महेन्द्रपुलमा सिद्धार्थ सहकारीको सेवा केन्द्र

समाधान संवाददाता २०७७ पुष १९ गते १८:३९


समाधान संवाददाता
पोखरा, १९ पुस


सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा ४ महेन्द्रपुलमा सेवा केन्द्र खोलेको छ । सेवा केन्द्रसँगै ध्रुवतारा बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको सिद्धार्थ सहकारीले महेन्द्रपुलबाट एकीकृत कारोबारसमेत थालेको छ । पोखरा १२ उपकारमार्ग अमरसिंहचोकमा प्रधान कार्यालय रहेको सहकारीले पोखरा २७ तालचोकमा सेवा केन्द्र स्थापना गरी कारोबार गरेको अध्यक्ष खेमबहादुर गुरुङले जानकारी दिए ।


गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले महेन्द्रपुल सेवा केन्द्र उद्घाटन गरे । उनले छिरोलिएको पुँजीलाई बचतका रुपमा संकलन गरी सहकारीले सुरक्षित क्षेत्रमा लगानी गर्नुपर्ने बताए । वित्तीय कारोबार गरे पनि सहकारीले सेयर सदस्यको सुखदुखमा साथ दिने उल्लेख गर्दै उनले पहिला जस्तो सहज र सरल अवस्था नभएको कारण सबै सहकारी एकजुट भएर चुनौती सामना गर्न सुझाव दिए । ‘नेपालको जनसंख्या र भूगोलका हिसाबले सहकारी धेरै भएकाले बलियो संस्था बनाउनुपर्छ,’ उनले भने, ‘सानो, तिनो हावा हुरीले भत्काउन नसक्ने भएकाले सहकारीले मर्जरको नीति अवलम्बन गर्नु आवश्यक छ ।’ उनले सहकारी मैत्री नीति निर्माणमा ध्यान दिने बचन दिए ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने, वडा नम्बर ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजु, जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष सुदीप ढकाल, अन्नपूर्ण सुपर मार्केटका सञ्चालक रिबबहादुर थापा, सिदार्थ गौतम सहकारीका उपाध्यक्ष जगदीश गौतम, सचिव सरिता तिमिल्सिना पंगेनी, पत्रकार कृष्ण बास्तोला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया