१५ लाखको चर्पी बनाउँदा २ लाख घुस

समाधान संवाददाता २०७७ पुष २२ गते २०:२७

घुस लिएपछि सबइन्जिनियरलाई अख्तियारको टोलीले समात्यो

समाधान संवाददाता, पोखरा

तनहुँमा एक सबइन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

Advertisement

राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वय ईकाइका सबइन्जिनियर सुरेन्द्र अधिकारी १ लाख ५० हजार रकम घुससहित बुधबार पक्राउ परेका हुन् ।

जिल्लाको भानु नगरपालिका ५ स्थित सरस्वती माविको शौचालय निर्माण सम्पन्न भएको विवरण दिन उनले घुस मागेका थिए ।

Advertisement

अधिकारी घुस लिन गएको सूचना पाएपछि डेढ लाख रुपैयाँ घुससहित उनलाई सप्रमाण पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

करिब १५ लाख रुपैयाँमा बनेको शौचालय सम्पन्न भएको विवरण दिन सबइन्जिनियर अधिकारीले २ लाख रुपैयाँ घुस मागेका थिए ।

उनी तनहुँ सदरमुकाम दमौली मालपोतलाइनको १ रेस्टुरेन्टबाट पक्राउ परेका हुन् । ‘निकासा दिलाएबापत घुस मागेको जानकारी पाएर जाँदा घुस रकमसहित पक्राउ गरिएको छ,’ अख्तियारका सूचना अधिकारी रिजालले भने ।

शौचालय निर्माण भइसके पनि त्यसलाई पास आफूले गरेकोभन्दै अधिकारीले घुस मागेका हुन् । घुस नदिए अरु योजना नपार्ने भन्दै उनले ‘हुकिङ’ गरी रकम मागेको स्रोतले बतायो ।

‘अरु योजना पार्न म कोपअपरेट गर्छु भन्दै हुक गरेर पैसा मागेको रहेछ, अरु पनि मिलेको शंका थियो, तर पुष्टि भएन,’ स्रोतले भन्यो, ‘योजनाको १० प्रतिशत चाहिन्छ भन्ने माग गरेको जानकारी छ ।’

विद्यालयका प्रधानाध्यापकलाई यसबारे बुझ्न खोज्दा सम्पर्कमा आउन मानेनन् ।

‘ठेक्का लिने व्यक्तिले नै प्राविधिक खर्च व्यहोर्ने भन्नुभएको थियो, तर प्रअले आफैं दिने भन्नुभयो,’ स्रोतले भन्यो ।

तपाईको प्रतिक्रिया