किसानलाई हाते ट्याक्टर

समाधान संवाददाता २०७७ पुष २० गते १२:३०

समाधान संवाददाता, पुतलीबजार

स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ ।

किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको हो ।

Advertisement

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।

‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो । काम गर्ने मान्छे पनि छैनन्,’ उनले भने, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।’

Advertisement

कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताए ।

उपाध्यक्ष शर्मिलादेवी पौडेलले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले विदेशिएका युवालाई स्वदेशमा फर्कन आग्रह गरिन् ।

गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आ.व २०७७ ७८ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकाले युवालाई कृषि पेसामा लाग्न आग्रह गरे ।

प्रतिट्याक्टर ५५ हजारमध्ये किसानले २७ हजार ५ सयमा ट्याक्टर प्राप्त गरेका हुन् ।

किसानको अत्यधिक माग भएकाले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ किसानलाई ट्याक्टर वितरण गर्ने पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया