खुले मुस्ताङका होटल

समाधान संवाददाता २०७७ पुष १६ गते १४:३२

एसके थकाली, जोमसोम

कोरोनाका कारण ९ महिनादेखि बन्द मुस्ताङका होटल खुलेका छन् । मुस्ताङ होटल व्यवसायी संघको पहलमा जिल्लाका होटल व्यवसायीको सहमतिपछि यही हप्तादेखि होटल खोलिएको हो ।

अब मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउमा सहज भएको छ ।

Advertisement

मुस्ताङका होटल व्यवसायीले फागुन १ गतेमात्र होटल खोल्ने बताएका थिए । एक साताअघि म्याग्दीका होटल व्यवसायी र अन्य पर्यटनसँग आवद्ध संघ, संस्थाले दवाव दिएपछि मुस्ताङका होटल व्यवसायी होटल खोल्न राजी भएका हुन् ।

मुस्ताङ उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ मुस्ताङ अध्यक्ष खगेन्द्र तुलाचनले पुस १३ बाट मुस्ताङका होटलहरु खुलेको जानकारी दिए ।

Advertisement

अध्यक्ष तुलाचनले २ महिनाअघिसम्म सरकारले निषेधाज्ञा फुकुवा गरेको र धार्मिक तथा पर्यटकीय गन्तव्य खुल्दै गएको भए पनि मुस्ताङमा कोभिडको जोखिम कायमै रहेकाले होटल खोल्ने अवस्था नरहेको उनले बताए । स्थानीय प्रशासन र होटल व्यवसायीको समन्वयमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल खोलिएको उनले बताए ।

होटल बन्द हुँदा लिजमा होटल व्यवसाय गर्ने व्यवसायी समस्यामा थिए । गण्डकी प्रदेशका अधिकांश जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल सञ्चालनमा आए पनि मुस्ताङमा कोरोना त्रासका कारण होटल खोलिएको थिएन ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले मुस्ताङ आउजाउ गर्ने पर्यटक र सर्वसाधारणलाई अब कुनै अवरोध नहुने जानकारी दिईन ।

स्थानीय प्रशाासन, मुक्तिनाथ विकास समिति र होटल व्यवसायीको सहमतिमा मुक्तिनाथ दर्शनका लागि मन्दिर खोल्ने योजना उनले सुनाइन् ।

मुक्तिनाथ मन्दिर र कागबेनीधाम चैत १० यता बन्द छन् । मुस्ताङका स्थानीय तहले कोभिड १९ को जोखिम भन्दै मुस्ताङभित्रै लकडाउन गरेका थिए ।

होटल खोल्ने निर्णयले स्थानीय व्यवसायी उत्साहित भएका छन् । मुस्ताङका होटल व्यवसायीले कोभिड १९ को असरले होटल बन्द गर्नुपर्दा ठूलो व्ययभार थपिएको दुखेसो गरेका छन् ।

तपाईको प्रतिक्रिया