मुक्तिनाथ मन्दिर पुस २१ देखि खुल्ने

समाधान संवाददाता २०७७ पुष १८ गते ११:१०

एसके थकाली, जोमसोम

मुक्तिनाथ मन्दिर पुस २१ देखि सर्वसाधारणका लागि खुल्ने भएको छ ।

मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र—१ अन्र्तगतका रानीपौवा, झारकोट र खिङ्गा गाउँका स्थानीय तथा गाउँ मुखिया र मन्दिरमा कार्यरत आनीझुमा तथा पुजारीको संयुक्त बैठकले मन्दिर मंगलबारदेखि खोल्ने निर्णय गरेको हो ।

Advertisement

३ दिनभित्र सबै स्वास्थ्य पूर्वाधार निर्माण गरी मन्दिर खुल्ने निर्णय भएको हो ।

मुक्तिनाथ विकास समिति अध्यक्ष हिरादेवी पौडेलको अध्यक्षतामा भएको बैठकले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पुस २१ गतेदेखि दर्शनका लागि मन्दिर खुल्ला भएको हो ।

Advertisement

पौडेलले मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने, मुक्तिक्षेत्रमा कोभिड १९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गर्ने, मुक्तिनाथ आउने दर्शनार्थी तथा पर्यटकलाई मन्दिर प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथ क्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा, पुजारी, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड १९ को जोखिम कम गर्न आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा जनशक्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

मुक्तिनाथ मन्दिर १० महिनादेखि बन्द छ । मुक्तिनाथ बन्द हुँदा गण्डकी प्रदेशकै पर्यटन व्यवसाय प्रभावित भएको थियो ।

गण्डकी प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले मुक्तिनाथ विकास समितिको पहलमा सरोकारवालाको बैठकले मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरेको बताए ।

थकालीले सर्वसाधारणलाई आवश्यक सुरक्षा बन्दोबस्तीका साथ दर्शन गर्ने व्यवस्था मिलाइएको जनाए ।

मन्दिर खोल्नुअघि मुक्तिनाथ मन्दिर क्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षा बन्दोबस्त वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गर्ने भएको छ । मन्दिर आउने दर्शनार्थीलाई बढीमा १ घण्टा उपलब्ध गराइनेछ ।

मन्दिर क्षेत्रमा प्रवेश गर्ने भक्तजनले १ सय ८ धारा र कुण्डमा स्नान गर्न रोक लगाइने र भक्तजनले समितिले तोकेका नियममा रही भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने छ ।

दर्शनार्थीले भौतिक दुृरी मिचेर फोटो खिच्न नपाउने र मन्दिरका पुजारी र आनीभुमाबाट टीका ग्रहण गर्न नपाइने भएको छ ।

मुस्ताङकी जिसस प्रमुृख छिरिङ ल्हामो गुरुङले मुक्तिनाथ अन्य जिल्लाको धार्मिक तथा अन्य पर्यटनसँग पनि जोडिएकाले यसमा पहल गरेको बताईन् ।

मन्दिर खोल्न यसअघि जिल्ला बाहिरका विभिन्न पर्यटनकर्मीले दबाब दिँदै आएका थिए । शुक्रबारको छलफलमा मुक्तिनाथ मन्दिर खोल्नुअघि कोभिड १९ को जोखिम रोक्न आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्ययोजनामा विस्तृत छलफल गरी स्थानीयको सहमतिपछि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय भएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ धाराले अंग्रेजी नयाँ वर्षमा मन्दिर निर्णय भएको बताए ।

उनले यसका लागि वारागुङ मुक्तिक्षेत्र र जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक स्वास्थ्य सामग्री तथा जनशक्ति उपलब्ध गराउने जानकारी दिए ।

मन्दिर जाँदा भक्तजनले माक्स, सेनेटाइजर प्रयोग अनिवार्य गरिएको छ । मन्दिर दैनिक डिसइन्फेक्सन गर्ने व्यवस्था मिलाइएको छ ।

मुस्ताङको घाँसा चेक पोस्ट र वारागुङ १ को खिङ्गामा मुक्तिनाथ आउनेको तापक्रम नाप्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अनुगमन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया