आरोप लगाए । ‘शिक्षा मन्त्रालयले नयाँ नक्सासहितको पुस्तक तयार पार्दा प्रकाशन गर्न उहाँले रोक्नुभयो । तर भन्नुहुन्छ म राष्ट्रवादी हुँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीतर्फ इंकित गर्दै पाण्डेले गल्ती दुवै पक्षबाट भए पनि धेरै गल्ती गर्ने दोषी हुने टिप्पणी गरे । संसद विघटन गरेर प्रधानमन्त्रीले आफूसहित मुलुकलाई नै अँध्यारो सुरुङमा प्रवेश गराएको उनको भनाइ छ । संसद विघटन गर्ने कुरा ओलीले भनेजस्तो आफ्नै सेटिङमा नभई अरुको सेटिङमा भएको पाण्डेको दाबी छ ।

उनले अब संसद पुनस्र्थापना नहुँदासम्म आन्दोलन निरन्तर रहने र संसद पुनर्बहालीको विकल्प नभएको जिकिर गरे । निर्वाचन आयोगले चुनाव चिह्न सूर्य र आधिकारिक नेकपा आफूहरुलाई नै दिने नेता पाण्डेले दाबी गरे ।

¥यालीमा सहभागीले नालायक सरकार राजीनामा दे, प्रतिगामी सरकारलाई असफल पारौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिन्दावाद, प्रतिगामीहरू होसियार, संविधान मिच्न पाइँदैन–केपी ओली चाहिँदैन लगायतका नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया