१० महिनापछि खुल्यो मुक्तिनाथ

एसके थकाली, जोमसोम
कोरोना संक्रमणको डरले बन्द रहेको मुक्तिनाथ मन्दिर खुला भएको छ । मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना कहरका बन्द मन्दिर भक्तजनका लागि मंगलबारदेखि खुला गरिएको हो ।
समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरमा रहेको मुक्तिनाथ हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मानिन्छ ।
सरोकारवाला निकायको समन्वय र छलफलपछि अंग्रजी नयाँ वर्षका दिन मुक्तिनाथ खुला गर्ने घोषणा गरिएको थियो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जिल्लाबासीको साथ र सहयोगले १० महिना अघिबाट कोरोना कहरले बन्द मुक्तिनाथधाम दर्शनका लागि खुला भएको बताए । उनले मुस्ताङ र मुक्तिनाथ आउने योजनामा रहेका भक्तजन र पर्यटकलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्न पनि अनुरोध गरे ।
कोरोना कहरका मुक्तिनाथ मन्दिर गत चैत ११ देखि बन्द थियो । मुक्तिनाथ विकास समितिको निर्देशनमा कोरोना रोकथाम तथा प्रतिकार्यका लागि मुक्ति क्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षालाई मजबुत तुल्याइएको मुक्तिनाथका सुरक्षाकर्मीले बताए ।
मुक्तिनाथ आउने भक्तजनलाई मन्दिर परिसर बाहिरको गेटमा स्वास्थ्य सुरक्षा चेकजाँच गर्ने र मन्दिर परिसरभित्र लगाएको गोलाकार चिन्हमा टेकेर भौतिक दूरी कायम गरी १/१ जनालाई मन्दिर प्रवेश गराउने व्यवस्था गरिएको छ ।
मन्दिर दर्शन गरिसकेकाले दक्षिणतर्फ अवस्थित ज्वालामाई क्षेत्र हुँदै बाहिरिनुपर्ने छ ।
मन्दिरमा १ घण्टाभन्दा बढी समय बस्न पाइने छैन । मुक्तिनाथ विकास समितिले विदेशी पर्यटकलाई ७२ घण्टे पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । मन्दिरमा कार्यरत पुजारी, आनीझुमा, सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक स्वास्थ्य प्रोटोकल अनिवार्य गराएको छ ।
समितिले कोभिड १९ को जोखिम हुनसक्ने भन्दै मुक्तिनाथ दर्शनका लागि पुग्ने भक्तजनलाई १ सय ८ धारामा नुहाउन र कुण्डमा स्नान गर्न प्रतिबन्ध लगाएको छ ।
मुक्तिनाथ खुला भएको पहिलो दिन दर्शन गर्न पुगेकी झापाकी सुशीला प्रधानले मुक्तिनाथ खुलेको पहिलो दिन दर्शन गर्ने अवसर पाउँदा उत्साहित भएको सुनाइन् ।
सरकारले असोज १ गते आन्तरिक तथा बाह्य हवाई उडान सेवा खुला गरेको छ । पछिल्लो समय धार्मिक स्थल खुला गरेको भए पनि कोभिड १९ को जोखिम कायमै रहेको भन्दै मुक्तिनाथ दर्शनका लागि खुला हुन सकेको थिएन ।
मुक्तिनाथ खुला नहुँदा आम पर्यटनकर्मी तथा व्यवसायी समस्यामा परेकाले मुक्तिनाथ खोल्न दबाब परेको थियो । सरोकारवालाको चौतर्फी दबाब परेपछि मुस्ताङका होटल र मुक्तिनाथ दर्शन खुला गरिएको हो ।
मुक्तिनाथ मन्दिरमा कार्यरत एक आनीले १० महिनापछि मुक्तिनाथ खुले पनि आफूहरुलाई कोरोना संक्रमणको डर र त्रास रहेको बताइन् ।
मन्दिरका पुजारीले कोरोना कहरमा बिहान बेलुकी नियमित नित्यकर्मको पूजापाठ हुने गरेको भए पनि मन्दिर खुलेपछि सम्पूर्ण तीर्थयात्रीले दर्शन गर्ने अवसर पाउनु खुसीको कुरा भएको बताए ।
मुस्ताङमा बर्सेनी ६० हजार विदेशी पर्यटक र ३ लाख आन्तरिक पर्यटक आउने बताइन्छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया