प्रदेश संग्रहालय व्यवस्थित बनाइने

समाधान संवाददाता २०७७ पुष १७ गते १४:०५

नीति तथा कार्यक्रममा समेटेर संग्रहालयका लागि बजेट व्यवस्था
समाधान संवाददाता

पोखरा, १६ पुस

कोभिड–१९ ले अहिले पर्यटकीय स्थलमा चहलपहल छैन । पर्यटकलाई घुमाउने र नेपालका कला, संस्कृति सम्पदा लगायत झल्काउने स्थल पनि सुनसान छन् ।

Advertisement

पर्यटकीय चाप नभएका बेला यस्ता संरचना अझै व्यवस्थित र स्तरोन्नति गर्नुपर्ने हो । तर, सरकारले त्यतातिर पनि ध्यान दिन सकेको छैन । गण्डकी प्रदेश सरकारले अब नयाँ बजारमा रहेको संग्राहलयको भने स्तरोन्नति गर्ने भएको छ ।

परिवर्तित सन्दर्भका प्रदेश संग्रहालयको अवधारणा तय गर्न संग्रहालयले छलफल नै चलाएको छ । संग्रहालयको स्तरोन्नतिका लागि पूर्वाधार निर्माण तथा अर्थ व्यवस्थापन लगायतका विषयमा छलफल चलाइएको संग्रहालय प्रमुख करुणा राईले जानकारी दिइन् ।

Advertisement

सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले सग्रहालयको स्तरोन्नति गरी पर्यटकीय हिसाबले गतिविधि बढाइने बताइन् । ‘संग्रहालयको स्तरोन्नतिको लागि भौतिक पूर्वाधार निर्माणमा मन्त्रालयले ध्यान दिनेछ,’मन्त्री पुनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रममा समेटेर संग्रहालयका लागि बजेटको व्यवस्था गर्ने छौं ।’

उनले संग्रहालयको योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सबैको अपनत्व हुने गरी प्रदेशका सबै गतिविधिलाई समेट्ने बताए ।

संग्रहालयलाई सक्षम र सुदृढ बनाउने उल्लेख गर्दै उनले संग्रहालयलाई स्तरोन्नति गरी प्रदेशको पर्यटकीय गन्तव्य बनाउने योजना सुनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारको प्राथमिकतामा नपरेपनि संग्रहालय आवश्यक विषय भएको बताए ।

गण्डकी सांस्कृतिक ग्राम बनाउने निर्णय सकारात्मक भएको उल्लेख गर्दै उनले संग्रहालय प्रत्येक शहरको न्युनतम आवश्यकता बनेको धारणा राखे ।

लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले समग्र गण्डकी प्रदेश घुम्न जान नसके चालचलन कला संस्कृति हेर्ने स्थलको रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।

संग्रहालयको पूर्वाधार निर्माणको लागि लगानीको स्रोत जुटाउनु पर्ने उल्लेख गर्दै उनले संग्रहालयको प्रचार प्रसार र बजारीकरणमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोका सदस्य डा भीमा ढुंगाना, पोखरा महानगरपालिका वडा नम्बर ९का अध्यक्ष रामराज लामिछाने, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, गण्डकी प्रदेशका लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेल, प्राज्ञ रमेश श्रेष्ठ, पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष लक्ष्मण बराल, उपपप्राध्यापकहरु लक्ष्मण श्रेष्ठ, नारायण ढकाल, संग्रहालयका सहायक पथ प्रर्दशक तथा सूचना अधिकारी कविन्द्रराज पौडेल, अधिकृत भूपेन्द्र ढकाल, अधिकारकर्मी विष्णुहरि अधिकारी, संग्रहालय प्रेमी सुनिल उलक लगायतले बोलेका थिए ।

आर्थिक वर्ष २०३९÷०४०मा कार्यालय स्थापना गरी २०४१ सालमा माघ २३ गतेदेखि संग्रहालय सर्वसाधारणको लागि खुला गरिएको थियो ।

तपाईको प्रतिक्रिया