जनसंगठित प्रज्ञा प्रतिष्ठान

समाधान संवाददाता २०७७ पुष २६ गते १३:२३

कला, संगीत र साहित्यका ओजपूर्ण कार्यक्रम गरी पोखरेली युवा सांस्कृतिक परिवारले जनसंगठित प्रज्ञा प्रतिष्ठानको भूमिका खेलिरहेको छ

मोती भुजेल

प्राकृतिक रमणीयताले भरिपूर्ण पोखरा उपत्यकाको उत्पत्तिका सम्बन्धमा विभिन्न किंवदन्तीहरू रहेको पाइन्छ तापनि पोखरा उपत्यकामा पहिले बृहत् ताल रहेको तटबन्ध, कटान तथा भूस्खलनको परिणामस्वरूप प्राचीन पोखरा तालको पानी प्रवाहित भई बाहिर निकास भएपछि पोखरा उपत्यका क्रमश अस्तित्वमा आएको हो भन्ने कुरामा विद्वान्हरूको सहमति पाइन्छ ।

Advertisement

पोखराबाट उत्तरतिर देखिने अन्नपूर्ण हिमशृंखला र माछापुच्छ«ेको मनमोहक दृश्य, दक्षिण–पश्चिम कुनामा रहेको विशाल फेवाताल, बजारकै बीचबाट गहिरिएर बगेको सेती नदी यस क्षेत्रका प्राकृतिक दृश्यका सुन्दर नमुना हुन् ।

यो प्राकृतिक, आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक र साहित्यिक विकासका दृष्टिले समेत चर्चित ठाउँ हो । प्रकृति प्रदत्त सम्पदाहरू भौगोलिक संरचना, जैविक विविधताका साथै यहाँको इतिहास संस्कृति, शिक्षा, कला र साहित्य लगायत जुनसुकै क्षेत्र पनि समृद्धशाली छन् ।

Advertisement

प्राकृतिक दृश्यले भरिपूर्ण पोखरा पर्यटकीय स्थल, व्यापारिक केन्द्र, शैक्षिक एवं साहित्यिक राजधानीका रूपमा विकसित हुँदै गएको छ ।
पोखरामा रहेका मनोरम प्राकृतिक दृश्यहरू दुःख, पीडामा परेकाहरूको मन बहलाउने माध्यम, सुखमा रमेकाहरूलाई थप आनन्दित तुल्याउने र सिर्जनकर्मीहरूलाई सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्दै अन्तर्निहित भावलाई उजागर गर्ने माध्यम बनेका छन् ।

गण्डकी प्रदेश कास्की जिल्लामा पर्ने माछापुच्छ«ेको काखमा रहेको सुन्दर नगरी पोखरा उपत्यका साहित्यिक, सांस्कृतिक, शैक्षिक, व्यापारिक, प्रशासनिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण र प्राकृतिक दृष्टिकोणले प्रख्यात ठाउँ हो ।

यो क्षेत्र शैक्षिक एवं विभिन्न वाङ्मयिक दृष्टिले पनि उर्वर भूमिका रूपमा प्रसिद्ध छ । कविशिरोमणि लेखनाथ पौड्याल र जनकविकेशरी, धर्मराज थापा जन्मेको, गद्य कविताका नायक भूपी शेरचन हुर्केको र लोककविता र लोकगीतका प्रतिनिधि ‘अलिमियाँ’ ले आजीवन साधना गरेको पोखरा साहित्यिक राजधानीको रूपमा विकसित हुँदै गएको छ ।

नेपाली साहित्यको विकासको इतिहासमा साहित्यका विविध विधाअन्तर्गत कलम चलाई पोखरेली स्रष्टाहरूले योगदान पु¥याउँदै आएका छन् ।

२० को दशक वरपर यहाँ केही शृंखलारहित साहित्यिक गतिविधिहरू देखापरेका भए पनि पोखराले संस्थागत रूपमा साहित्यिक ऊर्जा प्राप्त गरिसकेको थिएन ।

तीसको दशकमा पनि पोखरामा साहित्यिक गतिविधिहरू सशक्त रूपमा अगाडि बढेनन् । यस्तो अवस्थामा यस क्षेत्रमा रहेका नवोदित स्रष्टाहरूले आफ्नो भावना पोख्ने संस्थाको अभाव भएको महसुस गरी संस्था खोलौं भन्ने सोंच अगाडि बढाएको पाइन्छ ।

पोखराको तेर्सापट्टिमा अवस्थित गुञ्जबहादुर थापा (गायक अरुण थापाको बाबु) को घरमा भेला भएका १०÷१५ जना नवोदित स्रष्टाहरूले एउटा संस्था खोल्ने परिकल्पना गरे ।

सोहीअनुसार लामो समयको भेटघाट र छलफलपश्चात् संस्था खोल्ने निर्णय गरे ।

युवाहरू आबद्ध रहेका कारण सो संस्थाको नाम पोखरेली युवा सांस्कृतिक परिवार राखियो । २०३४ साल माघ महिनामा सरस्वती पूजाको अवसर पारेर महेन्द्रपुलमा भेला भएका स्रष्टाहरू मानवलाई सरस्वतीका प्रतीकका रूपमा मानी सरस्वतीको वन्दना गर्दै विन्दवासिनीको प्रांगणमा आएर सभामा परिणत भए ।

उक्त कार्यक्रम भोलानाथ पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो । समारोहमार्फत् सर्वसम्मतबाट सरोजगोपाल बज्राचार्यको अध्यक्षतामा पोखरेली युवा सांस्कृतिक परिवारको कार्यकारिणी समिति गठन गरियो ।

कार्यसमितिको उपाध्यक्षमा नवराज कार्की, सचिवमा भक्त श्रेष्ठ (सरुभक्त), सहसचिवमा विक्रम गुरुङ र सदस्यहरूमा सर्वज्ञ श्रेष्ठ, अरुण थापा, मोहनसिंह थापा, चन्द्रा थापा थिए ।

परिवारका साधारण सदस्यहरूमा बाबा राणा, विश्व पालिखे, विनोद गौचन, विनोद पालिखे, बद्री गुरुङ, कृष्णराज राजभण्डारी, जयराम हमाल, विकल शेरचन, वीरबहादुर गुरुङ, विनय तुलाचन, तेजलाल राजभण्डारी, किरणलाल श्रेष्ठ थिए ।

त्यसपछि साहित्यिक राजधानीका रूपमा स्थापित हुँदै गएको पोखरामा रहेका थुप्रै संघसंस्थाहरूले आ–आफ्नो ठाउँमा रहेर नेपाली साहित्यको विकासका निम्ति योगदान पु¥याउँदै आएका छन् ।

तिनै संस्थाहरूमध्ये पोखरेली युवा सांस्कृतिक (पोयुसा) परिवार पनि एक हो । यो संस्थाले साहित्य, कला र संगीत क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारले संस्थागत रूपमा नेपाली साहित्य, कला र संगीत क्षेत्रको विकासमा रचनात्मक कार्यहरू गरीरहेको छ । पोखरामा रहेका थुप्रै संघसंस्थाहरूका बीच नेपाली साहित्य,कला र संगीतको विकासमा पोखरेली युवा सांस्कृतिक परिवारले गरेका कार्यका आधारमा यसको स्थान उचो छ ।

नेपाली साहित्य र कास्की पोखरा ः एक चर्चा’ शीर्षकमा मुकुन्दशरण उपाध्यायले पोखरेली युवा सांस्कृतिक परिवार र यसले गरेका कार्यको सङ्केत गरेका छन् ।

अशेष मल्लले ‘मुक्तक सुन्न पोखरा जाऔँ’ शीर्षकमा पोखरेली युवा सांस्कृतिक परिवारको साहित्यिक गतिविधिका बारेमा चर्चा गरेका छन् ।

पोखरामा सम्पन्न दुई कार्यक्रम’ शीर्षकको लेखमा जयदेव भट्टराईले पोखरेली युवा सांस्कृतिक परिवारले २०४९ साल कात्तिक २२ गते गरेको काव्य गोष्ठी र बृहत् कवि सम्मेलनको क्रियाकलापको उल्लेख गरेका छन् ।

मुक्तक कवितामा पोखराको योगदान शीर्षकमा रविलाल अधिकारीले मुतmक लेखनमा पोखरेली युवा सांस्कृतिक परिवारलाई प्रेरक संस्थाका रूपमा चिनाएका छन् ।

नेपाली साहित्यको विकासमा पोखराको संस्थागत योगदान’ शीर्षकमा त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर शोधपत्र (अप्रकाशित) मा शोधकर्ता शोभाकान्त गौतम र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह नेपाली विषय दोस्रो वर्षका परीक्षार्थी मायाकुमारी थापाले पोखरेली युवा सांस्कृतिक परिवारको परिचय, उद्देश्य र साहित्यिक गतिविधिका बारेमा उल्लेख गरेका छन् ।

साहित्यिक विकासका निम्ति विभिन्न संघसंस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको हुन्छ । यस्तै संस्थाहरूमध्ये पोखरेली युवा सांस्कृतिक परिवार पनि एउटा हो । यसले पोखरामा रहेर थुप्रै साहित्य,कला र संगीतका गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारले आफ्नो जन्म वर्षमै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न ग¥यो । स्थापना कालमा यस संस्थामा साहित्यकारहरूको तुलनामा गायक तथा संगीतकारहरूको संख्या अधिक थियो ।

यस परिवारका प्रारम्भिक कार्यक्रमहरू विविध सांस्कृतिक कार्यक्रमका रूपमा सीमित थिए । यस समयमा साहित्यिक कार्यक्रमभन्दा सांगीतिक कार्यक्रममा परिवार केन्द्रित थियो ।

स्थापनाकालीन सदस्यहरूमा भक्त श्रेष्ठ (सरुभक्त), नवराज कार्की र विनोद गौचन गरी जम्मा तीनजना व्यक्तिहरू साहित्यिक क्षेत्रमा आबद्ध र अन्य सबै गीत र संगीतको क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरूको संलग्नता थियो ।

पोखरेली युवा सांस्कृतिक परिवारले आफ्नो स्थापनाकालीन समयमा गरेको कार्यक्रमबाट जुन रूपमा सफलता पायो, त्यही रूपमा अगाडि बढ्न भने सकेन ।

संस्थामा आबद्ध रहेका सदस्यहरूको आ–आफ्नै कार्यव्यस्तताले गर्दा संस्थाले गतिशीलता पाउन सकेन ।

यसरी आपूm आबद्ध रहेको संस्था त्यसै शिथिल भएकोदेखि परिवारका सचिव भक्त श्रेष्ठ (सरुभक्त) ले पोखराको अर्को साहित्यिक संस्था साहित्यप्रेमी परिवार (२०३२) मा सम्लग्न रहेका तीर्थ श्रेष्ठ, दुर्गा बराल, उषा शेरचन, प्रकट पगेनी ‘शिव’, बद्रीविनोद ‘प्रतीक’, विश्व शाक्य र विजय बजिमयजस्ता व्यक्तिहरूलाई संस्थामा आबद्ध हुन व्यक्तिगत रूपमा अनुरोध गरे । साहित्यप्रेमी परिवारका व्यक्तिहरू पोखरेली युवा सांस्कृतिक परिवारमा सम्लग्न भएपछि समान उद्देश्य लिएका दुई संस्थाहरू एक साथ क्रियाशील हुनु औचित्यपूर्ण नभएकाले साहित्यप्रेमी परिवारलाई पोखरेली युवा सांस्कृतिक परिवारमा विलय गराइयो ।

त्यसपछि साहित्यप्रेमी परिवारका नामबाट कुनै पनि गतिविधिहरू भएनन् । यसरी पोखरेली युवा सांस्कृतिक परिवारका पुराना सदस्यहरू विस्थापित भएर नयाँ सदस्यहरूले सदस्यता ग्रहण गरेपछि परिवारले आफ्नो सक्रियता देखाउन थाल्यो ।

यसपछि यो परिवार व्यवहारिक अर्थमा साहित्य, कला र संगीतको त्रिवेणीका रूपमा अगाडि बढ्न थाल्यो । यो परिवार विधिवत् रूपमा २०४२ सालमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भयो ।

पोखरेली युवा सांस्कृतिक परिवार स्थापना कालदेखि नै साहित्य, कला र संगीतको उत्थानमा लागेको स्थानीय रूपमा जनसंगठित पहिलो संस्था हो । यस संस्थाले आफ्नो गहन भूमिकालाई मनन गरी साहित्य, कला र संगीतको विकासमा विभिन्न क्रियाकलापका माध्यमबाट टेवा पु¥याउँदै आएको छ ।

साहित्यिक क्षेत्रसँग आबद्ध संस्थाहरूको संस्थागत इतिहासलाई सिंहावलोकन गर्दा अधिराज्यभरिका वांमयिक संस्थाहरूमध्ये यो संस्था पनि क्रियाशील संस्थाका रूपमा परिचित एवम् प्रतिष्ठित संस्था हो ।

नेपाली साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण, सम्बद्र्धन र सिर्जनाको क्षेत्रमा स्थानीय स्तरबाट संगठित रूपले योगदान गर्नु, नयाँ प्रतिभाहरूलाई यो क्षेत्रमा समर्पित हुन प्रोत्साहन गर्नु, सभा, गोष्ठी र कार्यशालाहरूको समायोजन, सञ्चालन, पत्रपत्रिका प्रकाशन, चित्रकला, नाटक र अन्य सिर्जनात्मक कुराहरूको प्रदर्शन एवं मञ्चन गरी सर्वसाधारण जनतामा साहित्य, कला, संगीत र संस्कृतिको महत्व बोध गराउनु, मानवीय सभ्यता एवम् मानव अधिकारको विकासका निम्ति सिर्जनात्मक क्रियाकलाप गर्ने, साहित्य, कला, संगीत र संस्कृतिसँग सम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसित निकट सम्पर्क कायम गर्नु ।

यस संस्थाको उद्देश्यहरू हुन् । यसरी परिवारले आफ्नो स्थापनाकालदेखि साहित्य, कला, संगीत र संस्कृतिका क्षेत्रमा विविध उद्देश्यहरू राखेर स्थानीय रूपमा जनसंगठित वास्तविक ‘प्रज्ञा प्रतिष्ठान’ अथवा ‘एकेडेमीको’ भूमिका निर्वाह गर्दै आएको छ ।

यस परिवारले आफ्नो गहन भूमिकालाई हृदयङ्गम गरी सम्पूर्ण गण्डकी क्षेत्रको वांमयिक विकासका क्रियाकलापहरूमा निर्विवाद रूपले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारका विभिन्न विभाग अन्र्तगतका गतिविधिहरू

‘साहित्य, कला र संगीतको उत्थान् हाम्रो प्रण’ भन्ने मूल उद्घोषका साथ पोखरेली युवा सांस्कृतिक परिवारले विभिन्न सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

साहित्य, कला र संगीतको समानुपातिक विकास गर्नु नै स्थानीय राष्ट्रिय संस्कृतिको विकास गर्नु हो भन्ने प्राज्ञिक अवधारणा र विकासअनुरूप यस परिवारद्वारा तीन विभागहरू स्थापना गरिएका छन् ।

सोहीअनुरूप परिवारका आ–आफ्ना विभागअन्तर्गतका गतिविधिहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन् ।

साहित्य विभाग

साहित्य विभागतर्फ पोखरेली युवा सांस्कृतिक परिवारले नेपाली साहित्यको विकासमा सहयोग पुग्ने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस परिवारले सञ्चालन गर्दै आएका प्रमुख कार्यक्रमहरूलाई विविध सांस्कृतिक कार्यक्रम, सामूहिक साहित्यिक जयन्ती, टिकटमा मुक्तक, खुला आकाश खुला अभिव्यक्ति, कवितायात्रा, पुरस्कार स्थापना,शिरोमणि पुरस्कार, नेत्रस्मृति पुरस्कार ललितकला पुरस्कार, राष्ट्रिय कवि सम्मेलन, नाटक महोत्सव, मासिक काव्य सन्ध्या, पुस्तक प्रकाशन, राष्ट्रिय कवि सम्मेलन, स्रष्टा सम्मान कार्यक्रम, समता काव्य सन्ध्या, विभिन्न जयन्तीका अवसरमा सञ्चालित साहित्यिक गतिविधिहरू क्षेत्रीय नाटक उत्सव, ग्रामीण कवितायात्रा, पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगिताबाहेक विभिन्न प्रकारका साहित्यिक कार्यक्रम सम्पन्न ग¥यो र गर्दैछ ।

परिवारद्वारा सम्पन्न गरिएका कार्यक्रमले स्थापित तथा नवोदित स्रष्टाहरूलाई साहित्यसिर्जनमा लाग्न प्रेरणा मिल्यो । यस्ता कार्यकंमका माध्यमबाट नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ ।

कला विभाग

पोखरेली युवा सांस्कृतिक परिवारका लब्ध प्रतिष्ठित एवं नवोदित कलाकारहरूका गुणात्मक क्रियाशीलताको परिणामस्वरूप पोखरालाई स्कुल अफ वाटर कलर भन्ने गौरव प्राप्त भएको छ कलाकारहरूको प्रतिभा र लगनशीलताले गर्दा पोयुसांपको कला विभागअन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन भएका छन् – तत्स्थानीय दृश्य चित्र रचना कार्यक्रम, सामूहिक चित्रकला प्रदर्शनीको र एकल चित्रकला प्रदर्शनीको आयोजना साथै परिवारद्वारा कला विभागअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ ।

परिवारले विभिन्न समयमा सम्पन्न गर्दै आएका यस्ता कार्यक्रमले कला क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ । यस्ता कार्यक्रमका माध्यमबाट थुप्रै कलाकारहरूको जन्म भएको छ ।

संगीत विभाग

पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना समयदेखि नै पोखराका प्रसिद्ध गायक तथा संगीतकारहरू संलग्न छन् ।

परिवारले सम्पन्न गरेका सांगीतिक कार्यक्रमका माध्यमबारे धेरै नवसंगीतकारहरू राष्ट्रिय प्रतिभाका रूपमा चिनिएका छन् ।

संगीत विभागअन्तर्गत परिवारले निम्न लिखित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

विविध सांस्कृति कार्यक्रम, नारायणगोपाल स्मृति गीतिसन्ध्या, सांगीतिक भेटघाट कार्यक्रम, सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वको सम्मान कार्यक्रम, सांगीतिक विमोचन कार्यक्रम, गायक स्वर्गीय अरुण थापाको स्मृति कार्यक्रम, समता सांगीतिक कार्यक्रम, नेपथ्य संगीत यात्रा, फत्तेमान साँझ, सांस्कृतिक संस्थानसँग मिलेर पश्चिमाञ्चल क्षेत्रीय लोकनृत्य प्रतियोगिता (२०६१) जस्ता ओजपूर्ण कार्यक्रमहरु सञ्चालन गरी पोखरेली युवा सांस्कृतिक परिवारले संगीत क्षेत्रको विकासमा सहयोग पु¥याएको छ ।

परिवारद्वारा समयसमयमा गरिएका संगीतसम्बन्धी कार्यक्रमबाट थुप्रै नवोदित स्रष्टाहरूले आपूmलाई परिष्कृत र परिमार्जित गर्दै अगाडि बढ्ने अवसर पाएका छन् ।

यसकारण यो पंक्तिकारले पोखरेली युवा सांस्कृतिक परिवारलाई पोखराको ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ मानी आएको छ ।

भुजेल पोखरेली युवा सांस्कृतिक परिवारका नवनिर्वाचित अध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया