कर्मठ केटीहरु

समाधान संवाददाता २०७७ पुष १५ गते १८:५८

अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित ३ महिला उद्यमी आफ्नो क्षेत्रमा अब्बल छन् । उनीहर सरकारसँग सहकार्य र पहिचानको अपेक्षा राख्छन् ।

अनिष भट्टराई, पोखरा

आयुषी केसी, सोनिका मानन्धर र बोनिता शर्मा मंगलबार सराङकोटमा बसेर गफिँदै थिए ।

अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित ३ जनै महिला उद्यमी हुन् । केसी र मानन्धर क्रमश खालीसिसी डटकम र एइलो कम्पनीका संस्थापक हुन् । बोनिता शर्मा भने ‘सोसियल चेन्जमेकर्स एन्ड इनोभेटर्स’की अभियन्ता हुन् ।

नेपाल लिट्रेचर फेस्टिभलको ९ औं संस्करणको पहिलो दिन यी ३ जनासँग आभास्ना पाण्डेले बहस गरिन् । बहसमा उनीहरुले आआफ्ना सोच, लक्ष्य, कार्यशैलीका बारे सुनाए ।

बहसको बीचमा पाण्डेले सोधिन्, ‘महिला अभियान्ता तथा उद्यमी भएर काम गर्दा तपार्इँहरुले समस्या पनि भोग्नुभयो होला नि ?’ सुरुमा बोनिता शर्माले उत्तर दिइन् । उनी सर्लाही जाँदा देखेको दृश्यबाट आफ्नो जवाफ सुरु गरिन् । त्यहाँ १ महिलाले आफ्ना अन्तर्वस्त्र सुकाउँदा अर्की महिलाले आँखा तर्काइन् । उनले त्यसलाई आफ्नो ट्विटरमा पोस्ट गरिन् ।

पोस्टमा थियो, ‘उसको कपडा जस्तै मेरो कपडा तर पनि किन हो मेरो बुढाले घाममा कट्टु, गन्जी सुकाउदा केही नहु नि, मैले सुकाउदा लाज नभाको हुनी ?’ त्यस पोस्टमा उनले हेरिनसक्ने खालका प्रतिक्रिया पाइन् ।
‘नेपाली समाजमा नारीको कपडालाई समेत यौनिक दृष्टिले हेरिन्छ । यदि कोही महिलाले यसबारेमा केही बोल्यो भने नराम्रा कमेन्टस् आउँछन्,’

बोनिता भन्छिन्, ‘हामीले वुमन इम्पावरमेन्टको कुरा ग¥र्यौं तर अब हामीले नारीका बारेमा सोच्ने गरी पुरुषलाई इम्पावर गर्नुपर्छ ।’

उनले पोषणका बारेमा सचेतना जगाउन जाँदा यस्ता समस्या धेरै खेपेकी छिन् । शर्माले जत्तिको समस्या भने आयुषी केसीले खेप्नुपरेन । आयुषीसँग काम गर्ने खालीसिसिका १३ हजार कर्मचारी सबै पुरुष छन् । आयुषीले उनीहरु सबैलाई सुरुमा लैङ्गिकताको भाव छाडेर काम गर्न आग्रह गरिन् ।

आखिर नेपाली समाजमा एक नारीले १३ हजार पुरुषलाई काम गराउनु सहज काम हुँदै होइन । आयुषी भन्छिन्, ‘उहाँहरु सबै प्रट्रियार्कल सोसाइटीबाट आउँदा महिलाको डिक्टेटरसिपमा काम गर्न गाह्रो होला भनेर एक पटक उहाँहरुलाई सम्झाएँ । तर बुझ्दै जाँदा बोलीले भन्दा कामले नयाँ पाठ सिकाउने रहेछ भन्ने बुझें ।’

आयुषीले खालिसिसी खोल्नु अगाडि नै नारी भएका कारण काम नथाल्न सल्लाह पाइन् । उनले सिसा, फलाम उठाउने कर्मचारीसँग कुरा गरेकी थिइन् । ती कर्मचारीले आयुषीलाई भने, ‘सर पनि हुनुहुँदो रहेनछ, तपाइँ अझै मिस अनि अफिस नि रैन्छ, म त सक्दिनँ ।’ आयुषीले जसोतसो उनलाई मनाइन् ।

आयुषीको योजना अनुसार ती कर्मचारीले काम गरेपछि पहिलो महिनामा नै ८ हजार बढी रकम कमाएछन् ।

‘त्यो दाइले ८ हजार बढी कमाएपछि मलाई पनि काम विस्तार गर्न एप्रुभल मिलेजस्तो लाग्यो,’ आयुषीले थपिन् ।

सोनिकाले भने आयुषी र बोनिताको जस्तो समस्या भोगिनन् । ‘म ओपन माइन्डेड फ्यामलीबाट आएकी हुँ । त्यस्तो समस्या मैले भोगिनँ केबल आम्दानी हुँदैन भनेर धेरैले सुनाउनुभो तर म आफ्नो योजनामा लागें,’ सोनिकाले सुनाइन् ।

अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित ३ जना नै नेपाल सरकारबाट चिनिन सकेका छैनन् । आफूहरुलाई पुरस्कृत भन्दा सरकारले काम गर्ने वातावरण र सहकार्य गरिदिने उनीहरु अपेक्षा गर्छन् ।

बोनिताको सोचाइ टोलीले अहिले पनि काम गरिरहेको छ । तर कोभिडका कारण सोचेको भन्दा बढी रकम उनको कम्पनीले खर्च गर्नुप¥यो । बीचमा सबै जना आइसोलेटेड भएर बस्दा उनको कम्पनीको काम ठप्प बन्यो । यो बोनिता र उनको कम्पनीले भोगेको समस्या हो ।

तर बोनिताका आधारमा पोषणको हिसाबमा देशले भोगेको समस्या यो भन्दा ठूलो छ । नेपालले कुपोषण निमूलमा गरेको २५ वर्षको मिहिनेत २५ हप्तामै खेर जाने अवस्था आएको उनको भनाइ छ । ‘२५ वर्षमा गरेको काम कोभिडले २५ हप्तामा फेरि त्यर्हीँ पुरानो स्थितिमै पु¥याउने खतरा छ,’ उनले भनिन्, ‘कर्णलीमा अहिले ५० प्रतिशत बढी बच्चामा निको नहुने कुपोषण छ । यसले एक जेनेरेसनै खतरामा छ ।’

आयुषीको खालीसिसीमा अहिले काठमाडांैमा १३ हजार कर्मचारी हुनुले उनी नेपाल विश्वमै धेरै रिसाइक्लिङ गर्ने देश बनाउन सक्ने आकलन गर्छिन् । उनी आफूले कम्पनी नभई अभियान चलाएको भन्न चाहन्छिन् ।

‘मैले मुभमेन्ट चलाएकी हुँ, धोती भनिने दाइहरु अहिले खालीसिसी दाइ भनेर चिनिन्छन् । नेपाल विश्वकै टपमस्ट रिसाइक्लिङ देश बन्न सक्छ, एक्लैले सक्दिनँ,’ केसी भन्छिन् ।

सरकारले २५ वर्षअघिका सवारी साधनसम्बन्धी रिपोर्ट राख्न नसक्दा नेपालले गुमाएको अर्थको कति प्रभाव परेको छ भन्ने बुझ्न गाह्रो भएको सोनिका बताउँछिन् । काठमाडौंमा २५ वर्षअगाडि महिला सफा टेम्पो चालकले टेम्पो चलाएको र अहिले त्यो बन्द हुँदा नेपालले ठूलो घाटा बेहोरिरहेको सोनिकाको विचार छ ।

‘नेपालमा २५ वर्ष अगाडि सफा टेम्पो महिला दिदीहरुले चलाउनुहुन्थ्यो । हामीले कत्तिको फ्युल ल्याउँछौं वर्षेनी ? जिडिपि कति घट्यो ?,’ सोनिकाले भनिन्, ‘तर अहिले पनि महिलाले इलेक्ट्रिक सवारी कर्जा लिन खोजे पाउँदैनन् । यसले नेपालको अर्थमा कति इम्प्याक्ट पारेको छ भन्ने डाटा छैन ।’

आफ्ना समस्या बताउँदै उनीहरुले सरकारसँग सहकार्यका लागि अपिल गरे । ‘विदेशी संस्थाले १ पदक नदिँदासम्म यहाँ कोहीले पनि राम्रो रेस्पोन्स गर्दैन,’ बोनिताले भनिन्, ‘अहिले नेपाल सरकारले धेरै रेकग्निसन दिन सकेको छैन । जसले काम गरिरहेका छन् उनीहरुलाई नीति निर्माणमा समेटिनुपर्छ ।’

चलिरहेको सिस्टमलाई परिष्किृत गरेर नयाँ विचारमा चल्न सके अरुले समेत सफलता पाउने ३ जनाकै विचार थियो । नयाँ काम थाल्दा अनुमानभन्दा पनि सत्य बोध गरेर थाल्नुपर्ने बोनिताको भनाइ थियो । ‘एजम्पसन होइन, प्रश्न गरेर समाजमा लानुपर्छ । समाजका लागि ल्याइएको प्रविधि लामो समयसम्म रहने हुन्छ,’ उनले भनिन् ।

आयुषी नेपालमा स्टार्टअपहरु डिजिटलाइज रुपमा चलाउन सके कोभिड महामारीमा समेत टिकाउन सकिने धारणा राख्छिन् । खालिसिसीलाई समेत अहिले डिजिटलाइज गर्न लागिएको उनले सुनाइन् ।

तपाईको प्रतिक्रिया