घर निर्माण खर्च बढ्यो

समाधान संवाददाता २०७७ पुष २४ गते ११:५१

समाधान संवाददाता, पोखरा

घर बनाउँदै हुनुहुन्छ ? जति पैसामा घर बनाएर सकूँला भनेर सोच्नुभएको छ, त्यतिले नपुग्न सक्ला है । घर बनाउन चाहिने निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ ।

निर्माणका आधारभूत सामग्री रड र सिमेन्टको भाउ महँगो भएको छ । दसैंभन्दा केहीअघिसम्म ६२ रुपैयाँ किलोमा पाइने छडको भाउ अहिले ९५ रुपैयाँ पुगेको छ । सिमेन्टको भाउ बोरामा ३० रुपैयाँसम्म बढेको छ ।

Advertisement

अरु बेला एउटा दुई तले घर बनाउँदा जति पैसा लाग्थ्यो अहिले त्यसैका लाडि रडमा मात्रै १० लाख रुपैयाँ बढी खर्च गर्नुपर्ने अवस्था आएको नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘सबै सामग्रीको भाउ बढेको छ, औसतमा २० प्रतिशत मूल्यवृद्धि भएको अडकल गरेका छौं ।’ उनकै भनाइमा १ करोड रुपैयाँमा बन्नसक्ने घरको लागत अब १ करोड २० लाख रुपैयाँ पुग्ने भएको छ ।

Advertisement

व्यवसायी श्रेष्ठका अनुसार २ तले घर बनाउँदा औसत ३० हजार टन रड लाग्छ । त्यसका लागि अहिले यसअघिको भन्दा १० लाख रुपैयाँ बढी रडका लागि खर्च गर्नुपर्ने भएको छ ।

अर्काे महत्वपूर्ण निर्माण सामग्री बालुवा र गिटी हो । जसको मूल्य पनि प्रति घनमिटर ३ सय रुपैयाँ जतिले वृद्धि भएको श्रेष्ठले सुनाए । ‘गिटी र बालुवाको त बजारमा अभाव पनि छ,’ उनले भने, ‘अवैध हुनाले कतिपय क्रसर बन्द हुँदा गिटी, बालुवाको अभाव भएको हो ।’

सडक निर्माणमा प्रयोग हुने अलकत्राको मूल्य पनि बढेको छ । अलकत्रा अर्थात बिटुमिन किलोको ६२ रुपैयाँबाट ९२ पुगेको जानकारी श्रेष्ठले दिए । ‘निर्माण सामग्रीको मूल्यवृद्धिले सामान्य उपभोक्तालाई मात्रै होइन, हामी निर्माण व्यवसायीलाई पनि मर्का परेको छ,’ उनले भने ।

हार्डवेयर व्यवसायी नारायण आचार्य छड र सिमेन्टको भाउ किन बढ््यो भन्ने प्रश्नको सहज उत्तर नपाइएको बताउँछन् । आयातित कच्चा पदार्थको भाउ बढ्यो भन्दै मूल्य बढाएर आफूहरुलाई पठाउने गरेको उनले सुनाए । ‘बढ्नुपर्ने कारण देखिन्न,’ उनी भन्छन्, ‘खै किन बढाएर पठाएका छन् ।’

निर्माण व्यवसायी संघ कास्कीले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराउँदै बिहीबार ज्ञापनपत्र बुझाएको छ ।

संघले असारमा गरिएको जिल्ला दररेट अनुसार अहिले व्यवसायीहरु मर्कामा परेको उल्लेख गरेको छ । ‘असारमा दररेट कायम भएअनुसार अहिले कुनै सामान पाइन्न, ठेक्का पहिल्यै लिइसकिएको हुन्छ, पहिला लिएअनुसार निर्माण गर्न कठिन छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘जिल्ला दररेट पुनरावलोकन होस् भन्ने हाम्रो माग छ ।’

निर्धारित समयमा ठेक्का पूरा गर्न मूल्यवृद्धिकै कारण असमर्थ हुने अवस्था आएको निर्माण व्यवसायीको गुनासो छ । व्यवसायीको माग छ, ‘कि मूल्य समायोजन हुनुपर्छ या नयाँ जिल्ला दररेट कायम हुनुपर्छ ।’

बजारमा छड र सिमेन्टको मूल्य अस्वाभाविक रुपमा बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि सरकारले पनि चासो देखाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामान आयात गर्दाको सबै बिल र विवरण बुझाउन २ दिन पहिला व्यवसायीलाई निर्देशन दिएको छ ।

सम्बन्धित व्यवसायीलाई विभागमा बोलाएर मूल्यवृद्धिबारे छलफल गरेको र सबै बिल तथा विवरण बुझाउन निर्देशन दिएको हो ।

अनुसन्धानका क्रममा अप्राकृतिक ढंगले मूल्य बढाएको पाइए कारबाही गरिने पनि विभागले जनाएको छ । व्यवसायीले भने विदेशमा नै कच्चा पदार्थको मूल्यवृद्धि भएको तथा केही देशमा मजदुरको आन्दोलनका कारण नियमित आयात गर्न नसक्दा नेपाली बजारमा मूल्य बढेको बताएका छन् ।

तपाईको प्रतिक्रिया