१४ करोड नतिरेको भन्दै पोखरामा एनसेलको बिजुली काटियो

समाधान संवाददाता २०७७ पुष २३ गते १०:०२

समाधान संवाददाता, पोखरा

झन्डै १४ करोड रुपैयाँ बिजुली महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पोखरा लेखनाथस्थित डाटा सेन्टरको लाइन काटेको छ ।

२०६९ सालदेखि छुट हुन गएको महसुल भनेर प्राधिकरणले झन्डै १४ करोड रुपैयाँ तिर्न भनी ३५ दिने पत्राचार गरेको थियो ।

Advertisement

प्राधिकरणले गरेको उक्त पत्राचारपछि त्यति पैसा नबुझाए बिजुली काटिने सम्भावना रहेको भन्दै एनसेलले बिजुली नकाटिने प्रबन्धका लागि अन्तरकालीन आदेश मागसहित जिल्ला अदालत कास्कीमा मंसिर अन्तिम साता मुद्दा दायर गरेको थियो । तर अदालतले अन्तरकारलीन आदेश जारी गरेको थिएन ।

१४ पुसमा अदालतले अन्तरकालीन आदेश गर्नु नपर्ने आदेश गरेको थियो । तर प्राधिकरणको लेखनाथ तालचोकस्थित वितरण केन्द्रले पुस १९ गते एनसेलको विद्युत लाइन काटेको छ ।

Advertisement

अहिलेसम्म आफूहरुले नियमित विद्युत महसुल तिर्दै आएकोमा एक्कासि जडान मिति २०६९ साल भदौ २३ गतेदेखि नै छुट भएछ भनी १३ करोड ८० लाख १७ हजार रुपैयाँ माग गरेको एनसेलले जनाएको छ ।

‘हामीले त महसुल नियमित तिर्दै आएका थियौं,’ एनसेलका एक अधिकारीले भने, ‘छुटेछ भनेर बिल आयो, अन्याय भयो भनेर अदालत गएका थियौं, अदालतले पनि अत्यावश्यक सेवाको बिजुली काटिँदैन भन्ने नै आदेश गरेको थियो, तर अदालतको अपहेलना हुने गरी नै बिजुली काटियो ।’

प्राधिकरणले पुरानो प्रविधिमा आधारित मिटर उत्तम प्रविधियुक्त मिटरले विस्थापित गर्दै जाने कार्यक्रम अनुसार एनसेलमा पनि नयाँ मिटर जडान गरेको उल्लेख गरेको छ ।

पुरानो प्रविधिको एबिबी मिटर हटाई राइसेसन मिटर राख्दा एनसेलको विद्युत खपतको अंकमा भिन्नता देखिएपछि पुल्चोक क्याम्पसमा कार्यरत स्वतन्त्र इन्जिनियरहरूसहितको प्राविधिक टोलीले अध्ययन गरेको पनि विद्युत प्राधिकरणको भनाइ छ ।

अत्याधुनिक मिटरबाट डाटा डाउनलोड गरी विस्तृत विश्लेषण गर्दा विद्युत महसुल छुट हुन गएको प्रमाणित भएको प्राधिकरणको दाबी छ ।
‘चित्त नबुझे नेपाल विद्युत वितरण प्राधिकरण, विद्युत वितरण विनियमावली, २०६९ को विनियम ४५ अनुसारको पुनरावेदकीय मार्ग अबलम्बन गर्नुपर्ने थियो, तर एनसेल सिधैं अदालत गयो,’ प्राधिकरणको लेखनाथस्थित कार्यालयका इन्जिनियर पवन पौडेलले भने, ‘अदालतबाट पनि अन्तरकालीन आदेश आएन, हामीले बिजुली काट्यौं ।’

उनका अनुसार अदालतबाट पनि अन्तरकालीन आदेश नआएपछि एनसेलको बिजुली सेवा काटिएको हो ।

एनसेलले लेखनाथमा राखेको डाटा सेन्टरबाट देशभरिकै सेवा सञ्चालन गरिरहेको छ ।

उसको यस्तो डाटा सेन्टर काठमाडौं र पोखरामा मात्रै छ । प्राधिकरणको बिजुली काटिएपछि अहिले डिजेलबाट जेनेरेटर चलाई सेवा चालु राखिएको एनसेलका अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया