सेनाः मर्दा–पर्दाको साथी

अनुप पौडेल, पोखरा
कोरोना संक्रमण नेपालमा देखिएसँगै नेपाली सेनाको जिम्मेवारी थपियो । विदेशबाट आएकाको व्यवस्थापन जिम्मा सेनाले पायो ।
पछि कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनको जिम्मा सरकारले सेनालाई नै दियो ।
संक्रमितको शव व्यवस्थापन विवादको चपेटामा पनि सेना नै प¥यो । पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विनयविक्रम राणाले पृतनाबाट १ वर्षमा भएको कार्यप्रगति सार्वजनिक गरे । कोभिड–१९ को समय र शव व्यवस्थापनसम्मका अनुभव सुनाए ।
पिपिई र एम्बुलेन्स उपलब्ध नहुँदा कोभिडको सुरुआती दिनमा समस्या भए पनि अहिले त्यस्तो समस्या नरहेको उपरथी राणाको अनुभव छ ।
कोभिडबाट मृत्यु हुँदा शव व्यवस्थापनमा परिवारभित्रै विवाद देखिएको उनले सुनाए । ‘परिवारको २ जना सदस्यले गाड्ने भन्ने, अर्को २ जनाले जलाउनुपर्छ भनेको पनि देखियो,’ उनले भने ।
सेनानी प्रेमप्रसाद पौडेलका अनुसार सैनिकहरुमा पहिलाकोजस्तो डर छैन । ‘पछिपछि तालिम हुन थाले । अहिले सुरुको डर छैन । म जान्छु भनेको सुनिन्छ,’ सेनानी पौडेलले सुनाए । उनले ११ असारको घटना सम्झिए ।
पोखरा महानगरपालिका ३२ रातोपहिरोमा शव व्यवस्थापन गर्न प्रहरीले ८ राउन्ड हवाई फायर नै गर्नुपरेको थियो । टायर बालेर स्थानीय तोडफोड र ढुंगामुढामा उत्रिए।
कास्की र तनहुँको सीमामा रहेको प्रहरी पोस्टमा तोडफोड गरे। त्यसअघि पनि मृतकको शव बोकेको गाडीलाई टायर बालेर बीच बाटोमै रोके ।
‘हामी गाडीभित्रै बस्यौं । प्रहरीले फायरिङ गर्नुपर्ने अवस्था नै आयो,’ सेनानी पौडेलले शव व्यवस्थापन गर्न पुग्दाको अनुभव सुनाए ।
पोखराकै रिठ्ठेघाटमा पनि शव व्यवस्थापन गर्न पुग्दा जनप्रतिनिधिले नै विरोध गरे । जेनतेन शव व्यवस्थापन भयो ।
पश्चिम पृतनाको कार्यक्षेत्र गण्डकी प्रदेशको नवलपुरबाहेक बाँकी १० जिल्ला हुन् ।
नवलपुर भने मध्यपश्चिम पृतना बुटवलले हेर्छ । यस्तै घटनाको अनुभवसहित ९ जिल्लामा सेनाले मंसिरसम्म १ सय ७२ संक्रमितको शव व्यवस्थापन गरिसकेको छ । मनाङ र मुस्ताङमा भने संक्रमित भेटिए पनि कसैको मृत्यु भएको छैन ।
प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न खटिएका ३ सैनिक संक्रमित भएको उनले जानकारी दिए । तीनैजना निको भइसकेका छन् ।
मंसिरसम्म नवलपुरबाहेक विभिन्न जिल्लामा गरेर १ सय ७२ मृतकको शव व्यवस्थापन गरिएकोसेनानी पौडेलले जानकारी दिए । उनका अनुसार १ सय ५३ जनाको शव गाडिएको र १९ जनाको जलाइएको हो ।
असार अन्तिममा म्याग्दीको धवलागिरी र मंगला गाउँपालिकामा बाढीपहिरोले वितन्डा मच्चायो । त्योबेला पनि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित नेपाली सेना घटनास्थलमा टेन्टकै भरमा रात कटाएर खोजीमा खटियो । त्योबेला ३० भन्दा बढीको मृत्यु भयो ।
त्योसहित प्रदेशमा बाढीपहिरामा परेका ७० जनाको शव सेनाले फेला पारेको छ ।
५२ जनाको जीवितै उद्धार गरिएको सेनानी पौडेलले जानकारी दिए । त्यसका लागि ३ सय ५० सैनिक खटिएका थिए । साथै पछिल्लो १ वर्षमा फेवातालबाट सेनाले ४ जनाको शव झिकेको छ ।
‘पहिला अझै धेरै हुन्थ्यो । यसपालि कोभिडले सुनसान भएकाले त्यस्ता घटना धेरै हुन पाएनन्,’ उनले भने । साथै तालबाट २ जनाको जीवितै उद्धार गरिएको छ ।
यसबाहेक लमजुङ, पर्वत, तनहुँ, बागलुङ, मुस्ताङ, स्याङ्जा, कास्कीका विभिन्न ठाउँमा मन्दिर, सडक सरसफाई र पूननिर्माणमा सेना खटिएको सेनानी पौडेलले बताए ।
पछिल्लो १ वर्षमा लमजुङ, मनाङ, स्याङ्जा, मुस्ताङ, बागलुङ र पर्वतका विभिन्न ठाउँमा ९ पटक ‘माइन’ जोखिम सचेतना कार्यक्रम गरिएको छ ।
‘कहिलेकाहीं त्यस्ता वस्तु देखेपछि छुँदा हुने जोखिमबारे धेरैलाई थाहा हुँदैन । हामीले दिएको तालिमबाट ७ सय ७४ जना लाभान्वित भएका छन्,’ सेनानी पौडेलले भने । आउँदो जेठमा तिलिचो ताल बेसक्याम्पबाट तालसम्म सरसफाइ गर्ने योजना सेनाले बनाएको छ ।
भूतपूर्व सैनिकहरुको सम्मेलन
गण्डकी प्रदेशमा माघ अन्तिम हप्ता भूतपूर्व सैनिकहरुको सम्मेलन हुने भएको छ ।
कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा प्रदेशका विभिन्न ३ जिल्लामा सम्मेलन हुने भएको हो ।
सम्मेलन कास्कीको पश्चिम पृतना हेडक्वार्टर, भगवती दल गण हेडक्वार्टर, गोरखाको रणसिंहदल गण हेडक्वार्टर, सुरक्षा गुल्म पोखरा थोक र लमजुङको श्रीजंग गण हेडक्वार्टरमा भूतपूर्व सैनिकहरु भेला हुने छन् ।
गत वर्ष तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वतमा सम्मेलन गरिएको थियो ।
पत्रकार सम्मेलनमा सहभागी हुने भूपू सैनिकहरुले आफ्ना समस्या राख्ने छन् ।
नेतृत्व तहमा समस्या समाधानका लागि पहल हुनेछ । सम्मेलनमा भूपू सैनिकसँगै उनीहरुको परिवार पनि सहभागी हुने पश्चिम पृतनाका जनसम्पर्क अधिकृत सेनानी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया