अहँ, अहिल्यै घर नजाने

समाधान संवाददाता २०७७ पुष १८ गते १०:५८

अनुप पौडेल, पोखरा

गेटभित्र दायाँतर्फ कामचलाउ फुटसल बनाइएको छ । त्यहाँ बिहान सुनसान हुन्छ, पारिलो घामसँगै बालकहरु बेलुकासम्मै खेलिरहेका भेटिन्छन् ।

फलामे गोलपोस्ट र ग्राउन्ड मार्क नभएको त्यही ‘कामचलाउ फुटसल’ मा कहिले क्रिकेट, कहिले फुटबल खेल्छन् उनीहरु । यो कुनै घरभित्रको नभई बालगृहको दृश्य हो ।

Advertisement

आफ्नोमा संरक्षित बालकहरु फुटबल खेल्न रुचाउने भएकाले बालहितकारी परियोजना नेपाल (सिडब्ल्युएसएन) ले फुटसल बनाइदिएको हो ।

पोखरा महानगरपालिका १५ नयाँगाउँस्थित यो बालगृहमा आकस्मिक पुनस्र्थापना र सामाजीकरण केन्द्रमा१७ बालक संरक्षित छन् ।

Advertisement

बालहितकारी परियोजना सडक बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापनका लागि सरकारसँग सम्झौता गर्ने देशभरका ८ मध्येको एउटा संस्था हो ।

यहाँ संरक्षित सबै बालकका आ–आफ्नै कथा छ । कसैको बुवा, कसैको आमा अनि कसैको परिवार नै छैन । तिनैमध्ये एक हुन्, १२ वर्षे सुवोध थापा (परिवर्तित नाम) । बुवालाई त उनले देखेकै छैनन् । आमा छिन्, तर भए÷नभएको अर्थै छैन ।

६ वर्षको हुँदा आमाले लेकसाइडको एउटा सटरअगाडि पिँडीमा छोडेदेखि उनी परियोजनाकै संरक्षणमा छन् । ‘५ वर्ष पहिला लेकसाइडको सटर पिँडीमा भेटिएपछि हाम्रो संरक्षणमा आयो । बोल्नै जान्थेन । अहिले त टाठो भा’छ,’ परियोजनाकी कार्यक्रम संयोजक निमा गुरुङलेलाई सुनाइन् ।

सुवोधकी आमा खोज्न परियोजनाका कर्मचारी पोखरा डुले । पछि उनी सिर्जनाचोक सडकमा भेटिइन् । आफ्नै अवस्था ठिक नभएपछि उनले छोरालाई सडकमै छोडेकी रहिछन् ।

सुवोधनयाँ मान्छे देखे बोल्न डराउँछन् । ५ वर्ष पहिलाको घटनाबारे उनी बेखबर छन् ।

उनी अहिले बालगृहबाट १० मिनट परको सहारा आधारभूत विद्यालयको कक्षा ३ मा पढ्छन् । विद्यालय खुले पनि उनीगएका छैनन् । बालगृहमा बस्ने सबैलाई कोभिडका डरले त्यहीँ पढाइएको छ । सुवोधलाई आफ्नो गाउँ कहाँ हो भन्ने पनि थाहा छैन । न बा छन्, न जन्मदर्ता ।

परियोजनाले उनको बुवा खोज्न धेरै प्रयास ग¥यो । तर आमा बेसुरे भएकाले बुवाबारे केही पत्तो लागेन ।

‘उसको बुवा पत्ता लगाउन खोज्यौं । आमाको अवस्था पनि ठिक छैन,’ कार्यक्रम संयोजक गुरुङले भनिन्, ‘कहिले स्याङ्जा, कहिले यहीँ पोखरा विजयपुर, कहिले लमजुङ छ भन्छिन् तर भेटिएन ।’

सुवोधकी आमाले बेगनास तालपारिको कालिका डाँडामा बस्नेसँग डेढ वर्ष पहिले बिहे गरिन् । अहिले पनि उतै छिन् ।

आमाले दोस्रो विवाह गरेपछि उनको हेरविचार गर्नेहरु जन्मदर्ता बन्नेमा आशावादी थिए । आमाको नागरिकता भएन, दोस्रो बुवालाई समाजको डर भयो । ‘गाउँमा बसेपछि तेरो छोरा होइन भन्ने भए । अनि जन्मदर्ता बन्न पाएन,’ निमाले सुनाइन् ।

साह्रै चकचके स्वभावका सुवोधको बानीले उनलाई स्याहार्नेहरु आजित छन् । खेल्दाखेल्दै लडेर २ पटक निधारमा टाँका लागिसक्यो ।

टाँका लगाउँदा उनी खुब रोए । ‘रोएपछि डाक्टरले फकाउन भने । हामीले फकाउन खोज्दा झन रोइदिने । उल्टै डाक्टरले हामीलाई गाली गरे,’ कार्यक्रम संयोजक गुरुङले सुनाइन् ।

परिवारमा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सुवोधलाई चैतमा आमासित पठाइयो । उनी ३ दिनमै भागेर बालगृह आइपुगे । ‘यहाँ साथी छन् । त्यहाँ (गाउँमा) कोही छैन । बस्न मन लाग्दैन,’ सुवोधले भाग्नुको कारण खोले । छोरा बस्ने ठाउँ चिनेपछि सुवोधकी आमा बेला, बखत आइरहन्थिइन् । आफू सडकमै बस्ने भएकाले उनले छोरा लैजाने आँट गरिनन् ।

५ वर्षपछि उनी यो दसैंमा लामो समय आमासँग बसे ।३५ दिन बसेर मंसिर दोस्रो हप्ता बालगृह फर्किए ।

१ हप्ता क्वारेन्टाइनमा बसेपछि कोरोना परीक्षण गर्दा १५ मंसिरमा उनलाई कोरोना पुष्टि भयो । १ हप्तापछि परीक्षण गर्दा नेगेटिभ आयो ।

बालगृहभन्दा बाहिर कतै नगएकाले अब भने उनी कोरोना नलाग्नेमा ढुक्क छन् ।

बालगृहमा दिन कटाइरहेका छन्, सौरभ (परिवर्तित नाम) । गाउँमा अंकलको घर बस्ने उनी ३ वर्ष पहिला पोखराको सडकमा आएका थिए । गाउँमा बस्दा उनी सुन बनाउन सिक्थे ।

१४ वर्षमा एक्लै पोखरा आएका उनको संगत चुरोट र गम खानेसँग भयो । आमा पोखरामै भए पनि खासै वास्ता नगर्दा उनी बिग्रिन थाले ।

सधैं फेवातालमा माछा मार्न पुग्थे । ‘त्यहाँबाट आएको पैसाले चुरोट खान्थें । अरुले गम खान्थे । मैलेचाहिँ खाइन है,’ उनले हाँस्दै सुनाए ।१६ वर्षे उनी पोखराकै राम आधारभूत विद्यालयको कक्षा ७मा पढ्छन् ।

आमा पोखराकै एउटा फेन्सी पसलमा काम गर्छिन् । लकडाउनमा उनको जागिर गुम्यो । पछि फेरि साहुले बोलाए ।घरको अवस्था कमजोर र कुलतमा फसेकालेसौरभ बालगृहमा बस्छन् । बुवाले संसार छोडेको ३ वर्ष बितिसक्यो ।

सहकर्मीसँग झगडा हुँदा बुवाको मृत्यु भएको उनी बताउँछन् । ‘बुवा दमौलीमा काम गर्नुहुन्थ्यो । साथीले इँटाले हान्दा बित्नुभयो,’ सौरभले सुनाए ।
बुवाको मृत्युको खबर सुनेपछि उनी पाल्पाबाट पोखरा आए । अंकलले काँखी च्यापेर राति पोखरा ल्याएको पनि उनको मनसपटलमा ताजै छ । ‘अंकलले गाडी मगाउनुभयो । गाउँबाट राति हिँडेको बिहान पोखरा आएम्,’ उनले ३ वर्ष पुरानो दिन सम्झिए ।

गाउँमा काजकिरिया सकियो । केही समय उतै बसे । खासै राम्रो व्यवहार भएन । अनि पोखरा हान्निए । ‘स्कुल जाने भनेर हिँडे । झोला र किताब जंगलमा फालेर पोखरा आएँ,’ सौरभले थपे, ‘भाडा ४ सय लाग्थ्यो । मैले जम्मा २ सय तिरेँ ।’

विद्यालय खुल्दाताका उनी दिनभर साथीसँगै बजार डुल्थे । बेलुकी बालगृह फर्कन्थे । लकडाउनमै उनी ३ जना साथीसँग भागेर बेगनासताल पुगे । ३ जनाले बाटोमा राखेको साइकल लिएर भागे । प्रहरीले समात्यो ।

पछि बालगृहमा ल्याएर छोड्दियो । बालगृहबाट भाग्ने बानी अझै सुध्रिएको छैन ।

बुवाले संसार छोडेपछि सडकमा पुगेका उनको दैनिकी अहिले बालगृहको रुटिनमा चलिरहेको छ । भविष्यको लक्ष्यबारे प्रश्न गर्दा सौरभ एकछिन रोकिए । सायद, १६ वर्षे ठिटोलाई प्रश्न अप्ठेरो लाग्यो । केहीबेर सोचेपछि उनी बोले, ‘के बनिन्छ कुन्नि ?’

पोहोर दसैंमा उनी घर गएका थिए । तर कहाँ अडिनु । २ दिनपछि भागेर बालगृहमै फर्किए । यो दसैंमा भने मज्जाले घर बसे । बालगृहले पठाएको राहतले चाड माने ।

तिहार मानेर ७ मंसिरमा उनी बालगृह आए ।तिहारपछि उनी आफूलाई टीका लगाइदिन आएकी दिदी छोड्न धादिङ पनि पुगे । फर्किएर १ हप्ता क्वारेन्टाइन बसे । कोरोना परीक्षण गर्दा१५ मंसिरमा कोरोना पोजेटिभ देखियो ।

२८ मंसिरमा कोरोना नेगेटिभ आयो । ‘मास्क लगाउँथें । धादिङ गएर आउँदा लाग्योजस्तो लाग्छ,’ उनले कोरोना लाग्दाको अनुभव सुनाए, ‘पोजेटिभ आएपछि त मुटु ढुकढुक भयो नि ।’

अहिले सौरभ ४ पर्खालभित्रैको दुनियाँमा रमाइरहेका छन् ।घरभन्दा पनि उनलाई बालगृह र त्यहाँको परिवार प्यारो लाग्छ ।

‘अहँ, अहिल्यै नजाने । घरभन्दा यहीँ ठिक छ,’ अन्तिममा उनले सुनाए ।

परियोजनाकी कार्यक्रम संयोजक निमा गुरुङ घरको वातावरण बालमैत्री नहुँदा धेरै बालबालिका घर जान नचाहने गरेको सुनाउँछिन् । उनकाअनुसार कतिको परिवार नै भेटिन्न र भेटिनेहरु पनि बच्चालाई आफूसँग राख्न चाहँदैनन् ।

‘यहाँ एकखालको वातावरण हुन्छ । सबै सुविधा हुन्छ,’ २ दशकको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘घरमा त्यो क्षमता हुँदैन । अनि कति बच्चा भागेर यहीँ आउँछन् ।’

तपाईको प्रतिक्रिया