सडक महोत्सव सुरु

समाधान संवाददाता २०७७ पुष १५ गते १७:५५

समाधान संवाददाता, पोखरा

कोरोना भाइरसको त्रासकै बीच २२ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ ।

आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा लेकसाइडको ३ किलोमिटर क्षेत्रमा बुधबारदेखि महोत्सव सुरु गरेको हो । पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित सुरु भएको महोत्सव शुक्रबार सकिनेछ ।

Advertisement

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार दिउँसो उद्घाटन गरे ।

उनले विगतको जसरी महोत्सव संचालन गर्ने अवस्था नभए पनि निरन्तरता दिइएकोमा यसले पोखराबारे राम्रो सन्देश प्रवाह भएको बताए ।

Advertisement

पर्यटन व्यवसायलाई जोगाउनु सरकारको दायित्व भएको र त्यसका लागि आफूहरु प्रतिवद्ध रहेको मुख्यमन्त्री गुरुङले बताए ।

राजा वीरेन्द्रले बनाएका हिमागृह र रत्न मन्दिर खोल्न आफूहरुले सक्दो प्रयास गरे पनि संघ सरकारले साथ नदिएको उनले गुनासो गरे ।

उपप्रधानमन्त्री ईश्वर पोख्रेल नेतृत्वको नेपाल ट्रष्टले ढिलाइ गर्दा ती संरचना जनताका लागि खुला गर्न नसकेको मुख्यमन्त्री गुरुङले गुनासो गरे ।

‘प्रदेश सरकारको विश्वास छैन भने आफैं गर्नुस् । हामी व्यवस्थापन गरेर चलाउँछौं भनेको हो । जग्गा नै मागेको त होइन नि,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल ट्रस्टका अध्यक्ष एवं उपप्रधानमन्त्री पोखरेलसँग आफूले छलफल गरेको जानकारी दिए ।

उनले फेवा सीमांकनका लागि गठित समितिले आफ्नो काम गरेको र छिट्टै तालको ४ किल्ला पत्ता लाग्ने बताए । ‘नक्सांकन र सीमांकनको काम सकिन्छ । कोही पनि अलमलमा नपर्नुहोला । यो आर्थिक वर्षमा समस्या समाधान हुन्छ,’ मुख्यमन्त्री गुरुङले दाबी गरे ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कोभिडपछि पर्यटनलाई कसरी उकास्ने भन्नेमा जोड दिन आवश्यक रहेको बताए । उनले प्रदेशमा कोरोनाका कारण प्रत्येक दिन १३ करोड नोक्सानी भइरहेको सुनाए ।

‘कोभिडपछि कसरी पर्यटनलाई पुनस्र्थापना गर्ने भन्ने सोचौं । सरकारले मात्रै केही गर्न सक्दैन त्यसैले निजी क्षेत्र र नागरिक समाज मिल्न आवश्यक छ,’ मन्त्री लम्सालले भने ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले हालको अवस्थामा कमाउनभन्दा पनि व्यवसायलाई कसरी धान्ने भनेर सोच्न व्यवसायीलाई आग्रह गरे । परम्परागत ढंगले चले पर्यटन क्षेत्रलाई भविष्यमा गाह्रो पर्ने उनको भनाइ छ ।

काम गर्न खोज्दा फाइल लिएर दौडधुप गर्नुपरेकाले विकास निर्माणमा ढिला भएको मेयर जिसीले सुनाए ।

‘केही काम गर्न खोज्यो । फाइल बोकेर हिँड्दाहिँड्दा फाइल च्यातिन्छ । यो धेरै ठाउँ डुल्नुपर्ने अवस्था सुधारेर एकद्वार प्रणाली ल्याउनुपर्ने आवश्यकता छ,’ उनले भने । पोखरामा बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको ल्यान्डफिल साइटको विकल्प खोजिने उनले बताए ।

महोत्सव लेकसाइड (सहिदचोकदेखि खहरेसम्म) को ३ किलोमिटर सडकमा चल्ने छ । त्यहाँ विभिन्न स्टलसहित सांस्कृतिक कार्य प्रस्तुत हुनेछन् । महोत्सव क्षेत्रमा दिउँसो ३ देखि राति १० बजेसम्मसवारी प्रवेश निषेध गरिएको छ ।

रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालका अनुसार बिहीबार मध्यरात १२ बजेसम्म विभिन्न हुनेछ ।

बिहीबार अंग्रेजी नयाँ वर्षको स्वागत गरिने छ । यसपालि कोमागाने पार्कभित्र कन्सर्ट, बाल उद्यानलगायत हुने छैनन् । विगत वर्षमा ५ दिन चल्ने महोत्सव यो वर्ष ३ दिनमा झारिएको छ ।

तपाईको प्रतिक्रिया